कालीगण्डकी दोहनले शालग्राम संरक्षणमा चुनौती

कालीगण्डकी दोहनले शालग्राम संरक्षणमा चुनौती


कालीगण्डकी निरन्तर दोहन भएपछि दुई वर्ष अगाडि सर्वोच्च अदालतले नदीजन्य वस्तु निकासीमा रोक लगाएको थियो । सर्वोच्चको आदेशपछि नदी किनारमा बालुवा उठाउँदै आएका तीन सय मजदुर बेरोजगार भए । अहिले पनि प्रहरी प्रशासनको आँखा छलेर कालीगण्डकी निरन्तर दोहन भइरहेको छ । कालीगण्डकीको दोहन नरोकिएपछि मजदुरले आफूहरुले पनि बालुवा निकाल्न पाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।

विसं २०७८ असार २९ गतेको सर्वोच्चको आदेशपछि कालीकिनारमा बालुवा चाल्न र गिटी कुट्न छाडेका मजदुरले कामविहीन बन्नुपरेको गुनासो पोख्दै आएका छन् । आदेशलाई बेवास्ता गरी अहिले पनि नदीजन्य वस्तु धमाधम चोरी भइरहेको उनीहरु बताउँछन् । चार वर्षअघिसम्म बागलुङ नगरपालिकाले नदीजन्य वस्तुको ठेक्का लगाएर वार्षिक रू. चार करोड बढी राजस्व सङ्कलन गर्ने गरेकामा सर्वोच्चको आदेशपछि उक्त काम रोकिएको थियो ।

अहिले पनि रातको समयमा डोजर लगाए अवैध दोहन भइरहेको भन्दै यसले कालीगण्डकीले धार परिवर्तन गरेर बस्तीतर्फ जान थालेको स्थानीय वीरबहादुर कुमालले बताउँछन् । उनका अनुसार दोहनका कारण कालीगण्डकी भासिँदै गएको छ भने शालग्राम संरक्षणमा चुनौती बढेको छ ।

अदालतको आदेशपछि झन् अवैधरुपमा बालुवा चोरी गर्नेक्रम बढेको भन्दै यसले मजदुरहरु समस्यामा पर्दै गएका कुमालको भनाइ छ । आफूले झण्डै १३ वर्षदेखि कालीगण्डकीमा बालुवा चालेर पाँच जनाको परिवार पाल्दै आएकामा दुई वर्षयतादेखि काम पाउनै गाह्रो भएको गुनासो उनले पोखे । मजदुरले दिनभर लगाएर दुई ट्र्याक्टर बालुवा उठाउने गरे पनि रातारात मेसिन प्रयोग गर्नेले केहीबेरमै दशौँ ट्रक लैजाने गरेका जानकारी उनले दिएका छन् ।

मजदुर टीकाबहादुर तामाङले आफू सात वर्ष पहिले कास्कीबाट परिवारसहित बागलुङमा आएर कालीमा बालुवा उठाउने काम गरेको सुनाउँदै अहिले सडकमा काम गरिरहेको बताउँछन् । सडकमा पनि नियमित काम नपाइने भन्दै सरकारले मजदुरका लागि बालुवा उठाउन पाइने व्यवस्था गर्नुपर्ने उनको माग छ । सर्वोच्चको आदेश आउनुपूर्व म्याग्दीबाट मोदीवेनीसम्म झण्डै पाँच सय मजदुरले काम गर्ने गरेका जानकारी दिँदै उनले भनेका छन्, ‘पहिले परिवारको खर्च चलाउन गाह्रो थिएन, महिनामा रू १५र२० हजार कमाउथेँ । के काम गर्ने, कहाँ गर्ने भन्ने चिन्ता थिएन । अहिले काम पाउनै गाह्रो छ । घर, भवन र सडक बनाउने ठेकेदारसँग काम माग्नुपरेको छ, कहिले काम पाइन्छ, कहिले पाइँदैन । काम पाउँदा त समस्या हुँदैन, काम नपाउँदा दैनिक छाक टार्न नै सास्ती हुने गरेको छ ।’

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले कालीगण्डकी दोहन गरी बालुवा उठाउने ट्याक्टर नियन्त्रणमा लिएर सम्बन्धित पालिका तथा वडामा पठाउने गरिएको बताए । समयसमयमा काली किनारमा प्रहरीको गोष्ठीसमेत हुने गरेको उनको भनाइ छ ।

अवैधरुपमा दोहन गर्नेलाई प्रहरीले उन्मुक्ति नदिने केसीले बताए । शालग्राम संरक्षणका लागि पनि यसरी हुने अवैध बालुवा, गिटी ओसारपसार रोक्नुपर्ने भन्दै प्रहरी प्रशासन यस विषयमा सचेत रहेको उनको भनाइ छ । कसैले अवैधरुपमा काली दोहन भएको देखे वा थाहा पाए प्रहरी तथा सम्बन्धित निकायमा खबर गर्न पनि उनले आग्रह गरेका छन् ।

file photo: rss