हिमालयन रिइन्स्योरेन्स विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर

हिमालयन रिइन्स्योरेन्स विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर


हिमालयन रिइन्स्योरेन्स लिमिटेडले बहुप्रतिष्ठित रेटिङ एजेन्सी A.M. Best बाट हालै मात्र प्राप्त गरेको B+ रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ ।

यसका लागि कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ । सो देशहरुमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा अष्ट्रेलिया जस्ता प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्गप्रशस्त हुने बताइएको छ ।

केही महिना अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक FRN number प्राप्त गरेको कम्पनीले भारतमा शाखा विस्तार गरेसँगै केही वर्ष भित्रै भारतबाट अन्दाजी एक हजार करोड (दश अर्ब) बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने अपेक्षा कम्पनीले लिएको छ ।

कम्पनीेको हालै सम्पन्न तेश्रो वार्षिक साधारणसभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको जोखिम वहन गरेको क्षमता समेत बढेर जाने जसको कारणले विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप टेवा पुग्ने देखिन्छ । कम्पनीले अपेक्षा अनुसार विदेशबाट पुनर्बीमा व्यवसाय आर्जन गर्न सकेमा देशको लागि अमूल्य विदेशी विनियम भित्र्याउन सफल मात्र नभई कम्पनीले जुन ‘Taking Nepal to The World’ भन्ने नारा बाकेको छ, सो नारा बमोजिम नेपाललाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सफल हुने निश्चितप्राय रहेको अर्थज्ञाताहरु बताउँछन् ।