ज्वरो ! भ्रम र यथार्थ

ज्वरो ! भ्रम र यथार्थ


ज्वरो आफैमा कुनै रोग नभएर एक (रासायानिक) शारीरिक संकेत हो, जो शरीरमा रोगप्रतिरोधी क्रियाकलाप गरिरहेको हुन्छ । तर, यी संकेतहरू शरीरमा सदैव भाइरस संक्रमण या ब्याक्टेरियाको संक्रमण मात्र नहुन सक्दछन् । त्यसैले ज्वरोलाई सधै सामान्य रूपमा मात्र लिन हुँदैन ।
✍ सागर सुवेदी

एक स्वस्थ व्यक्तिको शरीरको तापक्रम सामान्य अवस्थामा ३६ देखि ३७ डिग्री सेल्सियससम्म हुने गर्दछ । ३७ देखि ३८.५ डिग्रीसम्मको तापक्रमलाई विशेष कारणले शारीरिक तापक्रममा वृद्धि (जसलाई ल्याटिनमा सुब फाइब्रिलिस) भएको मान्दछौँ । जब शरीरको तापक्रम ३८.५ डिग्रीबाट बढ्दै उकालो लाग्न थाल्छ तब मात्र यसरी बढेको तापक्रमलाई ज्वरो भनेर बुझिन्छ । साधारण अर्थ लगाउँदा ज्वरो आफैमा कुनै रोग होइन । साथै, सामान्य अवस्थामा यसको उपचार नै गर्नुपर्छ भन्ने पनि छैन । तर कतिपय अवस्थामा यसले शरीरमा भइरहेको गडबडीको गम्भीर सङ्केत गरिरहेको हुन्छ । त्यसकारण यसको निदानसमेत आवश्यक हुन्छ ।

ज्वरो किन आउँछ ?

विभिन्न उमेर समूहका व्यक्तिहरू र त्यसैमा पनि साना नानीबाबुहरूलाई सबैभन्दा बढी सताउने भनेको ज्वरो भनेर बुझ्ने गरिन्छ । धेरैजस्तो अवस्थामा ज्वरो आफैमा रोग नभएर एक शारीरिक संकेत हो भने मानव शरीरमा बाहिरी या भित्री आक्रमण हुँदा शरीरको सुरक्षाका निमित्त निर्माण हुने एक शारीरिक (रसायनिक) प्रतिक्रिया हो ।

प्रकृतिले मानव शरीरमा भएका हरेक अंग-प्रत्यङ्गहरूलाई काम गर्ने सवालमा विविध जिम्मेवारी बाँडेको हुन्छ । सोही जिम्मेवारीअनुरुप हाम्रा शरीरका अंग-प्रत्यङ्गले आ-आफ्नो तरिकाले काम गरिरहेका हुन्छन् । त्यसैअनुसार शरीरको बाहिरी र भित्री सुरक्षा (शरीरको रोग प्रतिरोधात्मक प्रणाली) सेतो रगत कोसिका (Leukocytes) को पनि भित्र पाइने रोग प्रतिरोधात्मक प्रणालीका विशेष कोसिकाहरू मध्ये Macrophages, Monocytes र Granulocytes भन्ने कोसिकाहरूले गर्ने गर्दछन् । यिनै कोसिकाहरू शरीरका रोग प्रतिरोधात्मक कोसिका भनेर चिनिन्छन् (शरीरलाई एउटा देश मान्ने हो भने त्यस मुलुकको राष्ट्रिय सेना जस्तै) ।

रोग प्रतिरोधात्मक कोसिकाले काम गर्ने अवस्था सिर्जना हुँदा शरीरको रसायानिक प्रतिक्रियाले शरीरको तापक्रमलाई बढाउँदै लैजान्छ र रोग प्रतिरोधात्मक प्रणालीलाई चलायमान (सक्रिय) बनाइदिन्छ । ज्वरोलाई सामान्य अवस्थाबाट हेर्दा के बुझ्न सकिन्छ भने शरीरमा (बाहिर या भित्र) केही गडबडी भइरहेको छ । अझ बुझ्दा शरीरमा विशेस गरेर कुनै सङ्क्रमणको शुरुवात भएको छ भन्न सकिने हुन्छ । ती सङ्क्रमण जे पनि हुन सक्छन् । सङ्क्रमणहरू मध्येमा धेरैजसो मानिसले अनुभव गर्ने भनेको जाडोको मौसममा अधिक हुने भाइरल संक्रमण हो । यो संक्रमणको अवस्थामा पनि यस्ता भाइरसलाई परास्त गर्न केही रगतमा परिसंचरण भइरहेका सेतो रक्तकोसिका र Lymph ग्रन्थीमा रिजर्ब रहेका रोगप्रतिरोधी कोसिका Macrophages, Monocytes र Granulocytes हरू सक्रिय बन्दछन्, यसरी सक्रिय बनेका कोसिकाहरू बढ्दो तापक्रममा मात्र राम्रोसँग लड्न सक्ने हुन्छन् । यसबाट के बुझ्न सकिन्छ भने ज्वरो आफैमा कुनै रोग नभएर एक (रासायानिक) शारीरिक संकेत हो, जो शरीरमा रोगप्रतिरोधी क्रियाकलाप गरिरहेको हुन्छ । तर, यी संकेतहरू शरीरमा सदैव भाइरस संक्रमण या ब्याक्टेरियाको संक्रमण मात्र नहुन सक्दछन् । त्यसैले ज्वरोलाई सधै सामान्य रूपमा मात्र लिन हुँदैन ।

यदि तीन दिनभन्दा बढी लगातार ज्वरो आइरह्यो भने या आएको ज्वारो अचानक बढ्यो (४० डिग्री भन्दा माथि) भने पनि ढिलो नगरी चिकित्सकसँग परामर्श लिन आवश्यक हुन्छ । त्यस्तै, एक दिन ज्वरो आउने, अर्को दिन आफै घट्ने र अर्को दिन फेरि आउने भयो भने या ज्वरोसँगै बान्ता आउने, पेट दुख्ने भएको खण्डमा ढिलो नगरी चिकित्सकको परामर्श लिनु पर्दछ । ज्वरोसँगै यस्ता लक्षणहरू घातक सङ्क्रमण या विविध रोगका लक्षण हुन सक्छन् ।

ज्वरो आउनेबित्तिकै औषधि खान हुन्छ या हुँदैन ?

यस सवालमा हामीले बुझ्नुपर्ने हुन्छ कि ज्वरो कति डिग्रीसम्म आउँदा कस्तो सावधानी अपनाउने ? सामान्य स्वस्थ व्यक्ति चिसोको कारण भाइरल संक्रमित भएको कारणले गर्दा ज्वरो आएको हो भन्ने प्रस्ट हुन्छ भने यस्तो अवस्थामा औषधी लिनुपर्छ भन्ने हुँदैन । औषधी सेवन गर्दा शरीरको स्वचालित प्रक्रियाले यसमा काम गर्न अवरोध गराउँदछ । अब हामीले मानौँ कि Macrophages, Monocytes र Granulocytes रोग प्रतिरोधात्मक कोसिकाहरूले उच्च तापक्रममा मात्र राम्रोसँग काम गर्न सक्ने हुन्छन् भने हामीले औषधि प्रयोग गरेर उक्त तापक्रमलाई जबर्जस्ती घटायौँ भने हाम्रा शरीरका यी रोगप्रतिरोधात्मक कोसिकाहरूले शरीर संक्रमण गराउने बाहिरी किटाणुहरूलाई पूर्ण परास्त गरिसकेका हुँदैनन् । औषधी सेवनको कारण हाम्रो ज्वरो कम होला तर संक्रमण चाहिँ रहिरहने अवस्था हुन्छ । त्यसैले यदि भाइरल ज्वरो हो भन्ने प्रस्ट छौँ भने शरीरलाई प्रशस्त आराम गर्न दिने साथै अरु अवस्था भन्दा बढी झोलिलो पदार्थ सेवन गर्ने । साथै तीन दिनसम्म पनि उक्त ज्वरो कमी नभएको अवस्था छ भने शरीर को अवस्था र बिरामीले महसूस गरेको ब्यथालाई हेरेर चिकिस्तकसँग परामर्श गर्ने ।

यहाँ प्रशस्त झोलिलो पदार्थ (पानी) किन पिउने भनिएको हो भने शारीरिक संक्रमणको अवस्थामा शरीरले उत्पादन गर्ने तापक्रमको कारण शरीर छिट्टै सुक्का (डिहाइड्रेड) भएर ज्यानसमेत तल-माथि पर्न सक्ने अवस्था सिर्जना नहोस् भनेर हो ।

कस्तो अवस्थाको ज्वरो सामान्य होइन ?

भाइरल ज्वरोमा केही सहायक लक्षणहरू सँगै आउने गर्दछन्, जस्तो- थुक निल्दा घाँटी दुख्ने, नाक बन्द हुने, नाकबाट पानीजस्तो तरल पदार्थ बगिरहने या खोकी लाग्ने या शरीरका सम्पूर्ण मांसपेशीहरू असहज तवरले दुख्ने ! यीमध्ये कुनै न कुनै लक्षण एक स्वस्थ व्यक्तिलाई छ भने सामान्यता वर्षको समय हेरेर सामान्य भाइरल ज्वरो हो या होइन छुट्ट्याउन सकिन्छ । यदि माथिका कुनै पनि लक्षणहरू बिना पनि ज्वरो आएको छ भने आराम गरेर बस्दैमा मात्र ज्वरो घट्ने भन्ने नहुन सक्छ । त्यसमाथि अझ ज्वरो आउँदै आफै घट्दै, या ज्वरोसँग बान्ता, पखाला लाग्ने, तल्लो या माथिल्लो पेटसमेत दुख्ने अथवा जोर्नी दुख्ने अवस्था भयो भने यसको कारणहरू फरक-फरक हुने गर्दछन् । यस्तो अवस्थामा यसको ठोस कारण एक चिकित्सकले विविध ल्याब परीक्षणपश्चात मात्र पत्ता लगाएर भन्न सक्ने हुन जान्छ । बाहिर हेरेर या भनेको लक्षणको आधारमा यस्तो हुन सक्छ भन्ने अनुमान लगाउने आफ्नो कुरा भयो तर ठोस रूपमा यसैको कारण ज्वरो आएको भनेर कसैले भन्न सक्ने अवस्था आउँदैन ।

कस्तो अवस्थामा चिकित्सकहाँ जाने ?

यदि तीन दिनभन्दा बढी लगातार ज्वरो आइरह्यो भने या आएको ज्वारो अचानक बढ्यो (४० डिग्री भन्दा माथि) भने पनि ढिलो नगरी चिकित्सकसँग परामर्श लिन आवश्यक हुन्छ । त्यस्तै, एक दिन ज्वरो आउने, अर्को दिन आफै घट्ने र अर्को दिन फेरि आउने भयो भने या ज्वरोसँगै बान्ता आउने, पेट दुख्ने भएको खण्डमा ढिलो नगरी चिकित्सकको परामर्श लिनु पर्दछ । यदि ज्वरोसँगै यस्ता लक्षणहरू घातक सङ्क्रमण या विविध रोगका लक्षण हुन सक्छन् ।

फार्मेसीमा औषधी बेच्न बसेकाहरूले तपाईंलाई के भएको बताउन सक्छन् ?

स्पस्ट भन्दा ‘सक्दैनन्’ ! तिनले केवल औषधी बेचेको आधारमा अनुमान गर्न सक्छन् । औषधि बेच्नेहरूलाई औषधिको नाम र यसको मूल्यको बारेमा ज्ञान हुन्छ नकि रोग निदान एवम् यसको उपचारको बारेमा ! त्यसैले तपाईंले सेवन गर्ने औषधि, औषधिपसलको बिक्रेता भन्दा कुनै चिकित्सकले सुझाव दिएको आधारमा सेवन गर्नुपर्दछ ।