जिस्क्याएको आरोपमा कुटपिट गराएर मृत्यु

जिस्क्याएको आरोपमा कुटपिट गराएर मृत्यु


आरोपी १६ वर्षपछि थापा पक्राउ

  • सुरेन्द्र सुवेदी

नेपाल कमर्स क्याम्पस काठमाडौंको मिनभवनका प्राध्यापक धर्मराज विष्टको हत्यामा मुख्य योजनाकार महिला रहेको हत्याको १६ वर्षपछि खुल्न आएको छ ।

ललितपुरको तत्कालीन इमाडोल गाउँ विकास समिति बस्ने ३३ वर्षीय प्राध्यापक विष्टको २०६४ असार २६ गते ललितपुरकै शंखमूलमा कुटपिटबाट हत्या भएको थियो । विष्ट हत्याकी मुख्य योजनाकार धादिङ गंगाजमुना गाउँपालिका-७ स्थायी घर भएर हाल ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्दै आएकी ४१ वर्षीया सविता भन्ने सोभिता थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ । विष्ट हत्याको अनुसन्धान कार्यालयकी प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरक्षा केसी नेतृत्वको टोलीले गर्दै आएको थियो ।

विष्ट र सविताबीच सामान्य चिनजान रहेको तर विष्टले सबितालाई बारम्बार जिस्काउने तथा मानसिक तनाव दिने गरेपछि थापाले भाइ विनोद, विनोदका साथी राजिव पाण्डे र रञ्जन खड्कासमेत भएर विष्टलाई रड, इटा र ढुंगाले कुटपिट गरेर गम्भीर अवस्थामा पुऱ्याएका थिए । गम्भीर घाइते विष्टको उपचारकै क्रममा मृत्यु भएको थियो ।

विष्ट कुटपिटमा संलग्नहरु पक्राउ परेर कैद भूक्तान गरिसकेका छन् भने थापा फरार थिइन् । थापालाई सोमबार पक्राउ गरेर प्रहरीले मंगलबार सार्वजनिक गर्दै ललितपुर जिल्ला अदालतमा बुझाएको कार्यालयका प्रहरी प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए ।