राजा त्रिभुवनको शव र काट्टो खाने चलन

राजा त्रिभुवनको शव र काट्टो खाने चलन


इतिहास

यो कर्म राजाको स्वर्गारोहणपछि किन गर्नुपर्छ भन्ने कुनै शास्त्रमा उल्लेख गरेको भेटिँदैन, तर काट्टो खाने नाममा राजाको शवबाट निकालिएको हड्डीको थोरै धुलोलाई खानामा मिसाएर खुवाउने गर्दा मृतआत्माले दरबारमा दुःख दिँदैन भन्ने विश्वास थियो ।
✍ सुनिल उलक

२०११ सालको चैत्र ४ गते दिउँसोको १२ बजेर २५ मिनेट भएको थियो । गौचरमा भारतीय वायु सेवाको जहाज आइपुग्यो । चारैतिर रुवावासी र कोलाहलको आवाज सुनिन थाल्यो । जहाजको इञ्जिनको आवाज बन्द पनि भइसकेको थिएन, सेनाको ४० टोपको सलामीको पहिलो तोप पड्कियो । जहाजको ठूलो ढोका खुल्नासाथ चाँदीको ठूलो पालकीमा राजाको शव बाहिर निकालियो । यो पालकी त्यही थियो, जसमा यिनै राजा बालकमा राजा हुँदा शुभराज्याभिषेकमा बसेका थिए ।

मानिसहरुको रुवाइ टाढा टाढासम्म सुनिन्थ्यो । महिलाहरु पनि हाय जुजु गर्दै रोइरहेका थिए । गौचरदेखि पशुपतिसम्म हजारौँ महिला एवम् पुरुषहरु लामबद्ध आफ्नो प्रिय राजाको अन्तिम पटक दर्शन गर्न लालायित थिए । यो दुखद घडीमा उपत्यकाका बिसौँ हजार जनता यहाँ आइपुगेका थिए । राजालाई विष्णुको अवतार मान्ने देशमा आफ्नो जीवनको बाजी थापेर देशमा राणाहरुको एकतन्त्रिय शासन समाप्त पार्न सफल हुनुभएको हुँदा पनि यि राजा अझ बढि प्यारो भएका थिए ।

सबै नेपाली शोकमा डुबेका थिए । कतिपयले आफ्नो कपाल मुण्डन गरेका थिए । आफ्नो अविभावकको मृत्युको शोकमा सबैको आँखामा आँसु थियो । छालाको जुत्ता कसैले पनि लगाएनन् । कतिपयले सेतो वस्त्र नै लगाएर बसे । तेह्र दिनसम्म नुन बारे । राजाप्रति सबैको गहन आस्था यही समय देखिएको थियो । यता युवराज महेन्द्र कालो चश्मामा चुपचाप देखिन्थे । उनको आँखामा आँसु कसैले पनि देखेनन् । केही समयमा नै उनलाई नयाँ राजा बनाइयो । पारिवारिक कर्तव्य भन्दा पनि देशको कर्तव्यको लागि शोकमा डुब्न नसक्ने अवस्थामा थिए युवराज महेन्द्र ।

शव पशुपतिनाथ मन्दिर नजिकको बागमतीको आर्यघाटमा पुऱ्याइयो । बागमती किनारको सबै सिँढी फूलका मालाले ढाकिएका थिए । बिस्तारै शवलाई बागमती किनारमा राखिएको साँपको आकृती कुँडिएको ढुङ्गामा सुताइयो । खुट्टालाई बागमतीमा छुवाइयो, ताकि मृतआत्मा स्वर्ग पुगोस् । यसपछि ब्राम्हणले नाभीनिरको सानो टुक्रा मासु काटेर निकाले । यही तौलबराबरको सुनको सिक्का तौलिएर मासुको टुक्रालाई बागमतीको बिचमा रहेको सानो ढिस्कोमा गाडियो । त्यसमाथि दियो बालियो यसर्थ कि मृतआत्माले हेर्न सकोस् ।

त्यसपछि निधारको हड्डीको सानो टुक्रा निकालियो । यसलाई सुनको भाँडामा राखियो । यसरि निकालिएको हड्डीको टुक्राको दुई भाग बनाइयो । एक टुक्रा दरबार लगियो । अर्को टुक्रा बोकेर एक ब्राम्हण त्यहाँबाट रिडी जान हिँड्यो । ८ दिनको पैदल यात्रा हिँडेर कालीगण्डकी नदिको बीचमा यो हड्डीलाई गाड्नु पर्ने रहेछ । यता ब्राम्हणबाट शव जलाउने कर्मकाण्ड गर्न थालियो ।

शव दहनपछि मुख्य ब्राम्हणको रुपमा काशीबाट ल्याइएका श्रीकृष्ण भट्ट नै प्रमुख ब्राम्हणको रुपमा थिए । विगत एघार दिनदेखि उनको विशेष सत्कार दरबारमा गरिएको थियो । राजाको पलङमा सुत्ने राजाको कपडा लगाउने राजालाई मनपर्ने खाना भान्सामा विशेष रुपले पाक्थ्यो । यो सबै श्रीकृष्ण ब्राम्हणको अहोभाग्य झैँ लाग्थ्यो । तर कमैलाई थाहा हुन्थ्यो कि उनको भोजनमा स्वर्गारोहण भएका राजाको जल्दै गरेको शवको निधारबाट निकालिएको सानो हड्डीको टुक्रालाई पिसेर उनको खानामा मिसाइन्थ्यो ।

यो कर्म राजाको स्वर्गारोहणपछि किन गर्नुपर्छ भन्ने कुनै शास्त्रमा उल्लेख गरेको भेटिँदैन, तर काट्टो खाने नाममा राजाको शवबाट निकालिएको हड्डीको थोरै धुलोलाई खानामा मिसाएर खुवाउने गर्दा मृतआत्माले दरबारमा दुःख दिँदैन भन्ने विश्वास थियो । यसरी मृत राजाले झैँ दरबारमा रहँदा मृतात्मा ब्राम्हणमा सर्ने र पुण्य प्राप्त हुने मान्यता थियो ।

तेह्र दिन बितेपछि काट्टो खाने ब्राम्हणलाई यथासक्य खुशी बनाएर २० हजार नगद तथा २ लाखको जिन्सी, दुइवटा हात्ती र एक सजाइएको घोडा उपहार दिएर बिदा गरियो । अन्तिम दिन ब्राम्हण राजाको पोशाक लगाएर हात्तीमा चढेर थानकोट कटाइएको थियो । यसरी राजाको काट्टो खाने ब्राम्हणलाई राज्यबाट र जातबाट निकालिने गरिन्थ्यो । यस्ता ब्राम्हणले पछि कर्मकाण्ड गर्न पाउँदैनथे ।

हात्तीमा चढेर थानकोट जाने क्रममा बाटोभरि केटाकेटीहरु गिज्याउँथे । काट्टो खाने ब्राम्हण भनेर गिज्याएका थिए । साथै नेवार बच्चाहरु ढुङ्गाले हान्दै थिए । विदेशी पत्रकारहरु पनि यो अनौठो प्रक्रिया हेरेर बसेका थिए ।

राजाको काट्टो खाने प्रचलन कहिलेबाट भयो भन्ने कुनै जानकारी नभए पनि पृथ्वीनारायण शाहको काट्टो भने खनाल थरका नेपाली ब्राम्हणले खाएका थिए भन्ने लिखौट भेटिएको छ । तर पछि कुन समयदेखि काशीका भट्टलाई ल्याइयो कुनै उल्लेख भेटिँदैन । राजा त्रिभुवनको काट्टो भने काशीबाट ल्याइएका श्रीकृष्ण भट्टलाई खुवाइयो । त्यसपछि राजा महेन्द्रको समयमा पनि काट्टो खाने ब्राम्हण काशीबाट नै ल्याइयो । राजा महेन्द्रको काट्टो श्रीगणेश भट्टलाई खुवाइएको थियो, तर राजा वीरेन्द्रको समयमा भने काठमाडौं गौशाला बस्ने दुर्गाप्रसाद सापकोटालाई र, दीपेन्द्रको समय देवीप्रसाद आचार्यलाई काट्टो खुवाइयो । तर, अब भने ब्राम्हणले सम्भवतः कहिल्यै राजाको काट्टो खानुपर्ने छैन ।