६९ किलो सुन तस्करी प्रकरण : कारवाही गर्न गृहले बनायो समिति

६९ किलो सुन तस्करी प्रकरण : कारवाही गर्न गृहले बनायो समिति


६० किलो र ९ किलो सुन तस्करीमा संलग्न नेपाल सरकारका कर्मचारी र प्रहरीलाई कारवाही गर्न गृहमन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयको कानून महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा प्रहरीका प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल र उपसचिव रामबहादुर साही सदस्य रहेको समिति गठन भएको हो ।

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले गरेको सिफारिसअनुसार निजामति कर्मचारी र प्रहरीलाई कारवाही गर्न समिति गठन भएको गृहका सहायक प्रवक्ता एकदेव अधिकारीले जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकी तत्कालीन प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्य, प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा, प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर र दुर्गा दाहालले फितलो अनुसन्धान गरेकोले कारवाही गर्नु पर्ने जाँचबुझ आयोगले सिफारिस गरेको छ ।

उक्त सुन तस्करी प्रकरणमा संलग्न निजामति कर्मचारीमाथि पनि कारवाहीका लागि आवश्यक सिफारिस गर्न समितिलाई अधिकार दिएको गृहका अधिकारीहरुले जानकारी दिए ।