अनलाइन क्यासिनो गेम प्रहरीको टाउकोदुखाइ बन्दै

अनलाइन क्यासिनो गेम प्रहरीको टाउकोदुखाइ बन्दै


तीन युवती र एक युवा पक्राउ

  • सुरेन्द्र सुवेदी

क्यास एप एप्लिकेसनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने क्रम बढ्दो छ । यो अहिले प्रहरीको टाउकोदुखाइ बन्दै गएको पाइन्छ । क्यास एप, फायरकिरिनसमेतका एप्लिकेसनबाट धेरै प्रकारका खेलमा ‘अनलाइनमार्फत बाजी राख्दा जितिन्छ’ भन्ने विश्वास दिलाउँदै नागरिकहरु ठग्नेक्रम बढ्दो रहेको काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मी बताउँछन् ।

यो क्यासिनो गेममा निश्चित रकम राख्न लगाएर हारजित हुने र आफूले लाभ लिने उद्देश्य राख्दै सट्टावाजी गराई खेल खेलाउने गरेको पाइन्छ । अपराध अनुसन्धान कार्यालयले यस्तो गेम खेलाउने ३ जना युवतिलाई पक्राउ गरेको छ । अचम्मत ती यु्वतीले यस्तो गेम खेलाउन ५ वटा ल्यापटप र ११ वटा मोवाइल प्रयोग गरेको भेटिएको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रेग्मीका अनुसार काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका-१० स्थायी घर भएर हाल काठमाडौंको चावहिल मनमैजु बस्दै आएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल-८ घर भएर चावहिल मनमैजु बस्ने २५ वर्षीया सारङ्गा गुरुङ र खोटाङको बाहुनीडाँडा-६ घर भएकी काठमाडौं गोकर्णेश्वर-८ वेशीगाँउ बस्दै आएकी २३ वर्षीया पूर्णिमा राई पक्राउ परेका हुन् । यी तीन युवतीसँग नुवाकोटको शिवपुर-१ घर भएर हाल काठमाडौं गोकर्णेश्वर नामगेल बस्दै आएका २८ वर्षीय तेम्बा लामा पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरु चार जनाबाट देशमा अवैध मानिने क्यासिनो गेम खेलाउने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दै काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । थप अनुसन्धान गर्न प्रहरी परिसर काठमाडौंमा उनीहरुलाई बुझाएको प्रवक्ता एसपी रेग्मीले घटना र विचारलाई बताए ।