प्रचारमा बाम एकता, ब्यवहारमा विभाजन !

प्रचारमा बाम एकता, ब्यवहारमा विभाजन !


एकीकृत समाजवादीले माओवाद परित्याग नगरेसम्म पार्टी एकताका लागि छलफल नै नगर्ने भनेको छ भने जसपाले पार्टीको नाममा नेकपा रहेसम्म पार्टी एकताका लागि वार्ता नगर्ने भनेको छ । कुनैपनि पार्टीले माओवादी केन्द्रसँग पार्टी एकताको वार्ता नै गर्न नमानेपछि सो पार्टीको नेतृत्वले रणनीति फेरेको देखिएको छ ।
✍ डा. केशव देवकोटा

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गत फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन गर्नुका साथै मन्त्रिपरिषद् पुनर्गठन गरेपछि बाम एकता हुने प्रचारलाई तीव्रता दिइएको छ । तर, ब्यवहारमा भने विभाजनका प्रयासहरू भइरहेका छन् । बाम एकताका लागि सिद्धान्तका बारेमा छलफल भएको हुनु पर्दछ । मुख्यतः रणनीतिका बारेमा सहमति कायम नभएसम्म कुनैपनि समूहका बीचमा पार्टी एकता हुनै सक्दैन । त्यस्तो एकता भयो भने पनि त्यो टिकाउ हुँदैन ।

जस्तो कि, यसअघि एमाले र माओवादी केन्द्रका बीचमा कसरी पार्टी एकता भएको थियो र, कसरी फेरि विभाजन भयो भन्ने कुरा सबैसामु ताजा उदाहारण रहेको छ । पछिल्लो समयमा पुनः उक्त दुई पार्टीका बीचमा एकता हुने जुन प्रचार गरिएको छ, त्यसको कुनै आधार देखिएको छैन । किनकि एमाले र माओवादी केन्द्र दुवै संसद्वादी कम्युनिष्ट पार्टी भएपनि उनीहरूका बीचमा ऐतिहासिकरूपले नै कतिपय भिन्नताहरू रहेका छन् ।

यतिबेला बाहिरबाट हेर्दा माओवादी केन्द्रले एमालेलाई विभाजन गराउन अनेक प्रयास गरिरहेको तर एमाले भागिरहेको देखिएको छ । अबका दिनमा पनि एमाले र माओवादी केन्द्रका बीचमा खास-खास विषय र प्रसङ्गमा ‘कार्यगत एकता’ हुन सक्छ, तर ‘पार्टी एकता’ हुन सक्दैन । एमालेका अध्यक्ष केपी ओलीले केही अन्तरवार्तामा आफूहरू ‘सैद्धान्तिक कम्युनिष्ट’ नभइ ‘पपुलिष्ट कम्युनिष्ट’ भएको बताइसक्नुभएको छ । अर्कातिर माओवादी केन्द्रका अध्यक्षलगायतका नेताहरू अझैपनि आफूहरू क्रान्तिकारी भएको र जनयुद्धको विरासतबाट आएको बताउन छाड्नुभएको छैन । तत्कालीन जनयुद्धकालीन सुप्रिम कमाण्डर दाहाल यतिबेला तेश्रोपटक देशको प्रधानमन्त्री हुँदा पनि माओवादीका ४० सूत्रीय माग पूरा नगरेको र पूरा गराउने प्रयाससम्म पनि नगरेको, बरु ती मागविपरीतका गतिविधि गरेको घटनाले धेरै कुराहरू स्पष्ट भएका छन् ।

माओवादी केन्द्रभित्रै पुराना नेता तथा कार्यकर्ताहरूलाई समेत किनारा लगाउने एक प्रकारको अभियान नै चलेको छ । कम्युनिष्ट पार्टीमा चाकडी प्रथाको थालनी भएपछि पार्टीका प्रमुखले आफूसँग सामान्य असहमति राख्नेहरूलाई पनि किनारा लगाउने प्रचलन बढेको हो । ०५२ सालमा जनयुद्ध शुरु भएदेखि नै अन्य कम्युनिष्ट पार्टीलाई समाप्त पार्ने कार्यहरू पनि साथसाथै भएका थिए । नेकपा (माओवादी)ले अन्य कम्युनिष्ट पार्टीलाई निषेध गर्ने अभियान अगाडि बढाउँदै जाँदा आफ्नै पार्टी भित्रपनि एउटा क्षेत्रको समितिले अर्को क्षेत्रको समितिलाई निषेध गरेका घटनाहरू भए । झापाका केही माओवादी कार्यकर्ता इलाममा पुग्दा ‘अर्काको इलाकामा बिनाअनुमति किन आएको’ भन्ने कुरा औपचारिकरूपमै उठेको थियो । यो एउटा उदाहरण मात्र हो । त्यस्ता घटनाहरू अन्यत्र पनि भए । यस्तै खालका घटनाले माओवादीलाई जटिलतामा धकेल्दै लगेपछि फेरि संसदीय ब्यवस्थामै फर्कनु परेको थियो ।

माओवादीले जनयुद्ध परित्याग गरेर संसदीय राजनीतिमा प्रवेश गरेपछि पनि अन्य कम्युनिष्ट पार्टीलाई सखाप बनाउन विशेष अभियान नै सञ्चालन गरेको थियो । विभिन्न नेतालाई विभिन्न पार्टीसँग सकेसम्म वार्ता गरेर आफूमा मिलाउने नभए विभाजन गराएर जसरी भएपनि छिन्नभिन्न बनाउने जिम्मेवारी नै दिइएको थियो । भनिन्छ अन्य कम्युनिष्ट पार्टीहरू समाप्त गर्नका लागि बजेटको समेत ब्यवस्था गरिएको थियो । त्यसक्रममा नेकपा (एकीकृत) र नेकपा (संयुक्त) लगायतका पार्टीहरूलाई विभाजन गराइयो । त्यसरी विभाजन गराएर माओवादीमा प्रवेश गराइएकामध्ये हाल केही नेता तथा कार्यकर्ता क्रान्तिकारी कम्युनिष्ट पार्टी र केही माओवादी केन्द्रमा रहेका छन् । औपचारिक र विधिवतरूपमा पार्टी एकताको वार्ता भइरहेका बेला डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट केही नेताहरूलाई मात्र फुटाएर माओवादी केन्द्रमा प्रवेश गराउने प्रयास हुँदा नयाँ विवादको सिर्जना भएको छ । नेसपाको एक समूह र माओवादी केन्द्रका अध्यक्ष लगायतका नेताहरूबीच यही चैत ३ गते एकता गर्ने सहमति भएपछि चैत ४ र ५ गते बसेको नेसपाको बैठकले अध्यक्षद्वय मध्येका एक अध्यक्ष महीन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादव लगायतलाई अलग गरेर पार्टी पुनर्गठन गरेको छ । जसले गर्दा एकातिर नेसपा विभाजन हुन पुगेको छ भने अर्कातिर पुष्पकमल र डा. भट्टराई बीचको पुनर्मिलनको कथा सदाका लागि अन्त्य भएको छ ।

यसअघि पूर्वमाओवादी घटकबीच एकता गर्ने भन्दै माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महरासहितका नेतालाई जिम्मेवारी दिएको थियो । जसअनुसार नेत्रविक्रम चन्द समूहलाई विभाजन गराइएको थियो । जसबाट एकथरीले नेकपा (बहुमत) को नाममा अर्को समूह खडा गरेर तत्कालीन क्रान्तिकारी माओवादीसँग पार्टी एकता गरिसकेका छन् । सोही एकतापछि क्रान्तिकारी कम्युनिष्ट पार्टी बनेको छ । नेत्रविक्रम चन्दहरूसँग २०७९ फागुनदेखि एकताको प्रयास भएपनि हालसम्म त्यसले सार्थकता पाउन सकेको छैन । उक्त एकताको प्रयास गराउने महरा हाल सुन काण्डमा गिरफ्तार भएको अवस्था छ भने चन्द समूह माओवादी केन्द्रसँग पार्टी एकता पनि गर्न नसक्ने र अलग पनि हुन नसक्ने अवस्थामा पुगेको छ । जसलाई समाजवादी केन्द्रको नाममा ‘होल्ड’गर्ने काम भएको छ ।

नेत्रविक्रम चन्दहरूसँग २०७९ फागुनदेखि एकताको प्रयास भएपनि हालसम्म त्यसले सार्थकता पाउन सकेको छैन । उक्त एकताको प्रयास गराउने महरा हाल सुन काण्डमा गिरफ्तार भएको अवस्था छ भने चन्द समूह माओवादी केन्द्रसँग पार्टी एकता पनि गर्न नसक्ने र अलग पनि हुन नसक्ने अवस्थामा पुगेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीले माओवादी केन्द्रलाई दक्षिणपन्थी पार्टी र सो पार्टीका अध्यक्ष दाहाललाई प्रतिक्रियावादी खेमाका नेता करार गरिसकेका कारण पार्टी एकताको सामान्य वार्तासमेत हुन सकेको छैन । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएयता माओवादीबाट विभाजन भएर गठन भएका दर्जनौँ समूहहरू रहेका छन् । कतिपय समूहले त फेरि नेकपा ( माओवादी) नामाकरण गरेर अपहरण र लुटपाटलाई निरन्तरता दिएको देखिएको छ, जसले समाजमा माओवादीप्रति नकारात्मक धारणा बढाउने काम गरिरहेको छ ।

माओवादी केन्द्रले पछिल्लो समयमा पूर्व माओवादीका कम्तीमा पाँचवटा समूहसँग पार्टी एकता गर्ने योजना बनाएको प्रचार गरिए पनि त्यो सम्भव भइरहेको छैन । उसले गत वर्ष नै मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, डा. भट्टराई नेतृत्वको नेसपा, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, विश्वभक्त दुलालको वैज्ञानिक समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीसँग पार्टी एकता गर्ने योजना बनाएको भनेपनि ती सबै समूहले पार्टी एकता गर्न मानेका छैनन् । माओवादी केन्द्रले एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपासँग पनि पार्टी एकता गर्ने प्रयास गरेको थियो, जसमध्ये एकीकृत समाजवादीले माओवाद परित्याग नगरेसम्म पार्टी एकताका लागि छलफल नै नगर्ने भनेको छ भने जसपाले पार्टीको नाममा नेकपा रहेसम्म पार्टी एकताका लागि वार्ता नगर्ने भनेको छ । कुनैपनि पार्टीले माओवादी केन्द्रसँग पार्टी एकताको वार्ता नै गर्न नमानेपछि सो पार्टीको नेतृत्वले रणनीति फेरेको देखिएको छ । अब कुनैपनि पार्टीका नेता÷कार्यकर्ता, समूह, अंश आएपनि पार्टीमा प्रवेश गराउने भनिएको छ । त्यसैअनुसार आफूसँग समाजवादी मोर्चामार्फत कार्यगत एकतामा रहेको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कतिपय नेता तथा कार्यकर्तालाई उक्त पार्टीहरूबाट अलग गरेर माओवादी केन्द्रमा प्रवेश गराइएको छ । हालै नेसपालाई विभाजन गराएर केहीलाई प्रवेश गराउने क्रम शुरु गरिएको छ ।

भनिन्छ, अन्य कतिपय पार्टीमा विभाजन गराउनका लागि मिसनहरू परिचालित गरिएका छन् । हालै भएको सत्ता गठबन्धनको परिवर्तनमा राष्ट्रिय जनमोर्चाले समेत माओवादी केन्द्रका अध्यक्षलाई समर्थन गरेन भने संसदमा विश्वासको मत पनि दिएन । माओवादी केन्द्रले गत वर्ष पुस १० गतेपछि पटक-पटक पार्टी सुदृढीकरणका लागि अभियानहरू सञ्चालन गर्दै आएको छ, तर कुनै पनि अभियान सफल हुन सकेनन् । यतिसम्म कि उक्त अभियानमा परिचालित नेताहरूले उपत्यकाका तीन जिल्लामा समेत आफ्नै पार्टीका सबै नेता तथा कार्यकर्ताहरूलाई भेट्ने, सदस्यता नवीकरण गराउने र समेट्ने प्रयास गरेनन् । पार्टीका केन्द्रिय सल्लाहकार तहका नेताहरूलाई समेत भेटेर छलफल गर्ने कामहरू भइरहेका छ्रैनन् । पछिल्लो समयमा माओवादी केन्द्रका सत्ता र शक्तिमा पुगेकाहरूको एउटा र नपुगेका तथा पुग्न नपाएकाहरूको अर्को समूह बनेको छ । जिल्ला इन्चार्ज बनेका कतिपय नेताहरू आफ्नै जिल्लाका अन्य नेताहरूको टोलिफोनसमेत नउठाउने तहमा रहेका छन् । कतिपय जिल्लामा माओवादी केन्द्रका नेताहरूकै बीचमा बोलचालसमेत बन्द भएको देखिएको छ ।

उपरोक्त सबै घटनाक्रमले गर्दा नेपालको कम्युनिष्ट आन्दोलनमा माओवादी केन्द्र अभिसाप बन्दै गएको छ । पार्टीका हरेक कार्यक्रममा अध्यक्षले नै पार्टीलाई विधि र पद्धतिअनुसार चल्न नदिएको आवाज उठ्ने गरेको छ । यस्तो अवस्थामा एमाले र माओवादी केन्द्र एउटै सत्ता गठबन्धन र सरकारमा सामेल भएकै आधारमा बाम एकता हुन्छ भनेर प्रचार गर्नु आफैमा नक्कली कुरा भएको छ । बरु माओवादी केन्द्रसँग दोहोऱ्याएर सत्तामा पुगेका कारण एमालेमा फेरि विभाजनको अवस्था आउन सक्ने सम्भावना छ । नेपालमा पछिल्लो समयमा कतिपय नेताबाट कम्युनिष्टलाई छिन्नभिन्न बनाउने र देशलाई आर्थिक, सामाजिक र राजनीतिकरूपमा अलगथलग बनाएर विघटनमा पुऱ्याउने अथक प्रयासहरू भइरहेका छन् । जसप्रति सबै क्षेत्र र पक्ष सजग हुनुपर्ने अवस्था छ ।