राष्ट्रिय संग्रहालयको इतिहास

राष्ट्रिय संग्रहालयको इतिहास


इतिहास

✍ सुनिल उलक

वि.सं. १८७२ मा आफूले जितेको ठूलो भूमि गुमाउँदै सुगौली सन्धी गर्न बाध्य भएपछि मुख्तियार भीमसेन थापा एक किसिमले विक्षिप्त भएका थिए । देशभित्र आफ्नो विपक्षमा आवाज उठ्न थालिसकेको थियो । यस्तैमा वि.सं. १८७६ मा भीमसेन थापाले बिष्णुमतीपूर्वमा लगन र बिष्णुमतीपश्चिममा छाउनीमा भवन बनाउन लगाए । यी भवनमध्ये लगनको भवनमा उनी बढी बस्थे भने छाउनीमा निकै कममात्रै बसेका थिए ।

वि.सं. १८८१ मा भीमसेन थापाले यश भवनलाई शास्त्रागारमा परिवर्तन गराएर छाउनी शिलखानाका रूपमा परिणत गराएका थिए । छाउनी शिलखानाका रूपमा पुराना हतियारहरू संग्रह गरियो । विभिन्न युद्धमा जफत भइ आएका हतियारहरू तथा देशमा रहेका सैनिक प्रयोजन बाहेकका हतियारहरू समेतको ब्यवस्थापन गर्न छाउनी शिलखाना खोलिएको थियो भने अन्य हतियार गोदामका रूपमा राख्न लगन शिलखानाको प्रयोग गरिएको थियो ।

वि.सं. १९१४ मा यस शिलखानाका हाकिमका रुपमा कप्तान मेहरमानलाई बनाइएको थियो । भोट युद्धमा लुटिएका हतियारहरू पनि शिलखानामा नै राखिएको थियो । कप्तान मेहरमानपछि यसका प्रमुखका रुपमा पृथ्वीबहादुर खत्री रहे । यो शिलखानालाई पछि शिलखाना म्यूजियमका रूपमा परिवर्तन गरियो । चन्द शम्शेरको समयमा शिलखाना म्यूजियम (Arsenal Museum) नामाकरण भए पनि सर्वसाधारणको लागि भने खुला भएको थिएन । वि.सं. १९८३ बाट १९९५ सम्म केशर शम्शेर प्रमुख रहेर शिलखाना संग्रहालयमा संग्रहित सामग्री बढे पनि सर्वसाधारणलाई अवलोकन गर्न भने छुट थिएन । श्री ३ को बिशेष अनुमति पाएकाहरूले मात्र संग्रहालय अवलोकन गर्न पाउँथे ।

वि.सं. १९९५ मा शिलखाना संग्रहालयको नाम परिवर्तन गरेर नेपाल संग्रहालय (The Nepal Museum) राखियो । यसका प्रमुखका रुपमा मृगेन्द्र शम्शेरले नियुक्ति पाएका थिए । मृगेन्द्र शम्शेर केशर शम्शेरका भतिजा थिए, दाजु बबर शम्शेरका छोरा । यसर्थ केशर शम्शेरको साथ र सहयोग पूरै रह्यो । वि.सं. १९९५ पौष ७ गतेबाट नेपाल संग्रहालय नामाकरण भएको यस संग्रहालय वि.सं. १९९५ फागुन १ गतेबाट सर्वसाधारणका लागि पनि खुला भयो । यसलाई अवलोकन गर्ने शुल्क बालक तथा विद्यार्थीहरूका लागि एक आना र वयस्क व्यक्तिका लागि दुई आना तोकियो ।

वि.सं. १९९५ मा नै बेलायतबाट फर्केका कृष्ण शम्शेरले बेलायतमा बेलायत म्यूजियममा काम गरिरहेका शिवनारायण सेनलाई नेपाल ल्याएर संग्रहालयमा जागीर लगाइदिए । वि.सं. १९९५ भदौ ७ गतेबाट संग्रहालयमा रहेका शिवनारायण सेनले शुरुमा त राम्रै गरेका थिए । त्यही समय नेपालमा कला तथा उद्योग प्रदर्शनी पनि भएको थियो । वि.सं. १९९६ को असोज-कार्तिकमा छाउनीमा रहेको नेपाल म्यूजियम परिसरवरपर पचास भन्दा बढी स्टलहरू राखेर ठूलो प्रदर्शनी गरिएको थियो ।

वि.सं. १९९९ मा आइपुग्दा श्री ३ जुद्ध शम्शेरले नयाँ भवन बनाउन लगाएर त्यस भवनमा जुद्ध जातीय कलाशालाका रूपमा केही सामग्री राखेर नेपाल म्यूजियमलाई केही ठूलो बनाइदिए । यसरी दुई भवनमा संग्रहालयमा असंख्य सामग्री संकलित गरिएको थियो ।

२००३ सालमा तत्कालीन नेपाल संग्रहालयका प्रमुख शिवनारायण सेनले विदेशमा प्रदर्शन गर्न संग्रहालयका केही महत्त्वपूर्ण सामग्रीसहित विदेश गएका सेन स्वदेश फर्केनन् । साथै उनले लगेका सामग्रीहरू पनि कहिल्यै नेपाल फर्किएन । साथै ती सामग्रीहरू फर्काउने पहल पनि नेपाल सरकारले कहिल्यै गरेन ।

२००३ सालमा सेनले सङ्ग्रहालय छोडेर गएपछि उनको ठाउँमा विनोद विहारी मुखर्जीलाई नियुक्त गरियो । २००५ सालमा उनले पनि जागिर छोडेपछि केही वर्ष सो पद खाली रह्यो । देशमा प्रजातन्त्र आगमन भएपछि २००८ सालमा चन्द्रमानसिंह मास्केको नियुक्ति भयो । मास्के २०१९ सालसम्म सो पदमा रहे ।

२०१९ सालसम्म संग्रहालय विभागअन्तर्गत रहेको यो संग्रहालय २०१९ पछि पुरातत्त्व विभागको अन्तर्गत राखियो । २०२४ सालमा यस संग्रहालयको नाम परिवर्तन गरेर राष्ट्रिय संग्रहालय राखियो । जुन अध्यावधि छ । २०१९ सालमा विभाग परिवर्तन भएपछि रमेशजंग थापाको नियुक्ति भयो ।

२०३३ सालमा महेन्द्र स्मृति भवन थपिएर तीनवटा भवन भयो । जहाँ शुरुमा महेन्द्र स्मृति संग्रहालयको रुपमा रहे पनि हाल भने बौद्ध कला संग्रहालयका रूपमा रहेको छ ।

२०४९ सालमा नेपाली र जर्मन पूरातत्वविदहरूले पाँच वर्ष लगाएर मुस्ताङको गुफामा रहेको चिहानहरूको उत्खनन् गरि गहिरो अध्ययन र अन्वेषण गर्दा माटो र काठका भाँडाकुँडा, मानव अस्थिपञ्जरहरू र छालासहितको सात महिनाको शिशुको ‘ममी’ फेला पारेको थियो । २५०० वर्ष पुरानो सातमहिने शिशुको ‘ममी’ कैयौँ वर्ष पुरातत्त्वको एउटा कोठामा रहेको थियो । हाल सो ‘ममी’ सर्वसाधारणले अवलोकन गर्न सक्ने गरि ब्यवस्थापन गरिएको छैन ।

साथै जङ्गबहादुरले बेलायतबाट ल्याएको गिद्ध छापाखानाका सामग्री गोदाममा रहेको छ । यसलाई जोडेर सर्वसाधारणका लागि प्रदर्शन गर्नु उपयुुक्त हुने भन्दै गिद्ध छापाखानाका सामग्री जोड्नका लागि राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई पङ्क्तिकारले अनुरोध गरेको थियो । वहाँको टोली पुगेर अध्ययन गर्दा सामग्रीहरू नै हराएको हुँदा जोड्न सम्भव नभएको जानकारी पाइयो ।

नेपालमा प्रचलन भएका मुद्राहरू पहिलेदेखि नै संग्रहित थिए । हाल छुट्टै ब्यवस्थापनसहित राष्ट्रिय मुद्रा संग्रहालय पनि यसै परिसरमा थपिएको छ । समग्रमा राष्ट्रिय संग्रहालय नेपालकै गौरवमय इतिहासको साक्षी रहेको संग्रहालय भएकोमा दुई मत नरहला ।