इलाममा एमालेको टिकट अन्ततः सुवासका छोरा सुहाङलाई नै !

इलाममा एमालेको टिकट अन्ततः सुवासका छोरा सुहाङलाई नै !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेकपा एमालेले इलाममा आगामी वैशाखमा हुने उपनिर्वाचनमा दिवंगत सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई संघीय संसद्को उम्मेदवार बनाउने भएको छ । संविधानसभा र प्रतिनिधिसभामा चार पटक सभामुख भएका सुवासको गत भदौ २६ गते हृदयघातले मृत्यु भएपछि इलाम क्षेत्र नम्बर २ बाट संघीय संसदमा प्रतिनिधित्व हुने एक पद रिक्त छ । यो निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते निर्वाचन हुने निर्वाचन आयोगले घोषणा गरिसकेको छ ।

आइतबार बसेको एमाले सचिवालय बैठकले सुवासका छोरा सुहाङलाई इलाम-२ मा पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञावालीले जानकारी दिए ।

सुहाङ नेकपा एमाले कानुन विभाग सदस्य हुन् । उनले राजधानीमै ल फर्म सञ्चालन गर्दै आएका छन् । यसअघि उनी विदेशमा थिए । सुवासको निधनपछि उनी नेपाल फर्किएर पार्टीले जिम्मेवारी दिएमा बहन गर्ने भन्दै उम्मेदवारका आकांक्षी बनेका थिए ।

इलाम एमालेले सुहाङसमेत ६ जनाको नाम सिफारिस गरेको थियो । अन्ततः सहानुभूतिको समेत मत पाउने विश्वासमा एमालेले सुहाङलाई टिकट दिएको छ ।

एमाले सचिवालय बैठकले बझाङ क्षेत्र नम्बर १ प्रदेशसभा क्षेत्र ‘क’मा रिक्त प्रदेशसभा सदस्य उमेद्वारको पनि टुंगो लगाएको छ । त्यहाँ दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यही चैत २४ गते उम्मेदवारको मनोनयन गर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

इलाममा स्वतन्त्र तीन जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासमेतका दलले उम्मेदवारी घोषणा गर्न बाँकी छ । पछिल्लो गठबन्धन सरकारका कारण सुहाङलाई निर्वाचन जित्न सहज देखिन्छ । सुहाङको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसित प्रतिस्पर्धा हुने आंकलन इलामबासीको छ ।