गान्धी र स्टालिनको राष्ट्रप्रेम !

गान्धी र स्टालिनको राष्ट्रप्रेम !


‘नेताभन्दा पनि नेताको नीति र नियत चिन्नु जरुरी छ’

महात्मा गान्धीले गान्धीवादी लोकतन्त्रको सिद्धान्त बनाए । त्यस सिद्धान्तमा देशभन्दा ठूलो व्यक्तिलाई मानिन्छ । स्टालिनले साम्यवाद अँगाले । त्यसमा देशभन्दा ठूलो कम्युनिज्म सत्तालाई मानिन्छ ।
✍ खगेन्द्र गिरि ‘कोपिला’

महात्मा नभए पनि महात्मा भनिएका मोहनदास गान्धीको जन्म पोरबन्दर भनिने एउटा राज्यमा भएको थियो । जुन राज्यको अर्थतन्त्र र स्वतन्त्रतालाई अंग्रेजले बलपूर्वक आफ्नो हातमा लिएको थियो ।

मोहनदास गान्धीका बाबुबाजे जुनागढ भन्ने अर्को राज्यबाट सुखसुविधाको खोजीमा पोरबन्दर आएका थिए । उनका बाबुबाजेहरूले जुनागढ र पोरबन्दर दुइटै राज्यमा मन्त्री भएर लामो समयसम्म काम गरेका थिए । र, जुनागढ र पोरबन्दरको स्वतन्त्रता अंग्रेजको हातमा पुर्‍याउनमा छद्म भूमिका पनि खेलेका थिए।

भनिन्छ, अंग्रेजसित मिलेकोले पोरबन्दरका राजाभन्दा गान्धी परिवारसित धेरै सम्पत्ति थियो । त्यही भएर उनी बेलायत गएर पढ्न सकेका हुन् ।

आफ्नो सुखसुविधाको लागि आफ्नो मातृभूमि र राज्य नै त्याग्ने र अंग्रेजसित मिल्ने परिवारमा जन्मेकोले मोहनदास गान्धीमा पनि देशप्रेम थिएन । उनी देशभन्दा ठूलो मान्छेको अधिकारलाई मान्ने सिद्धान्त अंगालेर हुर्के बढेका व्यक्ति हुन् ।

महात्मा गान्धीले आफ्नो राज्य पोरबन्दरलाई स्वतन्त्र बनाउन कहिल्यै प्रयास गरेनन् । भारतका ५९४ वटा राज्यहरूको अस्तित्व समाप्त पारेर अर्कै देश बनाउनपट्टि लागे । उनको आफ्नो राज्य पोरबन्दरलाई भारत स्वतन्त्र भएको एक वर्षपछि सन् १९४८ मा भारतमा मिसाइएको थियो ।

उता सोभियत संघका शक्तिशाली शासक जोसेफ स्टालीन रुसमा नभएर जर्जिया भन्ने स्वतन्त्र देशमा जन्मेका थिए । जर्जियाले रुसबाट ठूलो संघर्ष गरेर सन् १९१८ मा स्वतन्त्रता पाएको थियो । तर जोसेफ स्टालिनले रुसको कम्युनिस्ट पार्टीसित मिलेर तीन वर्षपछि सन् १९२१ मा जर्जियालाई सोभियत संघमा मिसाइदिए । उनको त्यस कार्यको पुरस्कारस्वरुप सोभियत कम्युनिस्ट पार्टीले उनलाई महासचिवको पद दिएको थियो । त्यही पदको आधारमा उनले सोभियत संघमा तीन दशकसम्म शासन गरे । स्टालिन मरेको ३८ वर्षपछि मात्रै सन् १९९१ मा जर्जियाले स्वतन्त्रता पाएको थियो। सोभियत संघमा स्टालिनलाई कम्युनिस्ट नायक मानिए पनि जर्जियामा भने खलनायक र गद्दार मानिन्छ ।

महात्मा गान्धीले गान्धीवादी लोकतन्त्रको सिद्धान्त बनाए । त्यस सिद्धान्तमा देशभन्दा ठूलो व्यक्तिलाई मानिन्छ । स्टालिनले साम्यवाद अँगाले । त्यसमा देशभन्दा ठूलो कम्युनिज्म सत्तालाई मानिन्छ ।

तर आजभोलि गान्धी र स्टालिनका अनुयायीहरू पनि आफूलाई राष्ट्रवादी बनाउन र देखाउन खोजिरहेका देखिन्छन् । जसका आदर्श र प्रेरणाहरू नै आफ्नो देश र मातृभूमिप्रति समर्पित भएनन् भने उनका अनुयायीहरू आफ्नो देश र मातृभूमिप्रति समर्पित होलान् भनेर कसरी पत्याउनु ?

तसर्थ, हरेकले नेताभन्दा पनि नेताको नीति र नियत चिनिराख्नु पर्छ।