एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत


नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएकी छन् ।

यसअघि कार्यवाहक अध्यक्ष रहेकी बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् ।

निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकाङ्क्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन-८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिए । पार्टीलाई बलियो बनाउन सबैले जोड दिनुपर्ने बताउँदै उनले गुटबन्दीबाट मुक्त भएर काम गर्न आग्रह गरे ।

गत बिहीबार नवौँ जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गरेका थिए ।