नेपाली मार खाने भनेको नै ‘अङ्ग्रेजी’मा !

नेपाली मार खाने भनेको नै ‘अङ्ग्रेजी’मा !


जसको अङ्ग्रेजी कमजोर छ, जति नै ज्ञान वा कुरा थाहा भएपनि अङ्ग्रेजीमा दोहोरो सम्वाद गर्न गाह्रो हुन्छ । कति नेपालीहरूको ज्ञान कम छ, तर अङ्ग्रेजी राम्रो छ भने, उनीहरूको विदेशीसँग हिमचिम बढी हुन्छ । विदेशी कार्यालयमा अङ्ग्रेजीमा राम्रो कुरा वा गफ दिन नसक्नेहरू पछि नै पर्छन् । त्यसैले तपाईं पनि विदेशी संस्थामा हुनुहुन्छ भने अङ्ग्रेजीमा केही परिश्रम त गर्नैपर्छ ।
✍ राजेन्द्र खनाल ‘क्षितिज’

आम नेपालीहरू कुनै पनि विदेशी भेटेपछि नतमस्तक नै हुने बानी छ । हाम्रो सोचाइ हुन्छ- सेतोछाला त्यो पनि विदेशी ! हामीलाई लाग्छ- यो मान्छेले धेरै कुरा जान्दछ । हाम्रोभन्दा बढी बुद्धि र ज्ञान छ । यस्तो राम्रो फटटट्ट अङ्ग्रेजी बोल्छ । अनि भित्रैदेखि हामी अलिक सङ्कोच मान्छौँ, योसँग अब अङ्ग्रेजीमा कसरी दोहोरो संवाद गर्ने होला ? हुन त हामी पनि स्कुल र कलेज गरेर कम्तीमा बाह्र वर्ष अङ्ग्रेजी पढेका, त्यहि पनि बोल्ने बेलामा अकमकाउँछौं । हुन त नेपाली भाषा नै कहाँ पो राम्रो छ र हाम्रो ? नेपाली भन्दा एसएलसीमा प्रायः सबैको अङ्ग्रेजीमै नम्बर बढी आउँछ । तैपनि हाम्रो अङ्ग्रेजीको हविगत हेर्नुस् त !?

हामी जो-जो पुरानो शिक्षा, अनि सरकारी स्कुलमा पढेका छौँ, उनीहरूको लागि अङ्ग्रेजी भनेको महाप्रलय नै हुन्छ । अनि त्यो बेला अङ्ग्रेजी पढाउने शिक्षक पनि त्यस्तै, हामी सिक्ने पनि उस्तै, अनि कहाँबाट अङ्ग्रेजी राम्रो हुन्छ ? न हामीले उच्चारण कसरी गर्ने भनेर थाहा पायौँ न त कुन अक्षर चैँ उच्चारण गर्न नपर्ने (साइलेन्स) भनेर नै जान्यौँ । उच्चारण नै गर्नु पर्दैन भने किन त्यो अक्षर राख्नु ? अझ फोनेटिकको त झन कुरै नगरौँ । अहिले बोर्डिङ स्कुलमा पढ्नेहरू त फररर अङ्ग्रेजी बोल्छन्, राम्रो लेख्छन् पनि होला । हुन त अहिलेको भन्दा पुरानो शिक्षाको अङ्ग्रेजी धेरै नै स्तरिय थियो, मात्र पढ्ने र पढाउनेको कमजोरी मात्र । एसएलसीमा दुईवटा पेपर त अङ्ग्रेजीमा नै दिनु पर्दथ्यो । तर पनि अहिले अङ्ग्रेजीमा बोल्नुपऱ्यो भने धेरैबेर सोच्नुपर्छ । कोही-कोही त पहिला नेपालीमा सोच्छन्, अनि अङ्ग्रेजीमा जवाफ दिन्छन् । यो अधिकांश पुरानो शिक्षा र गाउँ शहरमा सरकारी स्कुलमा पढ्ने र संस्कृत पढ्नेको कथा र ब्यथा हो ।

म सरकारी सेवामा जागिर खाँदा नै विदेशीहरूसँग काम गर्ने मौका मिलेको थियो । त्यसपछि आठ वटा अन्तर्राष्ट्रिय संघ-संस्थामा काम गरियो । विदेशी विशेषज्ञ भनिनेहरूसँग नजिकबाट नै काम गरियो । शुरु-शुरुमा लाग्दथ्यो, यिनीहरू त भयङ्कर जान्ने होलान् । म पनि डराइ-डराइ काम गर्दथेँ । मजस्ता कतिजना तपाईंहरूलाई पनि त्यस्तै लाग्थ्यो होला !

हो, यो हामी सबैले देखेका अनि भोगेको कुरा हो । सेतो छाला देखेपछि, यो त अर्कै ग्रहबाट आएको, अलौकिक अवतार नै हो जस्तो गर्छौं । वास्तवमा त्यस्तो नहुँदोरहेछ । पछि बिस्तारै मैले थाहा पाएँ, हामीसँग भएको जति ज्ञान, बुद्धि, सीप त उसँग नहुँदोरहेछ । किनकि हामी गरेर, परेर, पढेर, सुनेर अनि परम्परागत ज्ञान, पुस्ता हस्तान्तरण र प्रकृतिसँग नजिक भएर सिक्छौँ भने उनीहरू केवल पढेर र सुनेर नै सिक्दा रहेछन् । हाम्रो व्यवहारिक ज्ञान उसको सैद्धान्तिक ज्ञान भन्दा धेरै माथि हुँदोरहेछ ।

हाम्रो कमजोरी भनेको नै विदेशीसँग, आफूले जानेका कुरा सबै खुलस्त भन्छौँ, केही लुकाउँदैनौँ । हामीलाई डर लाग्छ, फेरि केही पो जान्दैन रहेछ भन्छ कि भनेर । किनकि अङ्ग्रेजीमा बोल्नुपऱ्यो अनि कनिकुथी गरेर पनि आएजति सबै भन्नु नै पर्ने ! हामीले बोलिरहँदा उ सुनिरहन्छ, कति बुझ्छ, कति बुझ्दैन थाहा छैन । तर उसले हामीबाट चाहिने जति सबै कुरा लिएर आफ्नै पारामा आफैले लेखेजस्तै गरेर रिपोर्ट बनाउँछ ।

विदेशी भनेर उ धेरै जान्दछ, म त कम जान्दछु भनेर आफूलाई कहिले पनि कमसल नठान्नुस्, अपमानित हुन नदिनुस् । किनकि तपाईंमा अपार ज्ञान छ । त्यो पानी-पँधेरो, घाँस-दाउरा, पाखा-पर्वत, ओराली-उकाली, भन्ज्याङ्ग-चौतारी हिँडेको, बुझेको, नेपाली संस्कृति, समाज, प्रकृति, पुस्ता हस्तान्तरणको अनुभव पनि छ । सेतो छालामा त्यो अनुभवको कमी छ ।

त्यसैले, अङ्ग्रेजी कमजोर छ भन्दैमा तपाईंमा भएको ज्ञान दङ्ग परेर खररर नभन्दा नै राम्रो ! तपाईंमा भएको ज्ञान अरुले लिएर आफ्नो बनाउन धेरै मान्छे माहिर छन् अचेल । त्यसैले कोसँग कति कुरा गर्ने, कस्तो ठाउँ (सभा, सम्मेलन) मा के भन्ने ? जसले गर्दा तपाईंको कुरा सबैले ध्यान दिएर सुनुन् । अनि तपाईंमा भएको विद्वता अरुले थाहा पाउन्, प्रश्न-उत्तरमा पनि ठिक्क उत्तर दिनुस्, धेरै भूमिका नबाँधी । यदि तपाईंमा भएको ज्ञानको साथै अङ्ग्रेजी पनि राम्रो छ भने त सुनमा सुगन्ध नै हुनेछ ।

अङ्ग्रेजी राम्रो बनाउने भनेकै पढ्ने, भनेको कुरा राम्ररी सुनेर बुझ्ने, बोल्ने अभ्यास र लेख्ने बानी नै हो । उदाहरणार्थ, म पाख्रीबास कृषिकेन्द्रमा काम गर्दा प्रत्येक हप्ता सेमिनार हुन्थ्यो, एक जनाले कार्यपत्र प्रस्तुत गर्दथे । सूचना शाखाको प्रमुख अहिलेका वरिष्ठ साहित्यकार पवन आलोक हुनुहुन्थ्यो । वहाँको अङ्ग्रेजी त विशिष्ट श्रेणीको थियो नै, अनि सूचना अधिकृत चैँ तोया गौतम हुनुहुन्थ्यो । वहाँ नेपाली भाषाको विज्ञको रूपमा केन्द्रमा प्रवेश गर्नुभएको थियो । तोया गौतमले सेमिनार सञ्चालन गर्दा चार/पाँच जना विदेशीहरू भएपनि नेपालीमै गर्नुहन्थ्यो । किनकि वहाँको अङ्ग्रेजी कमजोर भएर बोल्न हिचकिचाउनु हुन्थ्यो । नेपालीमा भने लमतन्न तन्काएर भन्ने गर्नुहुन्थ्यो । एकदिन मैले वहाँलाई भनेँ- तोयाजी, तपाईं सेमिनार सञ्चालन गर्दा नेपालीमा गर्नुहुन्छ, विदेशीहरू पनि छन्, तपाईंको कुरा उनीहरूले बुझ्दैनन्, त्यसैले अङ्ग्रेजीमै गर्नुस् । त्यसले तपाईंको अङ्ग्रेजी पनि राम्रो हुँदै जान्छ । वहाँले भन्नुभयो- ठीक छ दाइ, राम्रो सुझाव, अब म अर्को पल्टबाट कोशिस गर्छु । नभन्दै अर्कोपल्ट वहाँले अङ्ग्रेजीमा कनीकुथी गरेर बोल्नुभयो, छोटो पनि भन्नुभयो, र निरन्तरता दिँदै जानुभयो, र पछि राम्रो अङ्ग्रेजी बोल्ने हुनुभयो । त्यसैले नडराइ बोल्दै जाने र अभ्यासरत भएमा अङ्ग्रेजी राम्रो अवश्य हुनेरहेछ ।

जसको अङ्ग्रेजी कमजोर छ, जति नै ज्ञान वा कुरा थाहा भएपनि अङ्ग्रेजीमा दोहोरो सम्वाद गर्न गाह्रो हुन्छ । कति नेपालीहरूको ज्ञान कम छ, तर अङ्ग्रेजी राम्रो छ भने, उनीहरूको विदेशीसँग हिमचिम बढी हुन्छ । गफ दिनलाई माहिर हुन्छन् । अनि अङ्ग्रेजी कमजोर हुने चैँ विदेशीसँग बोल्नै नपरोस् जस्तै नै गर्छन्, कनिकुथी बोली टोपल्छन् । मात्र हाँसिरहन्छन्, अनि एस…एस… भन्यो सकियो ! उता फररर्र अङ्ग्रेजी बोल्ने नेपालीहरू चैँ अरुको कुरा पनि आफ्नै हो जस्तै गरेर बोल्ने कलाको विशेषज्ञ नै हुन्छन् । अनि त्यस्ता मान्छेलाई माथि-माथि पदोन्नति हुन सजिलो पनि हुन्छ । विदेशी कार्यालयमा अङ्ग्रेजीमा राम्रो कुरा वा गफ दिन नसक्ने जति सबै पछि नै पर्छन् । त्यसैले तपाईं पनि विदेशी संस्थामा हुनुहुन्छ भने अङ्ग्रेजीमा केही परिश्रम त गर्नैपर्छ । अथवा विदेश जानेहरू त्यो पनि अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलियालगायतका देशमा त अनिवार्य नै हुन्छ । तपाईंको अङ्ग्रेजी साधारण वा मध्यम भएर पुग्दैन अब, उन्नत (एडभान्स) नै हुनुपर्दछ । फेरि बेलायत, अमेरिका अनि अस्ट्रेलियाको अङ्ग्रेजी कति त शब्द र बोलाइको लवज नै फरक हुने !

कतिपय नेपाली साहित्यकार, समालोचकहरूको सन्दर्भमा भन्नुपर्दा, अङ्ग्रेजी र नेपाली उत्कृष्ट स्तरको पनि देखेको छु । पुरानो शिक्षा पढेपनि अङ्ग्रेजहरूलाई नै पछि पार्र्ने नेपाली विद्धानहरू पनि छन् यहाँ । सबै त मलाई जानकारी नहुन सक्छ, तर केही मसँग नजिक भएकाको र थाहा पाएकाको नाम लिनुपर्दा, प्राध्यापक डा. अभि सुवेदी, महेश पौडेल, विधान आचार्य, पवन आलोक, डा. बिष्णुहरि बराल, नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवाली, वन विभागका पूर्व महानिर्देशक डा. राजन पोख्रेल आदि । अझ कृष्ण ज्ञवाली त संस्कृत पढेर आठ कक्षाबाट अङ्ग्रेजी पढे पनि अङ्ग्रेजी, नेपाली र संस्कृतमा धुरन्धर नै हुनुहुन्छ । पूर्व त्रिवि उपकुलपति डा. तीर्थ खनिया मसँगै पैंतिस वर्षअघि एडिनवरा विश्वविद्यालय, स्कटल्याण्डमा पढ्दा भन्नुहुन्थ्यो- खनालजी यो अङ्ग्रेजी पनि बुझिनसक्नु अपरम्पार नै रहेछ । वहाँ त्यतिखेर अङ्ग्रेजी भाषामा स्नाकोत्तर गर्दै हुनुहुन्थ्यो, अनि पछि अङ्ग्रेजी भाषामा नै विद्यावारिधि पनि गर्नुभयो । अरु पनि धेरै नेपालीहरू हुनुहुन्छ जसको अङ्ग्रेजी र नेपाली भाषा उच्चस्तरको छ । कति साहित्यकारहरू अङ्ग्रेजी र नेपाली दुवैमा बराबर कलम चलाउनुहुन्छ । मेरो एउटा नेपाली कविता सङ्ग्रह ‘मृगनयनी’ अङ्ग्रेजीमा प्राध्यापक महेश पौडेलज्युले अनुवाद गर्नुभएको थियो । जसलाई वहाँले ‘कर्डस् आफ रोमान्स’ नाम दिनुभएको थियो । त्यति राम्रो अनुवाद मैले अहिलेसम्म देखेकै थिइनँ, अन्तर्राष्ट्रिय स्तरको नै थियो । पछि त्यो अङ्ग्रेजी एकपल्ट हेरिदिनु न दाइ भनेर डा. अभि सुवेदीलाई आग्रह गरेँ । वहाँले कसले गरेको भनी सोध्नुहँदा मैले महेश पौडेलले भनेँ । ए, महेशले गरेको भए केही हेर्नु पर्दैन भन्नुभयो ।

अरुको कुरा पनि ध्यान दिएर सुन्ने बानी बसाल्नुस् । आफ्नो कुरामात्रै सासै नफेरि भन्ने बानी छोड्नुस् । अनि के बोल्ने, कति बोल्ने भन्ने तौलिएर सोचेर मात्र बोल्ने बानी बसाउनु राम्रो हुनेछ । जति कम बोल्नुहुन्छ, त्यति गल्ती कम हुन्छ ।

त्यसैले पढेर मात्र अङ्ग्रेजीको विकास पनि नहुने रहेछ । अब भनौँ हाम्रा एमालेका नेता, केपी ओली, आठ कक्षा पढेको भनेर खिसीट्युरी गर्छन् । वहाँले लेखेको त मैलै देखेको छैन, तर वहाँको अङ्ग्रेजी बोल्ने लवज, अनि प्रयोग गरिएका शब्द, कूटनीतिक पारामा पत्रकारलाई अङ्ग्रेजीमा दिएको जवाफले म त वहाँको फ्यान नै बनेँ । त्यति राम्रो र स्तरिय अङ्ग्रेजी नहेरिकन, अनि अन्तर्राष्ट्रिय स्तरका पत्रकारसँग सवालजवाफ गर्न सक्नु ठूलो खुबी हो । उहाँको जति अङ्ग्रेजी मलाई लाग्दैन अरु पढेका र विद्यावारिधि गरेका नेताहरूमा वा अरुमा नै छ ? त्यस्तै, पोखरा लेकसाइडका नाउ चलाउनेहरू, पर्वतारोहण गराउने गाइडहरू, पर्यटकीय क्षेत्रमा सामान बेच्नेहरूको अङ्ग्रेजी हेर्नुस् त ! पढ्नुपर्दोरहेछ त ?

अर्को उदाहरण, एकपल्ट म र मेरो एकजना साथी बेलायतमा दुई जना बेलायती महिलासँग बेग्लाबेग्लै कुरा गर्न थाल्यौँ । कुरा सकिएपछि साथी छेउमा आएर भन्यो- होइन, तिमी त्योसँग त्यत्रोबेर के कुरा गरिरह्यौ ? मेरो त भन्ने कुरा भनेपछि, बोल्ने कुरा (स्टक) नै सकियो !’ तसर्थ अरुको कुरा पनि ध्यान दिएर सुन्ने बानी बसाल्नुस् । आफ्नो कुरामात्रै सासै नफेरि भन्ने बानी छोड्नुस् । अनि के बोल्ने, कति बोल्ने भन्ने तौलिएर सोचेर मात्र बोल्ने बानी बसाउनु राम्रो हुनेछ । जति कम बोल्नुहुन्छ, त्यति गल्ती कम हुन्छ ।

सारांशमा भन्दा, विदेशी भनेर उ धेरै जान्दछ, म त कम जान्दछु भनेर आफूलाई कहिले पनि कमसल नठान्नुस्, अपमानित हुन नदिनुस् । किनकि तपाईंमा अपार ज्ञान छ । त्यो पानी-पँधेरो, घाँस-दाउरा, पाखा-पर्वत, ओराली-उकाली, भन्ज्याङ्ग-चौतारी हिँडेको, बुझेको, नेपाली संस्कृति, समाज, प्रकृति, पुस्ता हस्तान्तरणको अनुभव पनि छ । सेतो छालामा त्यो अनुभवको कमी छ । त्यसैले तपाईं आफूलाई अझ सशक्त बनाउन चाहानुहुन्छ भने अङ्ग्रेजीको अभ्यासलाई निरन्तरता दिनुस् । अहिलेका यूवाशक्ति विदेश उच्चअध्ययनमा जानेहरूमा यो समस्या केही हदसम्म नहोला ? तर आम नेपालीमा अहिले पनि अङ्ग्रेजी भनेपछि कतै नै कतै मार खाइहाल्छन । अस्तु !

  • विजयपुर, धरान (हालः बेलायत)