फागु खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा बेपत्ता

फागु खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा बेपत्ता


उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । उनीहरू नुहाउन नदीमा जाँदा आइतबार दिउँसो वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा-१४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।

त्रियुगा-१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरू दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन् । पाँच जना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुई जनाचाहिँ निक्लन सफल भएका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको खोजी जारी राखेको बताएका छन् ।