पेस्तोल र गोलीसहित दुई जना भारतीय पक्राउ

पेस्तोल र गोलीसहित दुई जना भारतीय पक्राउ


भाग्नेक्रममा प्रहरीले गोली चलायो

सर्लाहीमा पेस्तोल र गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये एक व्यक्ति भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

जिल्लाको बरहथवा नगरपालिका-६ मगर टोलबाट पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार सितामढी थाना सैयाराग्राम सैयारा बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्रकुमार राउत छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त टोलीले सोही ठाउँ डेरा गरी बस्ने जितेन्द्रको कोठाबाट उक्त हातहतियारसहित पक्राउ गरेको हो ।

साथै, उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीतर्फ लैजाने क्रममा बसबरिया गाउँपालिका-६ पोखरीयास्थित बाटोमा जितेन्द्र गाडीबाट भाग्न खोजेपछि प्रहरीले गोली फायर गरी नियन्त्रणमा लिएको छ । साथै गोली लागेर घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।