गैरआवासीय नेपाली सङ्घको अनिश्चित भविष्य, केसी समूहको नियत र अप्रत्यासित नेपाल यात्रा

गैरआवासीय नेपाली सङ्घको अनिश्चित भविष्य, केसी समूहको नियत र अप्रत्यासित नेपाल यात्रा


✍ यामलाल सुवेदी, डेनमार्क

गत फाल्गुन महिनाको १६ गतेका दिन परमपूज्य पिताजी तथा शान्ति आधारभुत विद्यालय जलजला-६ पर्वत, भोटेडाँडाका संस्थापक अध्यक्ष श्रीकृष्ण सुवेदी ब्रह्मलीन भएको खबरले मर्माहत हुँदै, पिताजीको शोकको पीडामा छट्पटाउँदै कर्मभूमिबाट मातृभुमितर्फ प्रस्थान गरी भोलिपल्ट मातृभूमिमा पाइला टेकेँ । सनातन संस्कृतिले निर्देशित गरेको कर्तब्यलाई विधिगतरूपमा निभाउने कर्ममा परम पुजनीय पिताको १३औँ दिनसम्मको पुण्यतिथि विधिवत सिध्याएर पिताजीको पवित्र आत्मालाई बैकुण्ठधाममा भगवानको समिप पुऱ्याइ उहाँले संसार छोडेर जाँदा परेको शोक र संवेदनालाई उर्जामा परिणत गर्दै आफ्नो कर्मभूमि फर्कने क्रममा चैत्र १ गतेका दिन राजधानी काठमाडौं आयपुगेँ ।

काठमाडौं आगमनपश्चात कानुनमन्त्री पदम गिरीज्युसँग भेट गरी गैरआवासीय नेपाली नागरिकताका विषयमा आफ्नो राय राख्ने प्रयास गरेँ, छोटो भेट भएता पनि उहाँले मेरो कुरालाई धैर्यताका साथ सुनेर नोट गरेको पाएँ । त्यसपछि नेपाली कांग्रेसका आदरणीय नेता गुरु बराल र डा. चन्द्र भण्डारीसँग भेट गरेर नेपालको वर्तमान राजनीति, यसले पारेको प्रभाव र निष्ठाको राजनीतिको बारेमा भलाकुसारी गर्ने अवसर जुऱ्यो । त्यसैगरी नागरिक शक्ति नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकारसमेत रहनुभएका आदरणीय व्यक्तित्व देवप्रकाश त्रिपाठीसँग पनि देशको बदलिँदो परिस्थिति र मातृभूमिको परिवेशका सन्दर्भमा भलाकुसारी गर्ने अवसर जुऱ्यो ।

राजधानी काठमाडौंमा भलाकुसारी र छलफलकै दौरान गैरआवासीय नेपाली संघका बद्री समुहका अध्यक्ष डा. बद्री केसीलाई समेत भेट गर्ने अवसर मिल्यो । भलै म आफै पनि टुक्रिएको गैरआवासीय नेपाली संघ देख्न नचाहनेमध्ये एक थिएँ ।

गैरआवासीय नेपाली संघ र यसको औचित्वलाई राम्रोसँग बुझेको एक शुभचिन्तकका साथै युरोपेली मुलुक डेनमार्कको राष्ट्रिय समन्वय परिषदलाई एक कार्यकाल नेतृत्व गरेको अनुभवसमेत भएको नाताले पनि र, संघको वर्तमान विवादलाई नजिक रहेर हेरिरहेको व्यक्ति भएको कारण मलाई टुटेको संघ जोडिने अवस्था सिर्जना हुने अवसरको खोजीमा थिएँ । यस विषयमा केही पहल मैले आफ्नो तर्फबाट गर्नुपर्छ भन्ने सोचलाई यथार्थमा परिणत गर्न डा. केसी समूहका अध्यक्षसमेत रहेका डा. बद्री केसीको जन्मदिनको अवसरले उहाँसँग भेट गर्ने अवस्था सिर्जना गरायो । यससँगै, भर्खर परराष्ट्र मन्त्रालयको नेतृत्वमा नारायणकाजी श्रेष्ठ आएसँगै गैरआवासीय नेपाली संघलाई सही बाटोमा ल्याउन समन्वय गर्न सक्छु कि भन्ने झिनो आशाको संचारसमेत ममा भएको थियो ।

हालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री बन्दा देखाउनुभएको कार्यसम्पादनले प्रस्ट बताएको थियो कि उहाँ परराष्ट्रमन्त्री रहँदा पक्कै एकपक्षीय रुपमा, एक पक्षलाई मात्र नबोकी स्पस्टरूपमा गैरआवासीय नेपालीहरूका पक्षमा काम गर्नुहुनेछ ! यसमा म आशावादी भएकोले पनि मभित्र एक सकारात्मक हुटहुटी थियो नै । त्यसैले, मैले आफ्नो सुझबुझ र सम्पर्क प्रयोग गरेर माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसँग भेट गरी आफ्ना कुरा राख्ने सोच बनाएँ । फेरि मलाई तत्कालै के सोच आयो भने भर्खर सम्पर्कमा आएका डा. बद्री केसीलाई समेत लिएर परराष्ट्रमन्त्रीसामु केही भनौँ जसको कारण पछिल्लो समय टुक्रा-टुक्रा भएको गैरआवासीय नेपाली संघ एक हुनेमा कम्तिमा एक सुरुवात हुन्थ्यो भन्नेमा मेरो अपेक्षा थियो ।

संघको केसी समूहका अध्यक्ष डा. केसीलाई परराष्ट्रमन्त्री समक्ष लिएर जाने सोच उहाँसँगको भेटमा उहाँले मैले देखाउन खोजेका विषयहरूलाई धैरतापूर्वक सुनेर सकारात्मक रहेको पाएको कारण नै थियो । मैले डा. केसीसँगको भेटमा दिएको सुझावमा गुजरात मोडल र गैरआवासीय भारतीयहरू (एनआरआई) मार्फत उनीहरूको मुलुकलाई दिएको योगदान सँग जोडिएको थियो । जसमा मैले विस्तृत भन्नुपर्दा ‘प्रवासमा बस्ने करिब ८० लाखभन्दा बढी नेपालीहरूले त्यहाँ बस्दा गर्दा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई गैरआवासीय नेपाली संघको माध्यमबाट मातृभूमिमा एउटा स्वायत्त गैरआवासीय नेपाली लगानी प्राधिकरण निर्माण गरी सो प्राधिकरणको माध्यमबाट सम्पुर्ण प्रवासी नेपालीहरूलाई नेपाल निर्माणको महत्वपुर्ण सहयात्रीको रूपमा स्थापित गर्न प्रचुर सम्भावनाको ढोका देखाए । जसको ज्वलन्त उदाहरण हाम्रो छिमेकी देश भारतको गुजरात प्रान्तले प्रमाणित गरेर देखाइसकेको तर्कलाई मैले राखेको थिएँ । जहाँ गैरआवासीय भारतीयहरूको ४९ प्रतिशत र त्यहाँको प्रान्तिय सरकारको ५१ प्रतिशत पार्टनरसिपमा तत्कालिन भारतको गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदीले गैरआवासीय भारतीयहरूका लागि लगानीमैत्री नीति-नियमहरू बनाएर गुजरात राज्यलाई एउटा मोडल राज्यको रुपमा स्थापना गरी, त्यही सफलताले आज महान् भारतको प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाललाई सफलतापूर्वक सम्पन्न गर्दै तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई निर्वाध रुपमा स्थापना गरेको उदाहरण प्रस्तुत गरेको थिएँ ।

मेरो अर्को तर्क थियो– ‘गैरआवासीय नेपाली संघ परराष्ट्र मन्त्रालयको मातहतमा दर्ता गर्नु उपयुक्त नहुने !’ यसलाई नीतिगत रुपमा संशोधन गरी समाज कल्याण मन्त्रालयको मातहतमा ल्याउनुपर्ने । साथै, श्रम तथा रोजगार मन्त्रालयसँग समन्वय गरी मध्यपूर्व र एशिया प्यासिफिक क्षेत्रमा रोजगार अनुमति लिएर गरेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको तथ्यांक संकलन गरी गैरआवासीय नेपाली संघमा आवद्ध गराउँदै नेपालको निर्माणमा उनीहरूको लगानी साझेदारीको दायरामा ल्याउदा संघको अर्कै गरिमा स्थापना हुने र अर्कोतर्फ नेपालको विकाशको साझेदार गैरआवासीय नेपाली संघ बन्ने भन्ने मेरो तर्क थियो । उक्त भेटमा डा. केसीले मैले ब्यक्त गरेका कुरालाई धैर्यपूर्वक सुन्दै चासोसाथ हेरेको तर ‘संघ नवीकरण नभएकोमा बीचमा अल्झिएको’ भन्ने उहाँको भनाइको कारण एकपटक परराष्ट्रमन्त्री सँगसँगै राखेर कुरा गर्नु उपयुक्त हुन्छ भन्नेमा म सकारात्मक थिएँ । परराष्ट्रमन्त्रीसँग प्रत्यक्ष भेट गर्ने भन्ने मेरो कुरापश्चात डा. केसी सकारात्मक हुँदै जसरी हुन्छ परराष्ट्रमन्त्रीसँग भेट मिलाउन अनुरोध गर्नुभयो ।

एनआरएनको कार्यालयबाट निस्केपश्चात मैले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठज्युलाई भेट गर्न चाहेको, सो भेटमा केसी समूहका अध्यक्ष डा. केसी पनि सँगै हुने भन्ने सन्देश पठाएँ, मेरो सन्देशमा परराष्ट्रमन्त्रीज्युले तत्काल प्रतिक्रिया दिँदै ‘मैले डा. केसीलाई पहिला नै भेटिसकेको छु, फेरि तत्काल भेट गर्नुपर्ने के अवस्था आयो र ?’ भन्ने तर्क राख्नुभयो । मैले म पनि यस्तो अवस्थामा नेपाल आएको, गैरआवासीय नेपाली संघ डेनमार्कको नेतृत्व गरिसकेको, संघको बिग्रँदो छबीमा अत्यन्त दुखित रहेको गैरआवासीय भएको साथै डा. केसीको अगाडि संघको वर्तमान समस्यामा छलफल गर्न खोजेको भन्ने खबर पठाएपश्चात मन्त्रीज्युले हामीलाई उहाँको निवासमै भोलिपल्ट साँझ १८ः०० बजे भेटघाट गरौँ भन्नुभयो ।

परराष्ट्रमन्त्रीसँगको भेटमा डा. केसी, म साथै मेरा राजनीतिक गुरु पनि सँगै हुनुन्थ्यो । जसमा उहाँले यसमा समन्वयसमेत गर्नुभएको थियो । भोलिपल्ट मन्त्रीज्युले दिएको समयअनुसार नै हामी उहाँको निवास पुग्यौँ । हामी मन्त्री निवास पुगेको करिव १० मिनेटको पर्खाइपश्चात परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि निवासमा आइपुग्नुभयो ।

हामीले सामान्य सिष्टाचारसमेत टक्र्याउन नपाउँदै परराष्ट्रमन्त्रीले केसी समुहका अध्यक्ष बद्री केसीलाई इंगित गर्दै ‘प्रवासमा बस्ने नेपालीहरू नेपालको पार्टीको कार्यकर्ता नभइ एकआपसमा सद्भाव र एकतामा विश्वास गर्नु पर्दछ, तपाईंहरू तीन गुटमा विभक्त हुँदा हामीलाई अत्यन्तै शर्म लागिरहेको छ । तपाईं तीन जना अध्यक्षमध्येको एक अध्यक्ष हुनुहुन्छ, तपाईंले जतिसक्दो छिटो संस्थालाई एकिकरण गर्न पहल गर्नुहोस्, डा. शेष घलेलाई पनि छिट्टै बोलाएर गैरआवासीय नेपाली संघलाई मिलाउनको निमित्त आफ्नो तर्फबाट म पहल गर्छु, त्यसपछि बल्ल नवीकरणको लागि आउनु’ भन्ने स्पष्ट आग्रह गर्नुभयो ।

परराष्ट्रमन्त्रीको भनाइपश्चात मैले डा. केसीसंगको भेटमा राखेका केही तर्क र संघको एकताको बारेमा मेरा आफ्ना दृष्टिकोणलाई दोहोर्‍याएँ, मैले राखेका कुरालाई माननीय मन्त्रीज्युले धैर्यताका साथ सुन्नुभयो ।

मैले राखेका कुरा सुनिसकेपछि गैरआवासीय नेपाली संघलाई एकजुट बनाएर सशक्त रुपमा कृयाशील बनाउनुको कुनै विकल्प नभएको मन्त्रीज्युको महत्वपुर्ण चासो र सरोकार रहेको पाइयो । परराष्ट्रमन्त्रीको स्पस्ट भनाइ थियो- ‘संघको नवीकरण कुनै समस्या होइन, यो एक मिनेटको काम हो, तर तपार्इंहरूको आपसी कारणले टुक्र्याउनुभएको गैरआवासीय नेपाली संघ टुक्रिएको मलाई हेर्नु छैन ।’ मन्त्रीज्युको स्पस्ट सन्देशसँगै करिव आधा घण्टाको बसाइ र छलफलपश्चात मन्त्रीज्युसँग एउटा तस्बिर लिएर हामी सबै बिदा भयौँ ।

मलाई अचम्म तब लाग्यो, जब युकेतिर बसेर पत्रकारिताको नाममा ‘पत्रुकारिता’ गरिरहेको कुनै एक व्यक्तिलाई डा. केसीले उक्त तस्बिर पठाउनुभएछ, आफूलाई डायस्पोराको अनलाइन पत्रिका भन्दै आइरहेको सो अनलाइनले हामी सबैको तस्बिर राखेर एक ‘तथाकथित’ समाचार बनाएर पहेँलो पत्रकारिता गर्न भ्याएछन् । सो समाचारको शीर्षक थियो– ‘गैरआवासीय नेपाली संघको नवीकरण छिट्टै हुँदैछ : पररास्ट्र मन्त्रीको भनाइ’ । बीचमा बनावटी शब्दहरू राखेर प्रकाशन गरिएको सो समाचारमा मन्त्रीसँग भएको तस्बिर राखेर सम्पूर्ण विषय तोडमोड गरेर एकतर्फी समाचार बनाएको । मलाई उक्त समाचारको लिंक एक मित्रले पठाएपश्चात डा. केसीको लिडरसिप क्षमता, निर्णय गर्ने खुबी र तथ्यगतरूपमा गैरआवासीय नेपालीका लागि काम गर्ने सवालमा एक गम्भीर प्रश्नचिन्ह खडा गरायो । मैले उक्त समाचारमा लेखिएका शब्द र मैले गर्न खोजेको एक पवित्र कार्यको साह्रै हलुका रूपमा लिएर भद्दा मजाक बनाइएको जस्तो मलाई महसूस भयो ।

त्यति गम्भीररूपमा परराष्ट्र मन्त्रीसामु भएका छलफललाई यस्तो हलुका रूपमा डा. केसीले लिनुहोला भन्ने मलाई लागेको थिएन । त्यसमाथि म र मेरा युरोपनिवासी एक मित्रसँग गैरआवासीय नेपाली संघलाई जोड्नका लागि सामूहिक पहल गर्नुपर्छ भनेर आफ्नो ठाउँबाट काम गरिरहेका थियौँ । यसै क्रममा मेरा मित्रले अध्यक्षका प्रत्यासीसमेत रहेका महेश श्रेष्ठसँग सम्वाद गरिरहनुभएको थियो भने मैले बीच-बीचमा केसी समुहका महासचिव गौरी जोशीसमक्ष समेत संघलाई जोड्ने विषयलाई लिएर संवाद गरिरहेको थिएँ । यस्तै, परराष्ट्रमन्त्रीसंगको भेटपश्चात शर्मा समुहका अध्यक्ष आरके शर्मासँग पनि भेट गरी संघलाई जोड्ने सवालमा आफ्ना कुरा राख्ने व्यवस्था समेत गरिसकेको थिएँ । संयोगले आरके शर्मा समेत काठमाडौंमै हुनुहुन्थ्यो ।

संघको एकतामा मेरो पहल किन भन्ने विषयमा यहाँ प्रश्न आउन सक्छ, यसमा मेरो पनि स्वार्थ छ, स्वार्थ यो अर्थमा छ कि मजस्ता गैरआवासीयहरूले यसै संघको माध्यमबाट आफ्नो मातृभूमिलाई योगदान दिन सकियोस्, यो योगदानले आफ्नो जन्मेको भूमिको ऋण त तिर्ने अवस्था बन्थ्यो भने मजस्ता हजारौँ, लाखौँ गैरआवासीयहरूले आर्जन गरेको ज्ञान, शीप र पुँजीलाई सही तरिकाले प्रयोग गर्दा लाखौँ गैरआवासीय हरूको समेत व्यक्तिगत फाइदा हुन्थ्यो भन्ने स्वार्थको कुरा थियो । यो स्वार्थ देशको उन्नतिको पक्षमा थियो । त्यसैले मैले यहाँ गुजरात मोडलको कुरा गरेको हुँ । यसै सिलसिलामा मैले आरके शर्माजीसँग प्रत्यक्ष भेटी लामो कुरा गरेँ । शर्मासँगको भेटमा उहाँ संघको एकताको लागि जस्तोसुकै त्याग गर्न तयार रहेको अत्यन्त सकारात्मक अनुभूति पाएँ भने अर्को दिन शर्मा समुहका महासचिव बुद्धि सुवेदीसँग पनि सकारात्मक छलफल गरेँ ।

बद्री समुहका अध्यक्ष डा. केसीसँगको पहिलो भेटले देखाएको सकारात्मक तरङ्ग उहाँले अर्को दिन मसँग गर्नुभएको फरक कुरालाई मन्थन वा विवेचना गर्दा विवादित, टुक्रिएको संघलाई जोड्ने मेरो सपना आज टुक्रिएको महसूस भएको छ भने डा. बद्री समूहबाट गैरआवासीय नेपालीको पक्षमा कुनै सकारात्मक काम हुनेछ भन्ने आशा पनि अब निराशामा परिणत भएको छ । ‘बद्री केसी जस्तो एक-एक सिँढी चढेर संघको अभियानमा निरन्तर रहिरहेको ब्यक्ति यतिका हल्का र निर्णय गर्न नसक्ने किन ?’ भन्ने जिज्ञासाको जवाफ खोज्दै जाँदा उहाँ आफैमा देखाउने अध्यक्ष मात्र भएको पत्ता लाग्यो र जहिलेसम्म स्वार्थी समूहको निर्देशनमा डा. केसीले काम गर्नुहुन्छ त्यो दिनसम्म गैरआवासीय नेपाली संघ भेन्टिलेटरमै रहने पक्का भएको प्रस्ट भयो ।

टुक्रिएर, ठोक्किएर थिलथिलो बनेर भेन्टिलेटरमा रही घ्यारघ्यार स्वास फेरिरहेको संघको मिलापमा केसी समुहका केही अतिवादीहरूको कुरालाई नसुनी डा. बद्री केसी स्वयम् निर्णय गर्न सक्ने व्यक्ति बनेर अगाडि आउने हो भने टुक्रिएको संघ एक हप्तामै जोडिने विविध आधारमा प्रस्ट हुँदै काठमाडौंदेखि कोपेनहेगनको यात्रा तय गरियो ।

अन्त्यमा, असत्य विषयहरूलाई अतिरञ्जित गरेर भ्रम फैलाइ फाइदामुखी क्रियाकलाप यो पवित्र संस्थामा कसैले गर्छ भने इतिहासले त्यसलाई मुल्याङ्कन पक्कै गर्नेछ । समयक्रममा भएका गल्ती/कमजोरीलाई सम्वादको माध्यमबाट सुल्झ्याइ गैरआवासीय नेपालीको गरिमालाई जीवित राख्नुपर्ने अवस्था हाम्रो अगाडि आएको छ । सङ्घभित्र भएका हरेक विवादलाई लिएर फेरि पनि पार्टीको भरिया बनेर परराष्ट्र जाने, जान लगाउने पद्दति निर्माण गर्दै गइयो भने यसको घाटा समग्र सङ्घलाई पर्ने निश्चित छ । आज एक जनाको निवेदनमा निर्देशन दिने परराष्ट्रले भोलि हजारौँ निवेदनमा छुट्टाछुट्टै निर्देशन दिने अवस्था आउन सक्छ । यसैले, गैरआवासीय नेपाली सङ्घभित्र भएका विवादलाई यसैको दायराभित्र रहेर सुल्झाउनका निमित्त दबाब सिर्जना गर्न सम्पूर्ण विश्वभर रहेका हाम्रा गैरआवासीय नेपाली सङ्घसँग आवद्ध मित्रहरूलाई आग्रह गर्दछु ।

जय मातृभूमि !

(सुवेदी गैरआवासीय नेपाली संघ (एनसीसी) डेनमार्कका पूर्वअध्यक्ष हुन् ।)