म त एक ‘टपरे’ रैछु !

म त एक ‘टपरे’ रैछु !


यस्तै-यस्तै उट्पट्याङ कुरा गर्ने म त एक ‘टपरे’ रैछु-

कुश र दुबो दैलोमा विद्युतीय दुष्प्रभाव हटाउँछ भन्छु
रजस्वलामा दूध खाए पाठेघरमा समस्या बढाउँछ भन्छु
गाईको गोबरले घर लिपे किटाणु प्रवश गर्दैन भन्छु
गोमुत्रले कब्ज र कफ को समस्या आउन दिँदैन भन्छु
यस्तै-यस्तै उट्पट्याङ कुरा गर्ने म त एक ‘टपरे’ रैछु

अक्षयतृतीयामा सातुसर्बत खाए पित्त समन गर्छ भन्छु
तिलचाकु तरुल माघे सक्रान्ती वर्षैभरि मधुमेह हट्छ भन्छु
ओखर ख्वाऊ तिहारमा दाजुभाइको मेमोरी बढ्छ भन्छु
क्वाँटी खाए जनैपूणिर्मामा सबै न्युट्रिसन पुग्छ भन्छु
यस्तै-यस्तै उट्पट्याङ कुरा गर्ने म त एक ‘टपरे’ रैछु

छब्बीस दिन वर्षभरी निराहार बस्नु शरिरलाई फाइदा भन्छु
श्रावण महिना सबै साकाहारी बन्नु शरीरलाई काइदा भन्छु
तुलसी र पिपल पुजे प्रशस्त अक्सिजन पाइन्छ भन्छु
तामसी राजसी भोजनले स्व जीवन सत्यनास गराइन्छ भन्छु
यस्तै-यस्तै उट्पट्याङ कुरा गर्ने म त एक ‘टपरे’ रैछु

काँश या पित्ले भाडा रोज्नु खाना पकाउन भन्छु
निरोगी भइ बाँच्न आल्मुनियमका भाँडा डाँडा कटाउन भन्छु
आइरनचक्की चाहिन्न किटको कराइमा पकाउँदा पुग्छ भन्छु
तामाको गाग्री भए पानीमा पिएच कायम हुन्छ भन्छु
यस्तै-यस्तै उट्पट्याङ कुरा गर्ने म त एक ‘टपरे’ रैछु !