बफे सिष्टममा बाटुली सानिमाको खान्की र अनेसासको सम्मेलन

बफे सिष्टममा बाटुली सानिमाको खान्की र अनेसासको सम्मेलन


यो युगमा दयावश कसैलाई कसैले केही पनि दिँदैन । संघ-संस्थामा पद, प्रतिष्ठा र स्पेसको त झन् आशै नगेर हुन्छ ।

✍ डिल्ली अम्माई

खासगरी खानाको सिंगारपटार देखाउनको लागि बफे (Buffet) तरिका फ्रान्सबाट सुरु भएको मानिन्छ । त्योभन्दा अगाडि अर्थात् सोह्रौं शताब्दीमा नर्वेली राजपरिवारका लागि मात्र बफे प्रणाली लागू गरिएको थियो । विशेष पर्वको अवसरमा आफ्नो लागि आफै खाना पस्किने तरिका नर्वेका मानिसहरूले प्रयोग गर्दथे, जसलाई अहिले बफे भनिन्छ । यसपछि फ्रान्स हुँदै यसले भारतमा प्रवेश पायो । पञ्जाबका एक व्यापारीका छोरा गुरु नानकले गरिबलाई खाना खुवाउन थाले । यसलाई लङ्गर नाम दिइएको थियो । यो पनि एक प्रकारको बफे नै हो । अहिले बफे पुजाआजा, भोजभतेर सबतिर ब्याप्त छ । बफेमा आ-आफ्नै सजिला र अप्ठ्यारा गुण-अवगुणहरू छन् ।

बफेको फाइदा खाना आफ्नो रोजाइको खान पाइन्छ । तर यसमा बुढा, असक्त, बिमारी, बच्चा र छोइछिटोको कुप्रथालाई पच्छ्याउने परम्परावादीहरू पर्गेलिन्छन् वा आफै सर्भिस गर्न नसक्नेहरू मारमा पर्दछन् । यो तरिकाले खुवाउने सिष्टममा खाना धेरै फालिन्छ । यसले पाहुनालाई सोधी-सोधी खाना खुवाउने अनि भान्से र खाना खाने आगन्तुकबीचको सुमधुर सम्बन्धलाई भत्काइदिएको छ । पूर्वीय परम्परामा सेवा समर्पण गर्ने र सेवा लिनेबीच भावनात्मक सम्बन्ध हुनुपर्छ भनिन्छ, त्यसको यसमा कमी छ ।

बाटुली सानिमाको कारण गत वर्षको घरपुजामा यो सिष्टमले पङ्तिकारकाई धुरुक्कै रुवाएको थियो । बिचरा ! दुर्गम पहाडबाट नवलपुर पुजा खान आएकी हाम्री सानिमा; अन्धविश्वासको कारण बफे तरिका सानिमालाई मन नपरेर हो कि नबुझेर- उहाँ दिनभर भोकै ! आफैले पाहुनालाई सोधी-सोधी खुवाएकी हाम्री सानिमालाई बफेको तरिका खै कस्तो-कस्तो लागेछ । ‘न त्यहाँ भान्सेसँग कुरा गर्नु, न दुःख-सुखको लेनदेन । खानै नपाएर खान आएजस्तो । भान्से के हुन् को हुन्, हाम्रा पहाडमा त यस्तो हुन्न !’ बेलुका सानिमाले यस्ता धेरै गनगन गर्नुभयो ।

हुन पनि हो, अघिल्लो पिंढीसम्म पुजामा पाहुनालाई सोधी–सोधी खान दिने चलन थियो । आफन्तहरू भान्से हुन्थे । खानासँगै मनका पिर र अत्यासहरूको वितरण हुन्थ्यो । मनको मैलो सबै पखालेर निम्तालु घर फर्कदा हलुङ्गा बनेर फर्कन्थे । बेलुका लहरे भजन चल्थ्यो र खैंजरी मजुरा चर्किंन्थे ।

सानिमाले हाम्रोमा चलेको प्रथा पचाउनुभएन । परम्परावादी हाम्री सानिमाले सबैसँग कुम जोरेर खानु हुन्न, बाउबाजेको चलन धान्नुपर्छ भन्नुहुन्छ । हामी दिनभर पुजामा । सानिमाले बफेमा खाजा प्रसादी लिनुभए होला भनेको…, बेलुका रातिसम्म भोकै ।

पुजाको काम सकी आफन्तहरूको बिदाइ गरेर राति अबेर ममाथि बैठक कोठामा पुग्दा सानिमा मेरी दिवंगत आमाको तस्बिर हेरेर रोइरहनुभएको । मैले निकै अनुरोध गरेर कारण सोध्दा थाहा भयो, उहाँको पेटमा पञ्चामृत बाहेक दिनभर केही परेको रहेनछ । खाए–नखाएको सोध्नेको त के कुरा गोरस र फलारसम्म सोध्ने पनि कसैले चेष्टा गरेनछन् । भिडमा नखाने मान्छे, बफेमा कहिल्यै बानी नपरेकी कठै हाम्री बाटुली सानिमा ।

‘ई बरेइ ! दिदी भएको भा त बैनी भोकाइकी भनेर सोध्थिन् होला नि ! हुलमा कुम जोरेर मैले खान्न, छोराछोरी बुहारी तिमर्कै आफ्ना घर माइतका आए होलान्, जाबो सानिमाको के ख्याल भो र ! आइहालेँ !’ सानिमाको यो कुरालाई मैले सम्झाउन सकेँ कि सकिन थाहा छैन । आधुनिक बफेमा पेलिएकी मेरी सानिमा ! अथाह श्रद्धा उम्लेर आयो ।

‘म र बुहारी पुजामा… सानिमा ! अरुले त्यति चिनेनन् कि, के भो ?’ मैले हजार पटक सानिमासँग क्षमा मागेँ । बाटुली सानिमाको खुट्टा समातेर बिन्ति बिसाएँ । खै ! सानिमाले मलाई माफ गर्नुभयो कि भएन थाहा छैन । तर सानिमाको चेहरा फर्क्यो र, त्यसपछि बुहारीको हातबाट खाना पनि खानुभयो ।

ठ्याक्कै त्यही घटनासँग मिल्दोजुल्दो तर अर्कै प्रकृतिको कमजोरी भयो पोर्तुगलमा भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को विश्व सम्मेलनमा । गुनासो आयो, अफ्रिका लगायतका प्रतिनिधिले आफ्नो कुरा राख्ने ठाउँ पाएनन् भन्ने ।

यस्ता बृहद सम्मेलनहरूमा भएका कमजोरीहरूमा दुवै पक्ष (आयोजक र प्रतिनिधि)को सम्बन्ध हुन्छ नै । प्रतिनिधिले सम्मेलनमा प्रक्रियागत रुपमा आफ्नो भूमिका खोज्ने माग गर्नुपर्छ । आफूले प्रतिनिधित्व गरेको समूह शाखा वा क्षेत्रका प्रतिनिधिलाई दर्ता गराउनु पऱ्यो । सम्मेलनको अनुशासनस्वरुप तोकिएको ५० युरो दस्तुर वा लेबी बुझाउनु पऱ्यो । कार्यक्रममा आफूले बोल्ने वा प्रस्तुत गर्ने विषयबारे आयोजक वा संचालकलाई औपचारिक जानकारी दिएर आफ्नो समय माग्नु पऱ्यो । ती यावत प्रक्रिया पूरा गरेपछि पनि मिच्याइमा पर्ने अवस्था आयो भने हलले सुन्ने गरेर माग गर्नुपर्छ । त्यसमा आफ्नो जिम्मेवारी पूरा भयो वा भएन सम्बन्धित पक्षले सोच्नुपर्ने हुन्छ ।

समस्या सम्मेलनमा भाग लिन आउने प्रतिनिधिहरूमा पनि देखियो । सबैलाई एक–एक गरेर नसोध्नु वा दर्ताको प्रक्रिया पूरा गर्न विशेष अनुरोध नगर्नुमा आयोजकको कमजोरी हुन सक्थ्यो । त्यो अलिक प्रभावकारी रूपले लागु हुन सकेन । झण्डै सयभन्दा बढी प्रतिनिधि पर्यवेक्षकमा त्यसको आधा जति दर्ता भएका छन् । दर्ता भएकाहरू मात्र प्रमाणिक रुपमा सम्मेलनमा अनुमोदित भएका हुन् । कुरो बुझ्दा अफ्रिका च्याप्टरको समस्या यिनै प्रक्रियागत त्रुटीभित्र अलपत्र परेजस्तो लाग्यो ।

कारण जेसुकै होस्, एउटा प्राज्ञिकहरूको सम्मेलनमा कुनै पनि च्याप्टरको विचार, कार्यक्रम र अनुभव छुट्नु दुखद कुरा हो । प्राज्ञिक कार्यक्रमहरू दबाबमुलक भन्दा पनि निश्चित ढाँचामा स्वतन्त्र रुपले परिचालित हुन्छन् । त्यसका सहभागी प्रतिनिधिहरूमा पनि त्यो स्पिरिट हुनु पर्दछ । कारण जेसुकै भएपनि एक्स्पोज हुन नसक्नु वा सार्वजनिक सभामा आफ्नो सहभागिताको दर्ता पुस्तिकामा नाम दिन नसक्नु सहभागीकै कमजोर पक्ष हो । अनभिज्ञताको कुरामा पनि हाम्रो बाटुली सानिमाको जस्तो परम्परागत, सँस्कारगत वा अन्य विवशताको चौघेराबाट निस्कनुपर्छ । भोजमा जस्तै ठुला कुम्भमेला वा कार्यक्रममा पनि बफे तरिकालाई अवलम्बन गर्नुपर्ने बाध्यता नै छ ।

समाजमा आफ्नो कुरा राख्नको लागि ठाउँ हुन्छ, तर संख्यात्मक उपस्थिति धेरै भयो भने आफ्नो ट्यालेन्ट आफै अफर गरेर प्रस्तुत गर्न नाम दर्ता गराउनैपर्छ । ट्यालेन्टको आयोजकले सोधनी गर्दैन । कथित आधुनिक समाजमा ज्यूँदो छु भनेर पटक–पटक आफै अस्तित्वको परिचय दिइरहनु पर्दछ, चल्मलाइरहनु पर्दछ । अलिकति असजिलो भएपछि ‘ऐया आथ्थो’को आवाज निकालिरहनु पर्दछ । अस्तित्वको परिचयले नै मानिसलाई अगाडि ल्याउँछ ।

जस्तो एउटा छुट्टै समारोहमा विमोचन भइसकेको किताव पुनः पुनः गर्न गराउनु, अनेक रोइलो निकालेर सम्मेलन हलका हातेपंखा हल्लाइ रहनु र समुहको ध्यान तान्न बेलाबेलामा सुसेल्नु जीवन्त अस्तित्वका प्रमाण हुन् । ती सबै कुरा जायज हुन् वा हैनन् त्यसबारे आफ्नो ठाउँमा तर्क-वितर्क गर्न सकिएला । तर आधुनिक बफे सिष्टममा ती कुरा समुहको ध्यान आकर्षणका लागि बलिया प्रमाण हुन् ।

आधुनिक बफे प्रथामा अरुको रुचि सोध्ने र उसको रुचिको खाना पस्केर अरुलाई दिने कर्म कसैले रुचाउँदैन । ‘बोल्ने मान्छेको पिठो बिक्छ तर नबोल्नेको चामल पनि बिक्दैन’ भनेझैँ हामी आफ्नो लागि आफै बोल्नैपर्छ, हामी आफ्नो समुदाय, सभ्यता र आफ्ना गतिविधिको लागि पनि बोल्नैपर्छ । हामी अरुको मुख हेरेर बस्नु र ध्यान मुद्रामा आकाशवाणीको प्रतीक्षा गर्नु दुःखका साथ भन्दा मुर्ख्याइँ हो ।

पौराणिक कालको एक प्रसङ्ग नै हेरौँ । चिच्याएर नरोएको भए जंगलमा फालिएकी सकुन्तलाले जीवन दान पाउने थिइनन् । दुश्यन्तसँग सकुन्तलाको प्रेम फुलेर पूर्वीय आकाशमा सुगन्ध छर्ने थिएन । अर्थात् पूर्वीय पौराणिक साहित्यमा एउटा महान् प्रेमकथाको अन्त्य हुन्थ्यो ।

यसर्थ समयमा दिएका हरेक आवाजहरूको महत्व छ । अझ यो युग त बफेकारणले पूर्ण रुपमा वेष्टित छ । कि हलचल गरिराख्नु, आवाज निकालिराख्नु वा गर्जिरहनु अन्यथा मरेको ठानी पेलिन र पोलिन तयार भएर बस्नुको विकल्प छैन । यो दोष मानिसको भन्दा पनि प्रणालीको हो । यो एकल, ब्यस्त समाज प्रणाली र त्यसले दिएको प्रशिक्षणको हो । समग्रमा यो दोष अहिलेको प्रतिष्पर्धात्मक युगको हो । ‘सके गर नत्र मर’ कृत्रिमता, विवेकहीनता र ढोंगले समाजका पौंठा बसेपछि आफूले आफैलाई सक्रिय बनाउनुको विकल्प हामीसँग हुँदैन । कतैबाट स्वचालित आशिर्वाद आउला कि भनेर हामी बाटुली सानिमाले खान्कीको सोधनी कुरेझैँ कुरी बस्नु ‘कठै बिचरा’ बन्नु मात्र हो !

यो युगमा दयावश कसैलाई कसैले केही पनि दिँदैन । संघ-संस्थामा पद, प्रतिष्ठा र स्पेसको त झन् आशै नगेर हुन्छ । हो, एकाध पटक प्रतिष्पर्धाको लागि मौका आउँछ । उसको प्रभाव हेरिन्छ र उपयोगिताको मापदण्डमा पऱ्यो भने पुनः अवसर पाउँछ । अन्यथा उसलाई नबोलिकन बिदाइ गरिन्छ । यो कुरा संघ-संस्थामा मात्र नभएर आम क्षेत्रमा लागु हुन्छ ।

जीवन पटक-पटक नआउने भएकोले परीक्षणको लागि जीवन छोटो छ । सम्पतिको के कुरा, अन्तमा आफैलाई जलाएको खरानी पनि आफूसँग रहँदैन । यो बफे युगमा ‘म जन्मेको थिएँ’ भन्ने परिचयको लागि पनि आफूलाई विभिन्न मोर्चाहरूमा प्रस्तुत गरिरहनुपर्छ ।

पङ्तिकारले पनि हरेक स्थानमा आफै स्पेस निर्माण गरेर हार्दै जित्दै यहाँसम्म आएको हो । मैले कसैसँग आवश्यकता भन्दा बढी गुनासो गरिनँ किनकि आफ्नो असफलताको जड अन्यत्रभन्दा आफैसँग बढी हुन्छ भन्ने मलाई स्पष्ट थाहा छ । यो बोध सबैलाई हुनैपर्छ । आफ्नो रोग, शोक र असफलताको कारण मुख्य सारमा आफै हो ।

यसको मतलब यो होइन कि हाम्री बाटुली सानिमालाई खाना सोधिनु हुन्न । बफे उहाँको बुझाइ र रुचिभन्दा बाहिरको कुरा हो । उहाँलाई सम्मानसाथ खान नदिनुमा आयोजक अर्थात् मेरो वा भान्सेको दोष हो । यसर्थ विशिष्ट सम्मेलनमा आयोजकले कार्यक्रमभरिको सिष्टमबारे पूर्वजानकारी दिनैपर्छ । प्रतिनिधि दर्ता गर्ने समय, कार्यक्रम तालिका, खाना र अपनाउनुपर्ने अनुशासन वा नियम शुरुमै प्रकाशन तथा प्रशारण भएमा प्रतिनिधिहरू छुट्ने सम्भावना कम हुन्छ । जिम्मेवारीको कुरामा पनि हामी सक्ने जिम्मेवारीबाट पन्छिनु हुँदैन । उदाहरणको लागि कसैसँग दर्ताशुल्क नहुन पनि सक्छ । समस्यामा पर्न सकिन्छ तर आयोजकलाई भन्नु त पऱ्यो नि !

बेल्जियम च्याप्टरको कुरा गर्दा मैले हाम्रो टिमका सहकर्मीहरूलाई जिम्मेवारी लिने सवालमा सकभर ‘नाइँ’ नभन्नु भनेर सिकाएको छु । ‘नो’ भन्नु आफ्नो अवसर गुमाउनु, दमित हुनु, अनुभवी बन्न बन्चित हुनु मात्र नभएर अस्तित्वलाई नकार्नु हो । सामान्यतया ज्यूँदो रहन अस्विकार गर्ने ‘नाइँ’ शब्द हाम्रो टिममा अस्वीकार्य छ ।

पङ्तिकारकै सवालमा पनि नेतृत्व टिमले एक शीर्षक दिएर कार्यपत्र लेख्न जिम्मा दियो । ‘ढंग न संग म परें दंग’ भनेझैँ मैले काम गर्ने सिप भएर हैन कि नजानेरै ‘गर्छु’ भनिदिएँ । मेरो सिद्धान्त भनेको राम्रोको लागि सबै सामाजिक अवसरहरूलाई समात्ने प्रयत्न गर्नु हो । काम सप्रे जश पाइयो नत्र अनुभव त पाइन्छ । गुमाउने भनेको अलिकति समयमात्र न हो ।

त्यसैले सामाजिक क्रियामा पोखिनेगरि अघि सर्नुपर्छ, किनकि क्षमताको पहिचान गर्न हरेक परीक्षणहरूमा जाँच दिनैपर्छ । जीवन पटक-पटक नआउने भएकोले परीक्षणको लागि जीवन छोटो छ । सम्पतिको के कुरा, अन्तमा आफैलाई जलाएको खरानी पनि आफूसँग रहँदैन । यो बफे युगमा ‘म जन्मेको थिएँ’ भन्ने परिचयको लागि पनि आफूलाई विभिन्न मोर्चाहरूमा प्रस्तुत गरिरहनुपर्छ ।

ग्रुपमा अफ्रिकाका सम्मानित अध्यक्षले आयोजकलाई असन्तुष्टि पोखेको देखेँ । फोनमा कुरा गरियो । यो योजनामा भयो कि भन्ने उहाँको आशंका पनि रहेछ । म आफै अर्ध-आयोजक भएकोले चासो स्वाभाविक पनि हुने भयो । हाम्रो च्याप्टरका अध्यक्ष शौरभ कारंजितको नेतृत्वमा आफै त्यहाँ पुगेकोले नियोजित वा प्रायोजितको भ्रममा नपर्न अफ्रिकाका अध्यक्षलाई टेलिफोनबाटै अनुरोध गरेँ ।

भिडमा साथी बिरामी हुँदा स्वयमले नभनेसम्म थाहा हुँदैन । सबैमा आ-आफ्ना हतारहरू हुन्छन् । त्यसैले मैले अगाडि नै भनिसकेँ कि सामाजिक हितमा आफ्नो उर्जाको संयोजन हुने अवसर खेर नफालौँ । साथीहरूको पनि पालो कुर्नुहुन्न भन्ने मान्छे म । अहिल्यै अगाडि बढी हाल, साथीभाइले जेसुकै भनुन् । किनकि समय, मन र शारीरिक उर्जाको संयोजन सदैव उस्तै रहँदैन । गल्दै–गल्दै गएर शरीरबाट उर्जा सकिन्छ र अन्तमा पछुतोले विक्षिप्त भएको मनमात्र बाँकी रहन्छ ।

सारमा, अनेसासको सम्मेलनको बारेमा प्रस्तुत सबैका चिन्ता र सुझावहरू आ-आफ्नो ठाउँमा जायज छन् । महामेला र सम्मेलनहरूमा जुताको पिँधमा टाँसिएको धुलो झर्छ नै । सम्मेलन स्थल फोहर पनि हुन्छ । सम्मेलन ठ्याक्कै केक काटेजस्तो हुँदैन, कति भनेका प्रतिनिधि आँउदैनन् । भोजन पक्कै पनि सबैले चिताए जस्तो हुँदैन । भन्नाले ठुला सभाहरूमा सबै कुराहरू ठ्याक्कै मिलिरहेका हुँदैनन् ।

मेरो विचारमा त्यो मुख्य कुरा हैन । मुख्य कुरा ती संकल्पित अनुहारले पोखेको सांस्कृतिक र नेपाली मूल्य रक्षाको ऐभारा तथा आभा हो; रचना तथा सृजनाको संकल्प हो; भावनात्मक भेट तथा मूल्यबोधको प्राज्ञिक चिन्ता हो । निष्कर्षमा परिणामलाई स्वीकार्दै, सिंहावलोकन गर्दै निरन्तर अघि बढिरहनु हो । हो, त्यही प्राज्ञिक चिन्ताभित्र नै हाम्रा सामुहिक भावी कार्यक्रमहरू छन्; कार्यपत्रका निष्कर्षहरू छन्; नेपाली साहित्यको एक विशाल घेरा छ र भविष्यको एक स्पष्ट चित्र पनि त्यहि घेराभित्र छ । अस्तु ।