महाएकता गर्दै कम्युनिष्टहरू : देश तीव्र ध्रुवीकरणतर्फ

महाएकता गर्दै कम्युनिष्टहरू : देश तीव्र ध्रुवीकरणतर्फ


यतिबेला केपी अलोकप्रिय भएको र एमालेभित्र पनि उनका आलोचकहरू बढ्दै गएकोले प्रचण्डमा अब पार्टी एकीकरण गर्दा कम्युनिष्टहरूको एकमात्र ‘मसिहा’ बन्ने विश्वास बढेको छ र, सत्ता गठबन्धनलाई स्थायित्व दिन माधव नेपाललाई जसरी भएपनि पार्टी अनुशासनको डोरीले बाँध्नुपर्ने गणितीय अवस्था रहेकोले पनि एकता प्रक्रियालाई द्रुत गति दिइएको छ ।

नेपालका वामपन्थी कम्युनिष्ट नेताहरू सम्पूर्ण वाम दलहरूबीच एकीकरण गर्ने महाअभियानमा जुटेका छन् । क्रान्तिकारी कम्युनिष्ट आवरणमा रहेर अर्कै शक्तिको सेवा गर्दै आएको आरोप लागेका प्रचण्ड र माओवादीको नाम सुन्नसमेत नचाहने नेताको पहिचान बनाएका केपी शर्मा ओली कम्युनिष्ट एकताको पक्षमा उभिएपछि एकताको नयाँ परिस्थिति निर्माण भएको हो । प्राप्त जानकारीअनुसार कम्युनिष्टहरूको महाएकता आगामी एक महिनामै गर्ने गरि तयारी भइरहेको छ।

प्रचण्ड र माधव नेपालहरू पहिले नै नेकपाको निरन्तरता चाहन्थे, उनीहरू केपी ओलीरहित नेकपाको पक्षमा थिए । तर त्यसबेला परिस्थिति केपीको यति अनुकुल रह्यो कि प्रचण्ड र माधव आफै साइड लाग्नुपर्‍यो । तर यतिबेला केपी अलोकप्रिय भएको र एमालेभित्र पनि उनका आलोचकहरू बढ्दै गएकोले प्रचण्डमा अब पार्टी एकीकरण गर्दा कम्युनिष्टहरूको एकमात्र ‘मसिहा’ बन्ने विश्वास बढेको छ र, सत्ता गठबन्धनलाई स्थायित्व दिन माधव नेपाललाई जसरी भएपनि पार्टी अनुशासनको डोरीले बाँध्नुपर्ने गणितीय अवस्था रहेकोले पनि एकता प्रक्रियालाई द्रुत गति दिइएको छ ।

माधवलाई अनुशासनको जन्जीरले नबाँध्ने हो भने कुनै पनि बेला काङ्ग्रेसले उनलाई प्रधानमन्त्री बनाएर लैजानसक्ने ठहर प्रचण्ड र केपीले गरेका छन् । त्यसैले लेनिन दिवसको अवसर (अप्रिल २२ तारेख) पारेर बैशाख १० गते नै महाएकताको घोषणा हुनसक्ने सम्भावना देखापरेको छ । अहिले तत्काल माओवादी र माधव नेपालबीच पार्टी एकीकरण गरेर माधवलाई गठबन्धनबाट फुत्कन नदिने र, बैशाख दश गतेसम्ममा एमाले र माओवादी समेत एउटै बन्ने गृहकार्य अत्यन्तै गुप्त र तीव्र गतिका साथ चलिरहेको छ।

सत्ता गठबन्धन बदलिने दिन (फागुन २१) सम्म केपी ओली माधवबिना नै अघि बढ्ने मानसिकतामा थिए । त्यसैले आगामी चार वर्षको कार्यकालमा दुई ∕ दुई वर्ष प्रचण्ड र केपी प्रधानमन्त्री बन्नेगरी सहमति भएको थियो । माधवको पार्टीका अधिकाङ्श सांसद आफ्नो नियमित सम्पर्कमा रहेकोले तिनलाई साथ लिएर काम चलाउने, माधवलाई नलिने भन्ने मत केपीको थियो र, प्रचण्ड पनि केपीकै कुरामा सहमत थिए । तर माधव नेपाल सामेल नभएको अवस्थामा सरकारमा सहभागी हुन जसपाले पनि खुट्टा कमाएको महसूस गरेपछि प्रचण्ड र केपी माधवलाई जसरी भएपनि सरकारमा समेट्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

सुरुमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कुराकानी गरेर क्रुद्ध बनेका माधवलाई केही मत्थर तुल्याएपछि दोस्रो पटक प्रचण्डसहित भएर नारायणकाजी र माधव नेपालबीच वार्तालाप भएको थियो । उक्त वार्ताका क्रममा माधवले बारम्बार केपीसङ्ग जान नसकिने बताएपछि श्रेष्ठ र प्रचण्डले माधवसङ्ग टेलिफोनवार्ता गराएका थिए । त्यसपछि केपी माधवसङ्ग निरन्तर सम्पर्क र सम्वादमा रहँदै आएका छन् । केपीले आफूलाई काङ्ग्रेसबाट प्रधानमन्त्री बन्न प्रस्ताव आएको भन्ने बनावटी सन्देश सुनाएर माधवलाई तर्साउँदै काङ्ग्रेसको प्रस्तावमा आफू नअलमलिएको र तपाईं पनि अलमलिनुपर्ने कारण नरहेको स्पष्ट पारेका थिए । पार्टी एकीकरण गर्ने र माधव नेपाललाई पनि प्रधानमन्त्री बनाइने विश्वाससमेत केपीले माधवलाई दिलाएका छन । वास्तवमा काङ्ग्रेसले केपीलाई होइन माधवलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो । जसपा रोकिएको भए माधव आफै प्रधानमन्त्री बन्ने सम्भावना प्रवल थियो।

महाएकीकरणलाई मूर्तरुप दिने उद्देश्यले एमालेले आगामी बैशाख ८, ९ र १० गते काठमाडौंमा प्रतिनिधि परिषदको बैठक राखेको छ । महाधिवेशनपछिको शक्तिशाली तहको उक्त बैठकबाट निर्णय गराएर नै महाएकता घोषणा गरिने सम्भावना रहेको छ। कुनै अप्रत्याशित कारणले अवरोध उत्पन्न भएन भने आगामी बैशाखदेखि नेपालमा एउटै कम्युनिष्ट पार्टी रहनेछ र, त्यसपछि कम्युनिष्ट पार्टीको रणनीतिक साझेदार पश्चिम र दक्षिण नभएर अरू नै हुनसक्ने सम्भावना छ।