काङ्ग्रेस सांसदलाई एक पूर्वकाङ्ग्रेसको खुल्लापत्र !

काङ्ग्रेस सांसदलाई एक पूर्वकाङ्ग्रेसको खुल्लापत्र !


✍ राजेन्द्रप्रसाद पाठक

काङ्ग्रेसका सांसद महोदयहरू ! तपाईंहरूलाई पङ्क्तिकारले ‘माननीय’ विशेषण लगाएर सम्बोधन गर्न सकिरहेको छैन । किनकि, देशको प्रजातान्त्रिक संसदीय इतिहासको सबैभन्दा पुरानो गरिमामय पार्टी नेपाली काङ्ग्रेसलाई महामानव बीपी कोइरालाले दुर्उद्देश्य सिद्धिका लागि जन्म दिनुभएको थियो भन्ने मलाई लाग्दैन । ‘देशको लागि योजना बनाउँदा किसानलाई सम्झनु, देशलाई सङ्कट पर्दा एकमुट्ठी माटो हातमा लिएर सुँघ्नु, जस्तो वासना आउँछ अनि कानले सुन्नु, जे आवाज आउँछ त्यसपछि सोही माटो छातीमा राख्नु र मनलाई सोध्नु, मनले जे भन्छ सोहीअनुरुप निर्णय लिनु’ भन्ने संस्थापक नेता बीपीबाबुलाई बिर्सिसक्नुभएको त छैन होला नि !? कि नवोदय गराइएका ‘झिल्के’ले तपाईंहरूको दिमागमा बालुवा भरिसके ? यदि भविष्यमा काङ्ग्रेसको हालत यस्तै होला भन्ने कल्पना गरेका भए बीपीबाबुले यो दलको कल्पना पनि गर्दैनथे होलान् !

जे होस्, आज तिनै महान् विचारकको फोटो भित्तामा टाँस्ने ढोँग गरेर भएपनि देशको योजना बनाउँदा ठुला घराना भनिने फिरङ्गी ब्यापारीलाई सोधेर तपाईंहरू योजना बनाउने गर्नुहुन्छ । तिनै देश हडपेर विदेशमा मिलाउने अभिलाषा बोकेर आउने छद्मभेषीलाई सोधेर निर्णय लिनुहुन्छ । आ-आफ्ना सन्तान-दरसन्तानले खोलेको ब्यापारलाई भन्सार माफीमिनाहा दिलाउनुहुन्छ । उसैगरी बजेट तयार पार्नुहुन्छ । बजेट बनाउँदा उसकै मुन्सीलाई साक्षी राखेर सोधनी गरेर काम गर्नुहुन्छ । यस्ता देशघाती आचरणमा रमाइरहेका तपाईंहरूलाई आदरार्थी सम्बोधन गर्नपनि शर्म लाग्छ- ‘तिमी’ सम्बोधन नै उचित होला !

तिमीहरू किसानका नाममा छुट्याइएको अनुदान सके आफै नसके तिनै राष्ट्रचुसुवा ब्यापारीसँग मिलेर उनैले बनाएको नाममात्रको कृषि कम्पनीलाई दिलाउँछौ । एउटा राजा हटाएर सयौँ राजा खडा गर्ने षडयन्त्रको मतियार बनेका तिमीहरूले हजारौँ राजकुमार जन्मायौ । देश स्विजरल्याण्ड बनाउँछौँ भनेर तिमीहरू जस्ताले भाषण शुरु गरेको पनि झण्डै पचहत्तर वर्ष भइसकेछ । अब त देश बनाउनु भन्दा बरु ‘बनिबनाउ’ देशतिरै सन्तान-दरसन्तानका लागि घर सम्पत्ति ब्यापार ब्यवसायका साथै नगद सुनचाँदी चल सम्पत्ति सार्नै उचित हुने सम्झेर होला तिमीहरूका सबैजसो परिवारजन विदेशतिरै फड्को मारिसके । अब त देश दोहन गर्न तिमीहरूमात्र राजनीतिका नाममा उधुम मच्चाइरहेका छौ । आफूलाई संसदीय ब्यवस्थाका मसिहा ठान्नेहरू आफू र आफ्ना दाजु-भाउजुका कर्तुतसहितको कार्यदर्पण हेरेर छिःछिः भन्नु त कता हो कता उल्टै हिजो जन्मिएको प्युसोले अलिअलि मात्र भएपनि दुराचारीहरूलाई कार्वाही गर्छु भनेर तात्दा उत्साह भर्नुको साटो उसैविरुद्ध हर्कत देखाउँछौ, आफैले रचेको ब्यावस्थामाथि धावा बोल्दै संसद् ठप्प पार्दैछौ त ! के हो तिमीहरूको चाला ? अझै लाजशरम लागेन आफूले गर्न नसकेको काम अरुले नै गर्दिराखेको छ । कुचोले बढार्नु थियो हावाले उडाइदिने भयो.. ठिकै छ भन्नुपर्नेमा…!? यस्तो नालायकीपन देखाउने गुरूज्ञान तिमीहरूलाई कसले दियो ? फेरिपनि सम्झाउन चाहन्छु, तिमीजस्तालाई के खाँचो भन्ने सम्झौला ! किनकि हाम्रो चार पुस्ताले बनाएको पार्टी हो काङ्ग्रेस । तिम्रा भाउजुको दाइजोमा आएको दल होइन, ख्याल राख !

आजसम्म काङ्ग्रेसले भ्रष्टाचारीलाई कार्वाही गरेन बरु उल्टै प्रोत्साहन दिनेमात्र काम गऱ्यो । भविष्यमा प्रतिष्पर्धी बन्न सक्ने आफ्ना साथीभाइहरूलाई सामान्य कारण देखाएर डाम्ने मात्र काम गरेको छ काङ्ग्रेसले । हुन त अपवाद बाहेक आजसम्म देखिएका अधिकांश दलहरूका उच्च पदासिन ब्यक्तिहरूको पहिलेको र अहिलेको दिनचर्याको मुल्याङ्कन गर्दा सबैजसो नेताहरू भ्रष्टाचारी नै हुन् भन्दा फरक परोइन । उनिहरूको सम्पत्ति छानवीन गर्ने हो भने यस्तै नै परिणाम आउने हो ! भ्रष्टाचारीलाई एकपछि अर्काे गर्दै पालैपालो कार्वाही गर्नका लागि समर्थन गर्नुभन्दा उसले पनि चोऱ्यो यसले पनि चोऱ्यो, त्यसले पनि चोरेकै हो, तैँले पनि चोरेकै छस्, हामीले पनि देशको ढुकुटीबाट चोर्न पाउनुपर्छ भन्नेजस्तो बहसपैरवी पो गर्दैछौ त संसद् भवनमा ! के हो महासय ? आफ्नो कार्यअवधिमा तिम्रा दाइ-भाउजुलगायत तिमीहरू जस्ता सबै भ्रष्टाचारीलाई कारवाही गर्ने अधिकार ‘झिल्के’लाई छ । बरु सक्थ्यौ र तिमीहरूको नियत तथा योजना सही भैदिएको भए, यदि भ्रष्टाचारी नै हो भन्ने लागेको भए तिम्रो शासनकालमा प्रमाण जुटाएर उनीजस्तालाई कारवाही गर्न कसले रोकेको थियो र ? जनताले रोकेका त होइनन् । भविष्यमा पनि सक्छौ भने आफ्नो पालामा गरेर देखाउ ! सक्दैनौ भने भविष्यकाले कार्वाही गरेर देखाउनेछन्, हेक्का राख !

जनताले विश्वास गरेर यदि त्यो ठाउँमा हामी जस्तालाई पुऱ्याइदिए भने प्रमाण पुऱ्याएर हामी नै गरौँला, तर यस्ता नालायकीपन काङ्ग्रेस पार्टीलाई सुहाउँदैन, सुहाएन.. काङ्ग्रेसी महोदय ! यस्तो गिरेको व्यवहार गर्ने सोचविचारले खोलिएको दल होइन काङ्ग्रेस । राणाको १०४वर्षे जहानियाँ शासन ढालेको दल हो । काङ्ग्रेसलाई राणाजस्तो जहाँनियाँ बन्ने छुट छैन । तिम्रा भाउजु, तिम्रा भाइ-भतिजा, भान्जाभाञ्जी, सालासाली, रखौटी आदिलाई संसदमा भर्ती गर्ने थलो नबनाउ ! सक्छौ तत्-तत् स्थानमा बसेर सो स्थानको न्याय गर होइन भने त्यस गरिमामय स्थानमा बसेर देश र जनता दोहन गर्ने तिमीहरूलाई छुट छैन । सावधान ! अबको सचेत जनताले भोली सडकमा समेत उभिन नसुहाउने तुल्याइदेलान् ।

उमेरले भन्दापनि ब्यावहार र काम गराइले युवापन देखाउ, अन्यथा इतिहासले थुक्नेछ । समय हरदम बलियो हुन्छ । ब्यक्तिविशेषको पकडमा समय चल्दैन महाशय ! अहिलेको सरकारलाई ब्यभिचारी र भ्रष्टाचारीलाई कार्वाही गर्न समर्थन गर । यदि यो सरकारभित्र पनि भ्रष्टहरू छन् भन्ने लाग्यो भने अब पुनः एक वर्षपछि अर्काे सरकार गठन हुने नियति नै बनिसकेको छ, त्यतिबेला बाँकी रहेका छुटफुटहरूलाई कार्वाही गरौला ! आफू पनि बचौँला भनेर ‘जो चोर उसकै ठुलो स्वर’ नगर, डढेलो लागिसक्यो अब यस्तो दुर्उद्देश्य राखेर कोहीपनि बच्नेवाला छैन । तिमीहरूले देशको श्रोत र सार्वजनिक पद-प्रतिष्ठा बेचेर आर्जन गरेको ढुकुटी एकदिन जनताले वापस लिने नै छन् । बरु समयमै जान-अनजानवश आफूले दोहन गरेको रकम इमानदारीका साथ समयमै राष्ट्रिय कोषमा फिर्ता गर, बुद्धको देशका जनताले क्षमा दिन सक्ने शक्ति राखेका छन् । होइन भने जनताको रगतपसिनाबाट भत्ता खाँदै घाँटीको नशा फुलाएर भ्रष्टाचारीको पक्षपोषण गर्ने काम नगरेकै जाती होला ! यस्तै दुर्बुद्धिमा रह्यौ भने तिमीहरूको ‘जयनेपाल’को नाराले सराप्ने छ ।

जय होस् !

तिमीहरूकै पूर्वसहयात्री अधिवक्ता राजेन्द्रप्रसाद पाठक !