कामाठिपुराको ब्यापार

कामाठिपुराको ब्यापार


ब्यङ्ग्योक्ति

✍ ज्ञानमणि भुर्तेल

ओहो ! उखान जी, अभिवादन !
ओहो ! जंगली जी, मेरो पनि लालसलाम छ है !!

अनि ! कताबाट आउनुभो त जंगली जी ?

मने ! कता बाट हुनु र ? उही त हो नि रत्नपार्कको पसलबाट फर्किंदैछु ! अनि तपाईं चैं कताबाट नि ?

मियाँका दौड मस्जिद तक भनेझैँ म पनि बिहान ठमेल बेलुका घर त हो नि ! उखान अंकलले आदतअनुसार उखानमै जवाफ फर्काउँदै जिज्ञासा राख्नुभो- ब्यापार बिजनेस कस्तो छ त जंगली जी ?

मने ! जेनतेन चल्दैछ भन्नुपर्ला ! बेलाबेलाको उथलपुथलले धरमर हिसाबले चल्दैछ !! अनि तपाईंको चैं कस्तो छ नि ?

कस्तो भन्नु र ? माकाफुँईं ताल छ ! आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भनेझैँ छ ब्यापार !! कहिले बैगुनी केटोले दुःख दिन्छ कहिले लैनो बाच्छो उफ्रिन्छ ! कहिलेकाहीँ तिमी पनि छिर्के हान्छौ ! उखान अंकल ‘तपाईं’बाट ‘तिमी’मा झर्नुभो !

जंगली अंकल पनि के कम ? मौका पर्दा लात हान्न पछि नपर्ने ! तुरुन्तै जवाफ फर्काउनु भो- तिमी चैं कम छौ र ? तित्राको मुखै बैरी भनेझैँ थुतुनो चलाउन सिपालु ! हाम्रो बिजिनेस बिगार्नमा तिम्रो थुतुनोको ठुलो भूमिका छ ! जंगली अंकलको फिर्ती जवाफले ‘दुईटा गोरु भेट हुँदा जुध्न थाल्छन्’ भन्ने उखान चरितार्थ हुने छाँटकाँट देखियो !

बटुवाको लर्को लाग्यो ! जंगली अंकल र उखान अंकलको सडकजात्राले सडक नै जाम होला जस्तो भो ! ट्राफिक आउनुपर्न अवस्था आयो ! दुई अंकलबीचको दन्तबजान रोकिने कुनै लक्षण देखिएन ! झनै बढ्दै गयो !

‘मेरो नाम लिएपछि कुल्ला गर्छु’ भन्ने तिमी नै हैनौ ? जंगली अंकल कुर्लिनु भो !

‘तिमी नि तिमी ! मेरो नामै किटेर त्यो त मान्छेको भाँडो नै हैन भन्दै रत्नपार्क थर्काउने चैं को नि ? मेरो थुतुनो मात्रै खत्तम तिम्रो त थुतुनो बेहोरा दुवै जंगली ! उखान अंकल पनि के कम ? जवाफ फर्काइहाल्नुभो !

दुई अंकलको दन्तबजानबाट प्रष्ट मापसेको लक्षण झल्किन्थ्यो ! भाषा सुन्दा/बुझ्दा उहाँहरूको वाणीमा कुनै न कुनै पदार्थ पसेकै भान हुन्थ्यो ! उहाँहरूको वाणीयुद्ध कुनैपनि सभ्य मानिसका लगि पाच्य थिएन ! उहाँहरूमा आफ्नो मगजभन्दा बढी लागु पदार्थको शासन ब्याप्त थियो !

‘हैट ! यस्ता मथ्थुका फोहोरी गाली के सुन्नु हौ’ भन्दै बाटो लाग्ने बटुवाहरू पनि थिए भने मथ्थुका पछि आ-आफ्नो कित्ता सम्हाल्दै समर्थन ओकल्ने खोरेत पनि प्रशस्तै भेटिन्थे ! ट्राफिक पुलिसले हस्तक्षेप गर्नुपर्ने स्थिति आयो । पुलिस बोलाइयो । एउटा बटुवा बोल्यो- यी बेइज्जति जँड्याहालाई चौकी लगेर कोच्नुपर्छ ! अरु बटुवाले समेत हो मा हो मिलाए ! ट्राफिकले मापसे चेक ग¥यो ! दुवै अंकल मापसे पोजेटिभ !!

पुलिसभ्यान आयो ! दुवै अंकललाई झ्यानाकुल्टुङ्ग खादा ओढाइयो ! चौकी लागेर चिसो भुइँमा आसन ग्रहण गराइयो ! उखान अंकल पूर्व फर्केर ढल्किनुभो ! जंगली अंकल विपरीत दिशामा पसारिनुभो ! सबेरै भाले बास्यो ! उखान अंकल आँखा मिच्दै उठ्नुभो ! ‘मैं कहाँ हुँ ?’ तालमा पुलिसतर्फ नजर दौडाउनुभो ! केहीबेरमा जंगली अंकलले पनि नयन उघार्नुभो ! उहाँ पनि अन्योलमा ! कसरी यहाँ आइपुगियो ? एकअर्कामा मुखामुख गर्दैगर्दा एउटा पुलिसले सोध्यो- महाराजहरूको सुकला कस्तो रह्यो त ? गाथमा आराम नै छ ? तातोचिसो के मगाउँ हजुर ? पुलिसको व्यंग्यले दुवै निहुरासन !!

के हो भाइ ? म कसरी यहाँ आइपुगेँ ? उखान अंकलले लेग्रो तान्नुभो ! सोही भाव जंगली अंकलको पनि !

पुलिसको ब्यंग्यात्मक जवाफ आयो- आइपुगियो हैन महाराज.. ल्याइपुऱ्याइयो ! सरकारहरू बीचसडकमा मापसेग्रस्त होइसिन्थ्यो ! बिहारी शैलीमा पुराणवाचन गर्दै एकअर्कालाई आशीर्वचन पस्कँदै गर्दा ल्याउनुपर्ने बाध्यता आइपरेकोले यहाँ ल्याएको हो !

दुवै अंकलले मुखामुख गर्नुभो ! केही सम्झिने चेष्टा गरेपनि हिजोको दन्तबजान स्मरण भएन ! पुलिसले सबै कैरन वर्णन गरेपछि दुवैको मुहारमा पश्चातापको भाव देखियो !

‘सरी.. जंगली जी ! मातेको सुरमा के के बोलियो-बोलियो ! अब सबै बिर्सिदिनुस् !’

‘मने ! मैले पनि के के बोलेँ.. होस भएन ! तपाईं पनि बिर्सिदिनुस् !’

पुलिस बिचरो ट्वाल्ल पर्दै सोध्यो- तपाईंहरू को हो ? के गर्नुहुन्छ ?
‘म ठमेलमा मसाज सेन्टर चलाउँछु’, उखान अंकलले नियाउरो पारामा जवाफ दिनुभो !

‘मने ! म चैं रत्नपार्क छेउछाउ सडक ब्यापार गर्छु ! कहिले ठमेल कहिले रत्नपार्क कहिले कता, खासै टुङ्गो छैन तर ब्यापार उहाँकै जस्तो हो ! बिजिनेसको खोजीमा बेलाबेला पारि इण्डिया पनि पुगिन्छ !’

‘ओहो ! रत्नपार्क… ठमेल ? भनेपछि गिगेलो ?’ पुलिसले ब्यंग्य कस्यो ।

‘छ्याः म प्रधानमन्त्री भइसकेको मान्छे त्यस्तो घटिया ब्यापार गर्छु त ?’- उखान अंकलले प्रतिवाद गर्नुभो ! जंगली अंकलले पनि भाव सोही दोहोऱ्याउनु भो !

‘बोली र व्यवहार हेर्दा त त्यस्तै लाग्यो ! दुवैको ब्यापार पनि एकै प्रकारको रैछ ! यो रत्नपार्क ठमेल ओहोरदोहोर गरेर बिहारी शैलीमा तमासा देखाउनुभन्दा तपाईंहरू मुम्बईको कामाठिपुरा जानुस् ! मिलेर धन्धा चलाउनुस् ! ठुलो ठाउँ ठुलै ब्यापार !’

‘छ्याः त्यो त छाडा ठाउँ हैन र ? त्यस्तो ब्यापार गर्दा त एड्सको खतरा हुन्छ ! लाज पनि त हुन्छ नि !’ उखान अंकलले सङ्कोच देखाउनुभो !

‘मने ! कुरो त ठिकै हो तर ठाउँ भनेको ठाउँ नै हो ! इण्डिया त तपाईंहाम्रो तीर्थस्थल पनि हो ! ब्यापार त ठुलै गर्नुपर्छ ! लाजशरम तपाईंहाम्रो सरोकारको विषय हैन ! लाज मान्ने त जनताले हो ! तपाईंहामीमा केको लाज ? केको शरम ? ब्यापार तपाईं र म मिलेरै गर्नुपर्छ तर एड्सको खतरा चैं कसरी टार्ने होला त ?’

‘खतरा टर्छ तर तपाईंहरूको थुतुनोमा चैं कण्डोम लाउनु जरुरी छ !’ पुलिसले गम्भीर हुँदै उपाय सुझाइदिए !

‘गुड आइडिया !’ दुवै अंकलले ‘चस’ गर्नुभो ! कामाठिपुराको ब्यापारिक सम्झौता भयो !

‘ब्यापारमा पूजाको ठुलो महत्त्व हुन्छ ! पूजा गर्दा घण्टी बजाउने एउटा ब्राह्मण पनि लैजाने कि ?’ जंगली अंकलले प्रस्ताव राख्नुभो !

‘पर्दैन ! ८४ सम्म बाहुन आफैं आउँछ ! हामीले ल्याउनै पर्दैन !’ उखान अंकलले कुराको बिट मार्नुभो !

यो सम्झौता मातेको सुरमा हो कि नमातेको सुरमा हो ? त्यो चैं समयले देखाउला ! तपाईंहामी रमिते त हौँ नि ! हैन त ??