भारत नयाँदिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

भारत नयाँदिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार


नयाँदिल्ली (भारत)का मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई त्यहाँको अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय (इडी)ले गिरफ्तार गरेको छ । बिहीबार मुख्यमन्त्री निवासबाट केजरीवाललाई पक्राउ गरिएको हो । पक्राउ परेका केजरीवाललाई आज शुक्रबार नै पीएमएलए अदालतमा पेश गरिन लागिएको पीटीआईले जनाएको छ ।

मदिरा नीति हेरफेर मुद्दा सम्बन्धमा सोधपुछका लागि इडीको टोली बिहीबार केजरीवालको निवासमा पुगेको थियो । स्रोतहरूका अनुसार टोलीले उनको निवासमा खोजतलास गरेको थियो ।

दिल्ली उच्च अदालतले अन्तःशुल्क नीति मुद्दा सम्बन्धमा जबर्जस्ती कारबाहीबाट केजरीवाललाई अन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि इडीको टोली सोधपुछका लागि उनको निवास पुगेको बताइएको छ । आपका कार्यकर्ताहरूले मुख्यमन्त्री केजरीवालको निवासबाहिर भेला भइ गिरफ्तरीविरुद्ध प्रदर्शन गरेका छन् ।

बहालवाला मुख्यमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेपछि राजनीति तरङ्गित हुन पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।