व्यङ्ग्य कवि गाम्नागे सम्मानित

व्यङ्ग्य कवि गाम्नागे सम्मानित


  • प्रेम ओझा, विराटनगर

व्यङ्ग्य कवि तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेलाई कोशी प्रदेश राजधानी विराटनगरमा सम्मान गरिएको छ । हाँस्य व्यङ्ग्य लेखन र प्रवर्द्धनमा योगदान पुऱ्याएको मूल्याङ्कन गरी सावित्रादेवी-अच्युतप्रसाद खतिवडा साहित्य सेवा प्रतिष्ठानले २५ हजार रुपैयाँ नगदसहित गाम्नागेलाई साहित्यतर्फ सम्मान गरेको हो ।

कोशी प्रदेश सरकारका मुख्य सचिव केदारनाथ शर्माले सम्मान-पत्र हस्तान्तरण गरेका थिए । धर्म र संस्कृतिको क्षेत्रमा योगदान पुऱ्याउने सप्तरी जिल्लाको कञ्चनपुरस्थित त्रिपुरेश्वर महादेव मन्दिरलाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

प्रतिष्ठानद्वारा प्रकाशित अच्युतप्रसाद खतिवडाद्वारा लिखित ‘प्रभु दर्शनको आनन्द’ नामक पुस्तकको पनि प्रमुख सचिव शर्मासमेतका साहित्यकारले विमोचन गरेका छन् । उक्त कृतिमाथि साहित्यकार हरि कट्टेलले समीक्षा गरे । प्राध्यापक कविराज न्यौपाने, लेखक अच्युतप्रसाद खतिवडाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा लक्ष्मण नेवटिया, भेषराज पोखरेल, जमुना पौडेल, रामवावु दाहाल, देवी पन्थी, बाबुराम पोखरेल, भवानी पोखरेल, प्रेम ओझा, प्रमोद ढकालले हास्यव्यङ्ग्य कविता वाचन गरे । प्रतिष्ठानका अध्यक्ष बाबुराम खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिष्ठानका सचिव विवश पोखरेलले स्वागत गरेका थिए ।