साढे ६७ लाख बढीका सामानसहित पाँचवटा ट्रक नियन्त्रणमा

साढे ६७ लाख बढीका सामानसहित पाँचवटा ट्रक नियन्त्रणमा


पर्सा प्रहरीले ठूलो मात्रामा भन्सार नतिरी नेपाल भित्र्याएका सामानसहित पाँच वटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा विलविजक शंकास्पद देखिएको तथा बिलबिजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको ६७ लाख ६१ हजार ५ सय ९४ रुपैयाँका सामान बरामद गरेको हो । खाद्यान्न, औषधिसमेत लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज-८ को घण्टाघर स्थित सडकखण्डबाट ना३ख ७६५६ र प्र३–०३–००१ख ००९८ नम्बरको मालवाहक ट्रकमा खाद्यान्न, खुद्रा र प्याजहरू लोड गरी वीरगञ्जबाट चितवन र मकवानपुरतर्फ जाँदै गरेको अवस्थामा २९ लाख ४८ लाख ४ सय १३ रुपैयाँ वीरगञ्ज-२५ चण्डालचोक स्थित सडकखण्डबाट बीआर०५ जी९९९२ नम्बरको पिकअप गाडीमा कुर्ता सुरवाल लोड गरी काठमाडौतर्फ जाँदै गरेको अवस्थामा १५ लाख ८४ हजार २१ रुपैयाँबराबरका सामान बरामद भएको हो ।

वीरगञ्ज-१६ रजतजयन्ती चोकबाट वेवारिसे अवस्थामा हार्डवेयर मोटरपार्टस ४ लाख रुपैयाँ र वडा ९ रेल्वे रोड स्थितबाट चक्लेटहरू १० कार्टुन ५२ हजार रुपैयाँका सामान बरामद गरेर बिरगञ्ज भन्सारलाई प्रहरीले बुझाएको छ । वीरगञ्जकै गण्डक सडकखण्डबाट ना३ख ३७४ र ना३ख ४८७७ नम्बरको मालवाहक ट्रकमा खाद्यान्न तथा खुद्रा सामानहरू लोड गरी वीरगञ्जबाट पोखरा र चितवनतर्फ जाँदै गरेको अवस्थामा १७ लाख ७७ हजार १ सय ६० रुपैयाँका सामान पनि बरामद भएका छन् ।