लाभको पदमा बसेका राजनीतिकर्मी र उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न लोसपाको माग

लाभको पदमा बसेका राजनीतिकर्मी र उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न लोसपाको माग


६ महिनाभित्र विधान अधिवेशन र एक वर्षमा महाधिवेशन गर्ने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।

महोत्तरीको बर्दिवासमा बसेको लोसपाको केन्द्रीय कमिटी बैठकपछि निर्णय सार्वजनिक गर्न जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष महन्त ठाकुरले जिल्लादेखि वडासम्म पार्टीको पुनःगठन गरी सुदृढीकरण अभियान चलाउने बताए ।

लोसपा वर्तमान सत्ता–गठबन्धनमा छैन । सरकारमा रहँदा लोसपा संविधान संशोधन, नागरिकता समस्या, मधेश आन्दोलनकारीमाथि चलाइएको मुद्दाबारे मौन थियो । तर वर्तमान सरकार तथा गठबन्धनमा सहभागी नभएको लोसपाले पुनः ती मुद्दा उठाउने निर्णय गरेको छ ।

अध्यक्ष ठाकुरले वर्तमानमा अपुरो संविधान संशोधन, आमाको नामबाट नागरिकता प्रदानसहितका नागरिकता समस्या समाधान गर्न र मधेश आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिनुपर्ने माग सरकारसँग गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको उनले बताए ।

राजेन्द्र महतोले पार्टी छोडेपछि पार्टीलाई हित नै भएको जिकिर गर्दै अध्यक्ष ठाकुरले भने, ‘पार्टीभित्र बसेर पार्टीको विना कुनै अनुमति लिएर कार्यक्रम गर्छ कोही भने त्यो गए के हुन्छ ?’ महतोको अभियानले मधेसमा कस्तो प्रभाव पार्छ त्यो पछि देखिने उनको भनाइ थियो ।

सङ्घीय गठबन्धनमा नरहे पनि मधेस सरकारमा संलग्न रहेको प्रश्नमा अध्यक्ष ठाकुरले प्रदेश र सङ्घ फरक–फरक व्यवस्था रहेकाले सङ्घकै नजरले सबै ठाउँमा हेर्न नहुने तर्क गरे ।

विगतदेखि अहिलेसम्म लाभको पदमा बसेका राजनीतिकर्मी र उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न पनि लोसपाले माग गरेको छ ।

photo: rss