छापामार शैलीमा विश्वासको मत लिने मिति तय !

छापामार शैलीमा विश्वासको मत लिने मिति तय !


एमाले लगायतका दलसँग मिलेर नयाँ गठबन्धनको प्रधानमन्त्री बन्नुभएका प्रचण्डले विश्वासको मत लिने दिन तय गर्नुभएको बुझिएको छ । तर, अहिले नै मिति घोषणा हुँदा चलखेल हुनसक्ने भएकोले निर्धारित तिथि गुप्त राख्न खोजिएको छ ।

रास्वपा सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार यही फागुन ३० गते विश्वासको मत लिइने भएको छ । फागुन ३० गते छापामार शैलीमा विश्वासको मत लिने तयारी भएर पनि उक्त निर्णय गोप्य राख्न खोजिनुले सत्तापक्षले आफैमाथि विश्वास गर्न नसक्ने अवस्था महसूस गरेको देखाउँछ ।

बालुवाटारसम्बद्ध सूत्रका अनुसार विश्वासको मत पुग्न नदिन भारतले खेल्नसक्ने त्रास प्रधानमन्त्री प्रचण्डसहितका नेताहरूमा रहेको छ। भारतसङ्गको सहकार्य तोड्दै नयाँ सत्ता समीकरणमा गएकोले प्रचण्डमा ज्यादा त्रास र छट्पटी देखिएको छ। जबकि अहिले एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, जसपाको १२, माधव नेपालको १० गरि कुल १५२ सांसदको समर्थन प्रचण्डलाई हुने देखिन्छ ।

माधव नेपाललाई भविष्यमा प्रधानमन्त्री बनाइदिने भनेर सरकारमा सामेल गरिएको भएपनि यो आश्वासन उधारो भएकोले कतै नेपाललाई अहिले नै प्रधानमन्त्री दिएर जसपालाई समेत समेटी विश्वासको मत पुग्न नदिने हो कि भन्ने चिन्ता सत्तापक्षका शीर्षस्थ नेताहरूमा छ । प्रचण्डले विश्वासको मत पुर्‍याएमा त्यसबाट शेरबहादुर देउवालाई भन्दा बढी धक्का भारतलाई पुगेको मानिने स्थिति छ ।