कांग्रेसका मन्त्रीले पद नछोडेपछि मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

कांग्रेसका मन्त्रीले पद नछोडेपछि मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन


मधेस प्रदेश सरकारमा सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएछ । मधेश प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता सरोज यादव मन्त्री नियुक्त भएका छन् । यादवलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै देश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका छन् ।

मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएसँगै सरकारबाट कांग्रेस औपचारिकरुपमा बाहिरिएको छ । नयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा कांग्रेस सरकारमै थियो ।

कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । एमालेमा को मन्त्री बन्ने भन्नेबारे विवाद बढेपछि पहिलो चरणमा सरोजयादवलाई मात्रै मन्त्री बनाइएको एमाले मधेस प्रदेशले जनाएको छ ।

मुख्यमन्त्री यादवले केन्द्रीय सत्ता गठबन्धनमा भएको फेरबदलअनुसार नै प्रदेश सरकार पनि चल्ने भएकाले तत्काल एमाले संसदीय दलका नेता यादवलाई मन्त्रीका रुपमा सपथ ग्रहण गराएको र बाँकी मन्त्री भने सहमतिपछि नियुक्त गरिने मुख्यमन्त्री यादवले बताएका छन् ।

एमालेले कति र कुन मन्त्रालय लिने विषयमा हालसम्म सहमति नभएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले एमालेसहितका दलको बैठक बसेर छिट्टै निष्कर्ष निकालिने बताए । नवनियुक्त मन्त्री यादवले मुख्यमन्त्रीसँग एमालेलाई चार मन्त्री र एक राज्यमन्त्री दिने सहितको सहमति भइसकेको जानकारी दिए ।

कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री, गृह तथा सञ्चार मन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंह सरकारमा सहभागी भएका थिए ।

photo: rss