जसले दुर्गा प्रसाईंलाई समेत ठगी गरे…

जसले दुर्गा प्रसाईंलाई समेत ठगी गरे…


विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई निकै चतुर पात्र ठान्नेहरूको जमात सानो छैन । तर यस्ता चलाख व्यक्ति पनि ठगीमा परेको खुल्न आएको छ । प्रसाईंलाई ८४ लाख रुपैयाँ ठगी गरेको खुलेको हो ।

दुर्गा प्रसाईंलाई ठगी गर्ने काठमाडौं-३ महाराजगञ्ज (हाल : कागेश्वरी मनोहरा-१० पेप्सीकोला) बस्दै आएका ४४ वर्षीय केदार अर्याल हुन् । अर्याललाई काठमाडौं प्रहरी अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार बिहान ९ बजे राजधानीकै सिनामंगल गोल्डेन गेटबाट पक्राउ गरेको छ ।

अर्याल पम्मी देवानको हजुरआमाको झापा दमकमा भएको तीन बिगा जग्गा ग्लोबल आईएमई बैंकमा रहेकोमा बैंककै प्रतिनिधि बताएर प्रलोभनमा पार्दै कारोबार गरेकोमा ५० लाख बैंकिङ कसुर मुद्धामा फरार थिए ।

यस्तै, वरुण थापाको जाहेरीले अर्यालसमेत भएको ठगी मुद्धामा अर्याललाई एक वर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना हुने काठमाडौं जिल्ला अदालतले २०७६ मंसिर ३० गते फैसला सुनाएको थियो ।

अर्यालको अर्काे बैंकिङ कसुर मुद्धा हाल बारा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ । उनले नेपाल टेलिकमको पत्रमा केरमेट गरेर लिखत सम्बन्धी कसुरसमेत गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए ।

मेडिकल व्यवसायी प्रसाईंको लेनदेन मुद्धामा झापा जिल्ला अदालतबाट ८४ लाख बिगो र २ दुई वर्ष कैदको फैसला भएको छ । अर्यालले अन्यलाई पनि ठगी गरेको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरी जनाउँछ ।