इतिहास एकातिर प्रपोगाण्डा अर्कोतिर !

इतिहास एकातिर प्रपोगाण्डा अर्कोतिर !


प्रमाणित इतिहासलाई लुकाउँदै कपोकल्पित कहानी बुनेर- ‘हिन्दु ब्राह्मणहरूले ध्वस्त पारेको थियो, हिन्दु ब्राह्मणहरूले जलाएको थियो’ भन्दै सामाजिक सन्जालको दुरुपयोग गरेर भारत र नेपालमा जातीय धार्मिक घृणाको बिउ कसरी रोपिँदैछ भनेर बुझ्नलाई यो पनि एउटा प्रमाणित उदाहरण नै होइन र ?

✍ मोहन लामा रुम्बा

‘कुनै समुदायलाई नष्ट गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको तिनीहरूको इतिहासको आफ्नै बुझाइलाई इन्कार गर्नु र मेटाउनु हो ।’ जर्ज ओरवेल

ठिकै हो, त्यही देश वा त्यहीँका जनतालाई त्यहीँको इतिहासबारे अपव्याख्या गरेर नयाँ भाष्य बनाइ पस्किदेउ.. बाँकी काम त्यहीँका जनताले आफैं आफ्नो हातले आफ्नै पुर्खाको धरोहर ध्वस्त पार्न सुरु गरिहाल्छ ।

अफगानिस्तानको विश्वचर्चित बुद्धको मुर्ति ध्वस्त पार्ने अफगानी नागरिकहरू नै हुन्, सिरियाको २००० वर्ष पुरानो पुरातात्त्विक संग्रहालय ध्वस्त पार्ने पनि सिरियाली नागरिकहरू नै हुन्, आधुनिक इतिहासमा हेर्ने हो भने लेनिन र स्टालिनको सालिक ढाल्ने रसियनहरू नै हुन् भने इराकमा सद्दाम हुसेन र लिबियामा कर्णेल कद्दाफी मार्ने इराकी नागरिकहरू नै हुन् भने नेपालमा राष्ट्रिय एकीकरणका नायक पृथ्वीनारायण शाहको सालिक तोड्नेदेखि बुद्धको मुर्ति र मठ-मन्दिर तोडफोडमा संलग्न हुने सबै नेपालीहरू नै हुन्छन् ।

बस् ! तिनलाई तिनको मस्तिष्कमा तिनीहरूको इतिहासलाई बुझ्ने भाष्य बदलिदेउ, बाँकी तोडफोडमा उत्रिएर एकापसमा लडाइँमा स्वतस्फूर्त उत्रिन थालिहाल्छन् ।

नेपाल र भारतमा जातीय धार्मिक साम्प्रदायिक दंगा फैलाउन परिचालित वैदेशिक मिसनरीहरूले इतिहासका कालखण्डहरूलाई कसरी गलत भाष्य निर्माण गर्दै साम्प्रदायिक जग बसाउन खोज्दैछ भन्ने बुझ्न भारतमा नव बौद्धको नाउँमा अम्बेडकरवादी मिसन र नेपालमा आइएनजीओका खेतालाहरूको संगठित मिसन हेर्दा बुझ्न धेरै गाह्रो पर्दैन ।

अहिले सामाजिक संजालतिर हेरौँ, ऐतिहासिक नालन्दा विश्वविद्यालयलाई पनि हिन्दु ब्राह्मणहरूले तोडफोड गरेर जलाएको थियो भन्दै इतिहासलाई अपव्याख्या गर्दै पस्किरहेको पाइन्छ । इतिहासलाई बंग्याएर नेपाल र भारतमा हिन्दुविरुद्धमा यतिबिघ्न घृणा फैलाउनुपर्ने कारण के होला ? त्यसको समीक्षा हुँदै गर्ला, अहिलेलाई नालन्दा विश्वविद्यालय जलाउन पनि हिन्दु ब्राह्मणहरूले जलाएको भन्दै भइरहेको दुष्प्रचारको थोरै खण्डन गर्ने प्रयास गर्छु ।

प्रसङ्गमा जाऔँ । भारतवर्षमा विश्वको सबैभन्दा पुरानो तक्षशिला विश्वविद्यालय (पालिः तक्कसिला)पछि दोस्रो ठूलो नालन्दा विश्वविद्यालय आउँछ । यी विश्वविद्यालयहरू त्यतिबेला न हिन्दुको थियो न बौद्धकोे, न त त्यतिबेला आजको जस्तो हिन्दु र बौद्ध भनेर दुई धर्मको रूपमा सम्प्रदायगत रूपमा सर्लक्क छुटेको नै हुन्थ्यो । धर्म त सबैको परम्परागत रूपमा मान्दै आइरहेको सनातन थियो, तत्कालीन आचार्यहरू सम्प्रदायगत हिसाबले भिन्न–भिन्न मार्गी बनेर हिँड्ने पंथहरू भने थियो, पछि तिनै मार्गीहरूले आजको धर्मको स्वरुप लिएको मात्रै हो ।

जसरी अहिले एउटा हिन्दु धर्मको छातामुनि दर्जनौं सम्प्रदाय पंथ बसिरहेको हुन्छ, त्यतिबेला पनि एउटै सनातन धर्मको छाताभित्र दर्जनौं विचारधारा सम्प्रदाय आ-आफ्नो मत बोकेर धर्माचार्यहरू आ-आफ्नो मत सिद्ध गर्न हिँड्ने गरेको बेला थियो र राज्यले (राजाले) सबैलाई यथा सम्मान दिएर राख्ने गरेको हुन्थ्यो ।

उदाहरणको रूपमा ई.पु. ७०० वर्ष अगाडिको प्राचीन तक्षशिला विश्वविद्यालयलाई लिउँ, बौद्धले बौद्धको भन्ने गर्छ हिन्दु (वैदिक)ले हाम्रो भन्ने गर्छ, तर तक्षशिला विश्वविद्यालय भनेको जसरी अहिले त्रिभुवन विश्वविद्यालय सबै धर्म सम्प्रदायको हो ठिक त्यस्तै तत्कालीन समयमा भारतवर्षको आचार्यहरूद्वारा प्रतिपादित सिद्धान्त दर्शन पढाउने विश्वको पहिलो महाविद्यालय त्यही थियो ।

बौद्ध ग्रन्थ तेलपत्त, सुसीम जातक कथाहरूमा तक्षशिला बारेमा यसको उल्लेख गरेको पाइन्छ । बौद्ध ग्रन्थ एकपर्ण जातक कथाको एउटा अनुच्छेद हेरौँ-
‘प्राचीनकालमा वाराणसीको राजा ब्रह्मदत्तको समयमा बोधिसत्वले एक उदीच्य ब्राह्मण कुलमा जन्म लिएको थियो । ठुलो भएपछि उहाँले तक्षशिलामा तिनै वेद र समस्त शास्त्रहरूको शिक्षा प्राप्त गरेर केही दिनसम्म आफ्नै घरमा बसिरहेको थियो त्यतिबेला यिनी ऋषि-प्रव्रज्या ग्रहण गरेर हिमालयतर्फ गएर त्यहीँ ध्यान आदिमा आफ्नो समय व्यतीत गर्दै बस्थे’ भनेर उल्लेख गरेको पाइन्छ ।

यसबाट के बुझिन्छ ? दुईवटा कुरा बुझ्न सक्छौँ, बोधिसत्वले वेदान्तलगायत समस्त शास्त्रको अध्ययनपछि भन्नाले त्यतिबेला वेद वेदान्त सबै वैदिक बौद्ध दुवैले पाठ्यक्रममा अध्ययन गरिन्थ्यो भन्ने बुझिन्छ । यहीँबाट बौद्ध आचार्यहरू वैदिक आचार्यहरू उत्पादन हुने गरेको थियो, यहीँबाट ऋषि पाणिनी, चाणक्य यही तक्षशिला विश्वविद्यालयको उत्पादन हुन् भन्ने गरिन्छ ।

नालन्दा विश्वविद्यालय :

नालन्दा विश्वविद्यालय विश्वको सबैभन्दा पुरानो र विशाल प्राचीन विश्वविद्यालय हो । विशेष गरेर महायान बौद्ध धर्मसँग जोडिएको यस विद्यालयमा टाढा-टाढाको देश-विदेशबाट विद्यार्थीहरू अध्यन गर्न आउँथे भन्ने कुरा प्राचीन चिनियाँ यात्री ह्वेनसाङको आत्मवृतान्त (डायरी)बाट जानकारी पाउन सक्छौँ ।

यहाँ धर्मशास्त्र, व्याकरण, तर्कशास्त्र, खगोल विज्ञान, तत्वमीमांसा वेद, वेदांत, जिन सूत्र, धम्मपद, अष्टादस विद्या, दर्शन, व्याकरण, अर्थशास्त्र, ज्योतिष, आयुर्वेद, ललित कला, हस्त विद्या, पशुभाषा, अश्व विद्या, मंत्र विद्या, युद्ध विद्या, राजनीति, शल्यक्रिया, हस्त विद्या, गणित यावत् विषयमा शिक्षा प्रदान हुन्थ्यो ।

ह्वेनसाङको पुस्तकमा यो विशाल विद्यालयको संस्थापक ‘शक्रादित्य’ राजाले निर्माण गराएको भन्ने उल्लेख गरेको छ । शक्रादित्य भनेको प्रथम कुमार गुप्त हुन् (४१५-४५५) उनको सुप्रसिद्ध उपाधि ‘मेहन्द्रादित्य’ थियो । गुप्त राजाहरूले आफ्नो नामको पछाडि ‘दित्य’ उपाधि धारण गरिन्थ्यो, जस्तै सम्राट चन्द्रगुप्तले विक्रमादित्य, स्कन्ध गुप्तले क्रमादित्य आदि उपाधि रहेकोे छ ।

गुप्त वंशले इस्वी २४०/२७५ बाट ५५० सम्म उत्तर भारतको विशाल भूभागमा राज्य गरेको थियो । नालन्दा विश्वविद्यालय यही गुप्त वंशको कालमा स्थापना भएको थियो । यो विद्यालय स्थापना गर्ने कुमार गुप्त वैदिक हिन्दु थियो, त्यसको उदाहरण कुमार गुप्तको मुद्रामा अश्वमेध यज्ञको अनुष्ठान उल्लेख गरेको बाट बुझ्न सकिन्छ ।

उनको मुद्रामा ‘श्रीअश्वमेधमहेन्दः’ अंकित गरेको पाइन्छ । गढ़वाको अभिलेखमा कुमार गुप्तलाई ‘परमभागवत’ भनिएको छ- ‘परमभागवत-महाराजाधिराजे श्रीकुमारगुप्तराज्ये ।’ ‘परमभागवत’ उल्लेख हुनाले ऊनी वैष्ण्व मार्गी राजा थिए भनिन्छ ।

नालन्दा विश्वविद्यालय कसरी कहिले ध्वस्त भयो त ?

सयौं वर्षसम्म ओझेलमा खण्डहर भएर बसेको नालन्दा विद्यालयको खोजीको श्रेय सर अलेक्जेण्डर कनिंघमलाई जान्छ, ऊनी भारतीय पुरातत्व, ऐतिहासिक भूगोल तथा इतिहासको प्रसिद्ध विद्वान् थिए । उनले सातौं/आठौं शताब्दीमा आएको चिनियाँ यात्री ह्वेनसाङको यात्रा वृत्तान्तलाई आधार मान्दै खोजी गरेर नालन्दा विश्वविद्यालय पत्ता लगाएको थियो । नालन्दा विश्वविद्यालय पहिलोपटक उत्खनन् सन् १९१५-३७ र १९७४-८२ मा उत्खनन् गरेको थियो । उक्त स्थलमा उत्खनन् गर्दा ६ वटा स्थानमा मन्दिर र ११ स्थानमा बिहारको अवशेष प्राप्त भएको थियो ।

यत्रो विशाल नालन्दा विश्वविद्यालय कसरी ध्वस्त हुन पुग्यो भन्ने सन्दर्भमा भारतभित्र अहिलेसम्म कुनै ठोस ऐतिहासिक सबुत प्रमाण पाइएको छैन, सबै कहानी किवदन्ती हल्लालाई मात्रै इतिहास बनाएको देखिन्छ । कहानी किवदन्तीलाई छोडेर यहाँनेर भारत बाहिरका मध्यकालीन इतिहासकारहरूद्वारा लेखिएको केही अंश राखेर चर्चा गर्दैछु ।

भारतबाहिर तिब्बती र फारसी स्रोतमा नालन्दा विश्वविद्यालय ध्वस्त पारेको विषयमा केही प्रमाणहरू उल्लेख गरेको पाइन्छ । १६औँ शताब्दीमा भारत भ्रमण गरेर फर्केका तिब्बती मुलका लामा तारानाथ (कुन-द्गा-स्नयिङ-पो १५७५–१६३४) ले आफ्नो तिब्बती ग्रन्थ ‘भारतमा बौद्ध धर्मको इतिहास’ अंग्रेजी उल्था गरेको ग्रन्थ ‘हिस्ट्री अफ बुद्धिज्म इन इण्डिया’मा नालन्दा विश्वविद्यालय जलाएको बारेमा यसरी विवरण दिएको पाइन्छ- नालेन्द्र (नालंदा) मा काकुत्सिद्ध द्वारा बनाएको मन्दिरको प्राणप्रतिष्ठाको समयमा केही उच्छृङ्खल युवा श्रमणहरूले दुई जना तीर्थिक भिक्षुमाथि फोहोर पानी फ्याँक्यो र ढोकाको भित्तामा च्यापेर खुंखार कुकुर टोक्नलाई छोड्यो । यसबाट क्रुद्ध भएर एकजना खानापानी जुटाउन हिँड्यो भने अर्को बदलाको भावना बोकेर गहिरो खाल्डोमा बसेर सूर्य साधनामा लीन भएर बस्न थाल्यो । पहिलो नौ वर्षसम्म फोहोरी अर्को तीन वर्षसम्म लगातार १२ वर्ष सूर्य साधनामा बसेर ‘मंत्रसिद्धि प्राप्त’ गर्न सफल भयो ।

मंत्रसिद्धि प्राप्त गरेपछि अग्नि हवन गरेर अभिमंत्रित खरानी चारैतिर छर्क्यो, जसबाट तुरुन्तै चमत्कारिक रूपमा खरानीबाट अग्नि दन्किन थाल्यो । जसले सबै चौरासी मन्दिर एवं ग्रन्थहरूमा आगो लाग्न थाल्यो । जसमध्ये केही ग्रन्थ नौ तला रत्नोदधिको मन्दिरको सबैभन्दा माथिल्लो तलामा त्यहाँ बग्ने पानीको कारण जोगिन सक्यो । र, यी दुई तीर्थिक (नालन्दा जलाएको कारण) राजाले दिने सजायबाट जोगिन उत्तर दिशामा हा-सा-मा (असम) भागेर गयो । (हिस्ट्री अफ बुद्धिज्म इन इण्डिया, अंग्रेजी अनुवाद लामा चिमपा एवं अलका चट्टोपाध्याय, पृ. १४१–४२ का सारांश) ।

लामा तारानाथले दुई तीर्थिकले नालन्दा विश्वविद्यालय जलायो भनेर जुन उल्लेख गरेको छ, सबैभन्दा पहिला यसको बस्तुनिष्ठ समीक्षा गर्नु जरुरी छ । लामा तारानाथको भारत यात्रा नालन्दा विद्यालय जलेको झन्डै ४०० वर्षपछाडि भारत पुगेको हो । चार सय वर्षपछाडिको कुनै घटनाको टिप्पणी कसैले गर्दा प्रत्यक्षदर्शीको बयान हुँदैन, चार सय वर्षपछि कुनै घटनाहरू समाजमा मिथक कथा हुन पुग्छ, उनले त्यहाँ रहेकोे स्थानीयबाट सुनेको मिथकलाई आफ्नो डायरीमा उतारेको मात्रै हो ।

यो मिथक तथ्यपरक छैन अलौकिक रूपमा बयान आएको छ, तीर्थक अर्थात् जैनमुनी दुई भिक्षुले मन्त्रसिद्धी गरेर चमत्कारिक तरिकाले आगो उत्पन्न गरेर जलायो भन्नु आफैंमा स्थानीयहरूमा प्रचलित किवदन्तीलाई आधार मानेर लेखिएको कपोकल्पित देखिन्छ । नालन्दा विश्वविद्यालय जलाएको बारेमा प्रमाणित हुने खालको इतिहास भनेको फारसी इतिहासकार मिनहाजुद्दीन सिराज द्वारा लेखिएको ‘तबाकत-ए-नासिरी’ नामक पुस्तकबाट पाइन्छ ।

नालन्दा विश्वविद्यालय जलाएको सन् ११९९ मा हो । मिनहाजुद्दीन सिराज नालन्दा विश्वविद्यालय जलाएको समयको समकालीन व्यक्ति हुन् । उनको जन्म अफगानिस्तानको फिरोजकोहमा सन् ११९३ मा भएको थियो र उनले उक्त घटनामा सामेल भएको दुई मुस्लिम सैनिक दाजुभाइसँग सोधेर घटनाको वृतान्त आफ्नो ऐतिहासिक पुस्तक तबाकत-ए-नासिरीमा यसरी लेखिएको छ- उनी (बख्तियार खिलजी) त्यो भूभागमा र त्यो देशमा उनले लुटपाटलाई त्यतिबेलासम्म हमला गर्दै गए जबसम्म उनले बिहारको किलाबन्दी शहरमा हमला गरेन । आफ्ना विश्वासिला मान्छेहरूले यस क्रममा भने कि रक्षात्मक कवचमा दुई सय घोडचढी सेनाले बिहारको किल्लामा चढाइ गऱ्यो, र एकाएक आक्रमण गऱ्यो । मुहम्मद-ए-बख्तियारको सेवामा फरगानाबाट आएको एक निजामुद्दीन, अर्को समसमुद्दीन नाम गरेको दुई ज्ञानवान दाजुभाइ थिए (फरगाना अहिले पूर्वी उज्वेगिस्तान, किर्गिस्तान र ताजिकिस्तान क्षेत्रमा पर्छ, -ले.) र जोसँग यो पुस्तकको लेखक (मिन्हाज) लखनावतीमा भेट भएको थियो र यो वृत्तान्त उनैको हो । यी दुई विवेकशील भाई मुजाहिद (मुजाहिद भनेको इस्लामको लागि लड्ने लडाकु अथवा सेना) फौजको एक हिस्सा थियो, जब उनीहरू दुर्गको प्रवेशद्वार (नालन्दा विहारको ढोकामा )मा पुग्यो र त्यसपछि भीषण हमला सुरु गऱ्यो ।

मुहम्मद-ए-बख्तियारले आफ्नो बहादुरीको दममा महलको सानो ढोकाबाट भित्र छिरेर पूरै महल कब्जामा लिएर पर्याप्त मालसामान कब्जामा लिनुभयो । त्यस स्थानमा स्थानीयहरू काफी संख्यामा ब्राह्मणहरू थिए, ती सबै ब्राह्मणहरूले आफ्नो टाउको खौरेका थिए र, तिनीहरू सबैलाई मारियो । त्यहाँ ठूलो संख्यामा पुस्तकको थाक थियो । जब यी सबै पुस्तकहरू मुसलमानको नियन्त्रणमा आयो त्यसपछि उनले (मुहम्मद-ए-बख्तियारले वरिपरि गाउँको) धेरै हिन्दुहरूलाई बोलाए ताकि पुस्तकको सम्बन्धमा जानकारी दिन सकोस् । तर, सबै हिन्दु मारिसकेका थिए । (त्यो पुस्तकको सामाग्रीबाट, -अनुवादक) पछि थाहा भयो कि यो किल्ला भनेको त एउटा विद्यालय रहेछ र हिन्दी भाषामा विद्यालयलाई विहार भन्ने रहेछ (तबकात-ए-नासिरी, अङ्ग्रेजी अनुवाद- एच जी रेवर्टी, पृ. ५५१-५५२) ।

इतिहासकार मिनहाजुद्दीन सिराज दिल्लीमा काजी (अहिलेको भए प्रधानमन्त्री ओहदा जस्तो) भएर बसेको ब्यक्ति थिए, उनले गरेको यो तथ्य वृतान्त नै नालन्दा विश्वविद्यालय वा बिहार ध्वस्त हुनको प्रमाणित साक्ष्य इतिहास हो । यो विशालकाय बिहारको निर्माण एउटा वैष्ण्वमार्गी हिन्दु राजाले स्थापना गरेको हो, यो विहार ध्वस्त पार्दा पनि वरिपरिको हजारौँ हिन्दु ब्राह्मणहरूको नरसंहार भएको थियो भनेर लेखिएको छ । तर, यस्तो प्रमाणित इतिहासलाई लुकाउँदै कपोकल्पित कहानी बुनेर- ‘हिन्दु ब्राह्मणहरूले ध्वस्त पारेको थियो, हिन्दु ब्राह्मणहरूले जलाएको थियो’ भन्दै सामाजिक सन्जालको दुरुपयोग गरेर भारत र नेपालमा जातीय धार्मिक घृणाको बिउ कसरी रोपिँदैछ भनेर बुझ्नलाई यो पनि एउटा प्रमाणित उदाहरण नै होइन र ?