बीआरआई कार्यान्वयन सम्झौता नहुने !

बीआरआई कार्यान्वयन सम्झौता नहुने !


चीनको सद्भाव भ्रमण आजदेखि

परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज आइतबार छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । चीनका समकक्षीको निमन्त्रणामा हुन लागेको आठ दिनको यो सद्भाव भ्रमणबाट दुई छिमेकी मुलुकहरूबीचको सम्बन्धमा प्रगाढता बढ्ने विश्वास गरिएको छ।

उपप्रधानमन्त्री श्रेष्ठको यो भ्रमणका क्रममा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता प्रक्रिया सुरु हुने अपेक्षा गरिएको भएपनि तयारी नपुगेकोले यसपटक उक्त सम्झौता हुन नसक्ने बुझिएको छ । उपप्रधानमन्त्री श्रेष्ठले सम्झौताको लागि आवश्यक तयारी गर्न मातहतको निकायलाई निर्देशन दिनुभएको, तर कर्मचारीहरूले तयारीका निम्ति समय नपुग्ने जवाफ दिएपछि तत्कालका लागि बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता नहुने भएको हो ।

यसअघि प्रचण्ड चीन भ्रमणमा जानुहुदा उहाँले पनि चीनलाई तयारी नपुगेकोले अहिले उक्त सम्झौता हुन नसक्ने जवाफ चीनलाई दिनुभएको थियो। त्यसो त प्रधानमन्त्री प्रचण्डले अमेरिका भएर चीन पुग्नुअगावै परराष्ट्र मन्त्रालयका सम्बन्धित अधिकारीलाई ‘बीआरआई सम्झौताको तयारी नगर्न’ कडा निर्देशन दिनुभएको थियो । यसरी यता ‘तयारी नगर्न’ निर्देशन दिने प्रचण्डले बेइजिङ पुगेर चिनियाँ समकक्षीलाई ‘तयारी नपुगेको’ जवाफ दिनुभएको थियो । नारायणकाजी श्रेष्ठले सम्झौताको लागि आन्तरिक तयारी गर्नुभएपछि पश्चिमी र दक्षिणी संसारमा तरङ्ग पैदा भएको थियो ।

यसैबीच अमेरिकी र भारतीय कुटनयिकहरूले प्रचण्डलाई भेटी बीआरआई कार्यान्वयन सम्झौता हुन लागेकोमा चिन्ता ब्यक्त गरेका थिए । उनीहरूको चिन्तालाई दृष्टिगत गरि प्रचण्डले नै सो सम्झौता हुन रोक लगाएको बुझिएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठको सद्भाव भ्रमणका क्रममा त्यहाँका उच्चपदस्थ नेताहरू र अन्य विभिन्न महत्वपूर्ण अधिकारीहरूसङ्ग भेटवार्ता हुने भएको छ । यो भ्रमणका क्रममा श्रेष्ठको स्वास्थ्य परीक्षण पनि सोही अस्पतालमा हुने भएको छ, जहाँ पहिले उहाँको मुटुको उपचार भएको थियो । उहाँले बेइजिङ्ग बाहेक सिचुवान र तीब्बतका उच्चाधिकारीहरूसङ्ग पनि भेटवार्ता गर्नुहुने बताइएको छ।