त्रिकोणात्मक टि-२० पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

त्रिकोणात्मक टि-२० पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा


त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज (२९ फागुन) भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । जितसँगै नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपालले प्रस्तुत गरेको एक सय ९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पपुवा न्युगिनीका लागि हिरी हिरीले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै सेसे बाउले २१, टोनी उराले १३ र नसैना पोकनाले १२ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले चार विकेट लिए भने प्रतिश जिसीले दुई विकेट झारे । त्यस्तै आकाश चन्द र गुल्सन झाले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ९८ रन बनाएको थियो । नेपालका लागि कुशल भूर्तेलले ३९ बलमा चार चौका र चार छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान दिएर नेपालको प्रतिष्ठा बढाएका हुन् ।

यसैगरी, सन्दीप जोराले २६ बलमा चार छक्का र तीन छक्काको मद्दतले ५६ रन बनाए भने विनोद भण्डारीले २७ रन जोडे । विवेक यादवले १९, गुल्सन झाले १५ तथा लोकेश बमले १४ रन बनाए । पपुवा न्युगिनीका लागि कप्तान असाद भालाले दुई विकेट लिँदा नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले समान एक/एक विकेट लिएका थिए ।