भिक्षु आनन्द : शान्ति स्थापनादेखि सांसदहुँदै बौद्धधर्म प्रचारमा सक्रिय

भिक्षु आनन्द : शान्ति स्थापनादेखि सांसदहुँदै बौद्धधर्म प्रचारमा सक्रिय


  • सुरेन्द्र सुवेदी, काठमाडौं

राजधानीको चन्द्रागिरी बलम्बुमा नकर्मी परिवारमा जन्मिएका एक व्यक्ति बौद्ध धर्मप्रति आकर्षित भएर नेपालको १०वर्षे लामो द्वन्द्वकालमा शान्ति स्थापनार्थ क्रियाशीलहुँदै संविधानसभामा दुई पटक सांसदसम्म भए । उनको हालको दैनिकी भनेको श्रोत व्यक्तिको रुपमा बौद्ध धर्मको व्याख्या, प्रचार र शान्ति स्थापनार्थ प्रवचन दिने पढाउने भइरहेको छ । उनी हुन् बलम्बुमा २०२४ सालमा हेरारत्न र योगमाया नकर्मीका चौथो सन्तानका रुपमा जन्मिएका भिक्षु आनन्द ।

बलम्बु निम्न माद्यमिक विद्यालयमा प्राथमिक र मंगलोदय मावि थानकोटमा कक्षा ८ मा पढ्दैगर्दा बौद्ध धर्मप्रति आकर्षण बढेर त्यो पढाइ त्यही बीट मार्दै उनी काठमाडौं-१७ को संघाराम भिक्षु तालिम केन्द्रमा बौद्ध धर्मको तालिम लिन थाले । यसलाई प्रारम्भिक बौद्ध दीक्षा (श्रामणेर) भनिन्छ । उनी अर्थात् भिक्षु आनन्द बौद्ध धर्मको उच्च शिक्षा लिन २०३९ सालमा श्रीलंका गए । त्यहाँ १७ वर्ष बसेर पूर्वीय धर्म र दर्शनसम्बन्धी प्राचिन भाषा संस्कृत, पालि र सिंहल अध्ययन गरे । यी तीन भाषाभाषाअन्तर्गत साहित्य, इतिहास, वाग विद्यालगायतमा श्रीलंकाका तत्कालिक राष्ट्रपति डीबी विजयतुङ्गबाट पण्डित उपाधि प्राप्त गरे । कोलम्बो विश्वविद्यालयबाट बौद्ध अध्ययन, समाजशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक पूरा गरे । साथै पालि सह बौद्ध विद्यालयबाट बौद्ध समाज दर्शनमा चार वर्षे अनर्स उपाधि उनले हासिल गरे ।

तत्पश्चात बौद्ध सह पालि विश्वविद्यालयबाट स्नाकोत्तर पूरा गर्दै विनयाचार्य र सद्धर्मचार्य उपाधि पाए । उनले केन्या, बेलायतसमेतका देशमा बौद्ध धर्मको प्रचार पनि गरे । २०५८ मा नेपाल फर्किए । केही समय नेपाल बसेर पुनः श्रीलंका जाने उनको तयारी थियो । त्यही समयमा त्रिभूवन विश्वविद्यालयमा बौद्ध अध्ययन विभाग खुलेको थियो । त्यहाँ बौद्ध धर्मको शिक्षा दिने प्राध्यापक थिएनन् । विभागले त्यहाँ पढाइदिन ठूलो आग्रह गरेपछि उनले परीक्षणको रुपमा एक कक्षा लिए । विद्यार्थीदेखि अन्यले उनको पढाइ मन पराए । र, उनलाई तत्कालका लागि आंशिक शिक्षकका रुपमा राखियो । २०६० मा उनी उपप्राध्यापकमा स्थायी भए ।

त्यो समय माओवादी युद्धले उग्ररूप लिएको थियो । उनले विश्वमा शान्तिको सन्देश दिने बौद्ध जन्मेको देशमा अशान्ति भएको मन पराएनन् । अनि शान्ति स्थापनार्थ अभियान चलाउनुपर्ने निचोडमा पुगेर श्याम श्रेष्ठ, देवेन्द्रराज पाण्डे, पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, सोनाम साथी, सुन्दरमणि दीक्षितसमेत भएर ‘शान्तिका लागि नागरिक ऐक्यवद्धता समूह’ गठन गरे । त्यो समूहको अध्यक्ष उनै भिक्षु आनन्द बने । यो समूहले शान्ति स्थापनार्थ शान्ति ऱ्याली, अन्तरक्रिया, गोलमेच सम्मेलन, डेलिगेसन, विभिन्न देशका दूतावासमा जाने र शान्ति स्थापनाका लागि दबाब दिने काम गऱ्यो ।

नेपाल सरकार र माओवादीबीच शान्ति वार्ता गराउन मुख्य पहल गर्ने यो समूहले काठमाडौंको असनको एक घरमा रामबहादुर थापा बादल, कृष्णबहादुर महरा र मातृका यादवसँग भेटेर शान्ति वार्ताको प्रस्ताव राख्यो । रत्नपार्कमा १ लाख जनाको हस्ताक्षर गरेर सरकारलाई बुझायो । त्यो पहिलो हस्ताक्षर यिनै भिक्षु आनन्दले गरेका थिए । अनि तेश्रो वार्ता नेपालगञ्जमा भयो । १२बुँदे भारतमा । त्यसपछि काठमाडौंमा १९ दिने आन्दोलन राजसंस्थाको पतन र विघटित संसद् पुनःस्थापना भयो ।

संसद् पुनस्र्थापित भएपछि उनलाई शान्ति स्थापनार्थ उनको योगदानको कदरस्वरुप नेकपा माओवादीले सांसद बनाउने प्रस्ताव राख्यो । सांसद बन्नैपर्ने भएपछि त्रिभूवन विश्वविद्यालय बौद्ध अध्ययन विभागको उपप्राध्यापक पदबाट राजीनामा दिए । अनि संविधानसभामा संसद बने । त्यो संसद्ले संविधान जारी गर्न नसकेपछि दोश्रो संविधानसभामा पुनः माओवादीबाटै दोश्रो पटक २०६९ सम्म सांसद बने ।

अहिले उनको दैनिकी भनेको धार्मिक कार्यमा सहभागी हुनु, बौद्ध धर्मको शिक्षाका लागि श्रोत व्यक्तिका रुपमा काम गर्नु र विश्वका धेरै देशमा पुगेर त्यहाँका विश्वविद्यालयहरुमा बौद्ध धर्म र शिक्षा सिकाउनु भइरहेको छ । पछिल्लो समय देशका ठूला भनिएका पार्टीले देश, जनता र राष्ट्रियता नसोचेकोले उनी नागरिक शक्ति, नेपालमा आवद्ध भएका छन् । त्यो संगठनमा उनी केन्द्रीय सदस्य छन् ।