क्यान्सरको खुलासापश्चात पाएको साथले वेल्सका राजकुमार र राजकुमारी ‘उत्प्रेरित’

क्यान्सरको खुलासापश्चात पाएको साथले वेल्सका राजकुमार र राजकुमारी ‘उत्प्रेरित’


वेल्सकी राजकुमारी केटलाई क्यान्सर भएको घोषणापश्चात जनताबाट पाएको न्यानोपन र समर्थनबाट राजकुमारी केट र प्रिन्स विलियम अत्यन्तै उत्प्रेरित भएका बताइएको छ ।

आफ्नो स्वास्थ्यबारे सामाजिक सञ्जालमा गरिएको उन्मादपूर्ण अनुमानहरूको हप्ता दिनपछि राजकुमारी केटले शुक्रबार एक भिडियोमार्फत पेटको ठूलो शल्यक्रियापछि हाल किमोथेरापी गराइरहेको बताएकी थिइन् । बयालीस वर्षीया राजकुमारीले क्यान्सर आफ्ना लागि एक ठूलो झट्का रहेको र सोको रोकथामका लागि किमोथेरापीको प्रारम्भिक चरणमा रहेको बताएकी थिइन् ।

‘राजकुमार र राजकुमारी संयुक्त अधिराज्य र विश्वभरका जनताबाट आएका सन्देशले उत्प्रेरित हुनुभएको छ, उहाँहरू जनताको न्यानोपन र समर्थन तथा यस समयमा गोपनीयताका लागि गरिएको अनुरोधलाई बुझिदिएकामा कृतज्ञ हुनुहुन्छ’, केन्सिङ्टन दरबारका प्रवक्ताले भनेका छन् ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन, क्यान्सरको उपचार गराइरहेका राजा चार्ल्स तृतीयलगायत विश्वभरबाट राजकुमारी केटका लागि समर्थनका सन्देश आइरहेका छन् । केट वा अरु कसैले पनि उनलाई कस्तो प्रकारको क्यान्सर भएको हो वा कुन चरणमा उपचार भइरहेको छ भन्ने खुलासा गरेका छैनन् । राजकुमारीप्रति सहानुभूति प्रकट गर्दै मानिसहरू केन्सिङ्टन दरबारका साथै विन्डसर क्यासलमा भेला भएका छन् ।

अधिकारीहरूले शुक्रबारसम्म जनवरीमा केटको शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारका लागि उनी अप्रिलसम्म सार्वजनिक कर्तव्यबाट टाढा बस्ने बताएका थिए । यसले भावी रानी ‘हराइरहेको’ अफवाह फैलायो र केटले यो महिनाको सुरुमा संयुक्त अधिराज्यमा मदर्स डे मनाउन जारी गरिएको आधिकारिक तस्बिर परिवर्तन गरेको स्वीकार गरेपछि अवस्था थप जटिल बनेको थियो ।

द सन र टिएमजेडले गत हप्ता केट र विलियम उनीहरूको घरनजिकै किनमेल गरिरहेको भिडियो प्रकाशन गरे पनि नकारात्मक कभरेजलाई हटाउन सकेन ।

‘राजकुमारी केटले भिडियोमार्फत जानकारी गराउनुअघि उहाँको स्वास्थ्य अवस्था र ठेगानाबारे अनुमान र दबाब मैले अहिलेसम्म देखेको सबैभन्दा खराब थियो’, केट र प्रिन्स अफ वेल्सका पूर्व आधिकारिक प्रवक्ता प्याडी हार्भरसनले भनेका छन् । तथापि, जस्तोसुकै अनुमान गरिए पनि केटले आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी दिनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् ।