शिवरात्रि कि सिँलाचह्रे ?

शिवरात्रि कि सिँलाचह्रे ?


✍ सुनिल उलक

शिव वा महादेवका अनगिन्ति नामहरु छन् । उनका कामले वा चरित्रले विभिन्न नामहरु राखिएका छन् । अंग्रेजी शब्द GOD मा शिव तेश्रो अक्षरको प्रतिनिधित्व गर्ने देवता हुन् । हिन्दू पुराणहरुका अनुसार श्रृष्टीकर्ता (ब्रम्हा), पालनकर्ता (विष्णु) तथा संहारकर्ता (महादेव) मा तेश्रो देवताका रुपमा हामीले लिने गर्दछौँ । त्यस्तै अंग्रेजी शब्द G-Generator, O-Operator, D-Destroyer मा शिव Destroyer मा पर्दछन् ।

तर शिवको प्रतीकका रुपमा हिन्दूहरुले पूज्ने शिवलिङ्गका कारणले भने शिव श्रृष्टीकर्ताका रुपमा लिइनुपर्ने हो । यौनबिना श्रृष्टी नै रोकिने हुँदा शिवकै प्रतीकका रुपमा हामी यौन संसर्गको प्रतिकात्मक शिवलिङ्गलाई पूज्ने गर्दछौँ । यो यौन शिक्षा हो वा भनौँ यौनका लागि उत्प्रेरणाको प्रतीक हो ।

साच्चै शिवलाई पूज्न वा मान्न कहिलेदेखि थाले होला भन्ने कौतुहल लाग्दछ । शिवका १००८ रुपमा धामी, मष्टो, भैरव सबै पर्दछन् । शिवको सबैभन्दा पुरानो मुर्ति पाँचौं शताव्दीको रहेको नटराजलाई लिइएको छ । नेपालमा भने सातौँ शताव्दीपछि मात्र शिवलाई पूज्न थालिएको थियो । हिन्दू आख्यानहरु र हाम्रा आस्थाहरुले गर्दा देवताहरु साक्षात थिए भन्ने आभास गराउँछ । तर वास्तविकतामा देवी देवता केवल कल्पना, आस्था र आख्यानहरुमा मात्र हुन्छन् ।

नेवाःहरुले शिवरात्रिका दिन सिँलाचह्रे मनाउने गर्दछन् । सिँला नेवाः वर्षका अनुसार चौथो महिना हो । यसै महिनाको चह्रे अर्थात् चतुर्दशीका दिन मनाइने पर्व भएको हुँदा यस पर्वलाई सिँलाचह्रे भनिएको हो । सिँ भन्नाले नेवाः भाषामा दाउरा हुन्छ भने ला महिनालाई जनाइन्छ । यसर्थ सिँला दाउरा जम्मा गर्ने महिनाका रुपमा बुझ्न सकिन्छ । वर्षात् शुरु हुनु अगाडि दाउराहरु जम्मा गर्ने गरिन्थ्यो । अहिले पनि साँझ दाउरा बालेर मकै, भट्टमास जस्तै गेडागुडी भुटेर चाड मनाइन्छ ।

यो दिनका लागि एउटा किंवदन्ती पनि छ । यस दिनमा महादेवलाई पनि जाडो हुने गर्दछ । साथै आजको दिन चोरेमा महादेवबाट चोरलाई चोरीको पाप नलाग्ने बरदान पाएको हुँदा यस दिन गेडागुडी, दाउरा चोरेर बाल्ने र भुटेर खाने गरिन्छ । साथै नेवारीमा एउटा गीत पनि छ-

महाद्यः यात चिकुल, गनेद्यः त इकुल
हलिमली सिया छाय्, मिप्वा च्याका क्वाक्क याय्
मिस् पनेत सिं निका हिं, बिगु खः सा याकन ती,
मखु खस् सा लिहाँ वने, द्यवं ख्वा ह्युसा,
महाद्यस्वं तँ वसा, जिमिसँ मस्यु न्हा न्हा !!!

नेपाली भाषानुवाद-

महादेवलाई जाडो भयो, गणेश देवतालाई रिङ्गटा लाग्यो
गेडागुडी भुटेर चढाउ, आगो बालेर तातो बनाउ
आगो ताप्न दाउरा देउ, दिने भए छिटो देउ
नदिने भए फर्कि जान्छु, देवताले मुख फर्काए
महादेव रिसाए भने, हामीलाई थाहा छैन

यसरी गीत गाउँदै केटाकेटीहरु घर घर दाउरा माग्न र गेडागुडी माग्न हिड्ने गरिन्थ्यो तर अचेल खासै देखिदैन । धुनी भने जगाइन्छ । पोखरामा भने केही भिन्न दृश्य देख्न पाइन्छ । राति बालिएको धुनीमा गेडागुडी भुट्ने होइन उखु पोल्ने गरिन्छ । र बेस्सरी पोलिएको उखु सडकमा वा घरका पिँढीमा गएर पड्काइन्छ । अन्यत्र कतै नभेटिने यो चलन पोखरामा मात्र देख्न पाइन्छ । यसको पछाडि कुनै धार्मिक वा सांस्कृतिक कारण देखिँदैन । देखासिखिबाट नै चलन चल्दै आइरहेको छ ।

गोपालवंशीको समयमा गाई पालेर जीविकोपार्जन गर्ने गोपालवंशी ग्वालाहरुले गाईका लागि पोषिलो घाँस उब्जाइदेओस भनेर जमिनभित्र पूजा गर्ने गर्दथे । उनिहरुको यो पूजा प्रकृतिको पूजा थियो भने अर्कोतर्फ अज्ञात देवता जसले गाईका लागि पोषिलो घाँस उमार्ने गर्दछ भनेर पूज्दथे । यसरी पूजा गर्दा खाल्डोभित्र ढुङ्गालाई देवता मानेर पूजा गर्दथे । देवतालाई दुध पनि चढाउँदथे । जुन अहिले पनि काठमाडौं उपत्यकामा पाहाचह्रेका दिन लुकुमाद्यःको रुपमा जमिनभित्रको महादेवलाई पूज्ने गरिन्छ । किंवदन्तीहरुमा जे जसरी कथा भन्न थालिए पनि आफुले पालिरहेका गाईलाई पोषिलो घाँस उत्पादन गरिदिने धर्तीभित्र लुकेको देवताका रुपमा लुकुमाद्यःको पूजा गरिएको हो । तर पछि जयस्थिति मल्लले गोपाल राजवंशावली लेखाउँदा गोपालवंशीहरुको समयमा बहुह्री नाम गरेको गाईले नियमित दुध चढाउने गरेको देखेपछि सो ठाउँ खनेर हेर्दा ज्योतिर्लिङ्ग उत्पन्न भएको कथा बनाइएको छ ।

गोपालवंशीले पशुको देवताका रुपमा पूजा गर्ने पशुपति र अंशुवर्माले पूजा गर्ने पशुपति एकै होइन । सातौँ शताव्दीमा राजा बनेका अंशुवर्मा पशुपतिभक्त थिए । उनले पूजा गर्ने पशुपतिको स्वरुपको अनुमान कसैले पनि गर्न सकेका छैनन् । तर आर्यघाटनजिकै रहेको पार्थिवशिला नै अंशुवर्माको समयको पशुपति रहेको अनुमान गर्न सकिन्छ । तत्कालिन समयमा उपजको देवताका रुपमा पार्थिव शिलालाई पुजिन्थ्यो । उन्नत उपजले पशु तथा मानवहरुको भोक मेटिन्थ्यो । शायद यसैले नै लिच्छवीकालमा पार्थिव शिलाको पूजा गर्ने प्रचलनको शुरुवात भएको थियो । पछि तेह्रौँ शताव्दीमा बंगालका सुल्तान समसुद्दिन इल्यासको उपत्यका आक्रमणको समय धेरै मठमन्दिर तथा महत्वपूर्ण हिन्दूस्थलहरु तोडफोड गर्ने क्रममा अंशुवर्माले स्थापना गरेको पशुपति पनि तोडफोड गरियो । र, मुर्ति पनि फेकियो ।

चौधौँ शताव्दीमा राजा यक्ष मल्लको समयमा पहिलो पटक भारतबाट शंकराचार्यको आगमन भएपछि पशुपतिको प्रचार अझ बढी हुन थाल्यो । यक्ष मल्लले नै भक्तपुरमा भारतीयहरुले बढी पूज्ने दत्तात्रेयको मन्दिर बनाएका थिए । त्यसैबेला गोसाइ सम्प्रदायका अनुयायीहरु धर्मका कारणले भन्दा पनि ब्यापारका कारणले नेपाल आउन थालेका थिए । गोसाइहरु तिब्बतसम्म पनि पुग्दथे । यसरी नै आएका एक गोसाइ ब्यापारी गुरुबक्श गिरीले पशुपति दर्शन गर्न आउनेहरुका लागि सहज धर्मशालाका रुपमा भक्तपुरमा पूजारीमठ बनाइदिएका थिए । यसरी भारतबाट लामबद्ध रुपमा शिवरात्रिका लागि नेपाल आउने योगीहरु, गिरीहरु तथा गोसाइहरुको भिड लाग्ने गर्दथ्यो । आज पनि शिवरात्रिको अवसरमा भारतका विभिन्न मठमन्दिरहरुबाट योगीहरु आउने गर्दछन् । यसर्थ शिवरात्रिको इतिहास अंशुवर्माको समयकाल सातौँ शताव्दीभन्दा पछाडि जाँदैन । अंशुवर्मा शिवभक्त भएको हुँदा उनकै समयमा शैवहरुको शुरुवात भएको थियो ।