नारी

नारी


(सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस)
✍ सरला शर्मा

ए, नारीहरु हो उठौं न अब त एकजुट सारा बनि ।
हाम्रै निम्ति उदाइ भूमितलमा लाली छरेको छ नि ।।

खोली नेत्र झल्याँस्स ब्यूँझिन यहाँ नारीहरु हो सब ।
पासो बन्धनको फुकाइकन त बाटो समाऊँ अब ।।

दाजु भाइहरु लडी लडी यहाँ अंशै फुटाइ लिने ।
दिदी बहिनीहरु पराधीन भइ दासी कमारी हुने ।।

एउटै छन् जननी धरातल विषे छोरा र छोरी हुने ।
छोरी दासी हुने अनेक विधिले छोरो चैं अंशै लिने ।।

साँच्चै नै रचेछन् अघि पुरुषले आफ्नै भलाइ हुने ।
धेरै पाप र धर्मका नियमले नारी कजाँइ लिने ।।

नारी मर्न गए भने पुरुषलाई लाग्दैन जुठो रति ।
स्वामी मर्न गए भने ती सतिले भोग्ने कति हो कति ।।

नारी निम्ति रचे अघि पुरुषले सब धर्मशास्त्रै पनि ।
स्वामीभक्त रहे अनेक दुःख सहे पुगिन्छ स्वर्गै भनि ।।

लाग्ला पाप कहाँ छ धर्म कति त त्यो स्वर्गलोकै कहाँ ।
झुटो बातमा भुलेर दिन दिन बस्नु परेको यहाँ ।।

खुम्चि बस्नु हुँदैन यो बखतमा हामी अगाडि बढौं ।
न्यायका पछि लागी सबले अन्याय मास्नै लडौं ।।

धेरै बुद्धि छ हामीमा पनि सधैं स्वार्थी बनेका किन ।
पाना पल्टिरहेछ नि दिनदिनै स्वतन्त्र इच्छा लिन ।।

नारीको मन खिन्न ब्याकुल सधैं यो विश्वका माझमा ।
संघर्ष गरि जीत ल्याउनु छ है एउटा ठूलो साँझमा ।।

विश्मा कति नारीले हक लिए स्वतन्त्र इच्छामा ।
हामी चैं दिनरात कर्म भजदै दासी बनेका यहाँ ।।

नारीको जय होस् भनेर सबले आवाज चर्को छरि ।
बोकौं बन्दुक नै खुँडाहरु यहाँ गोलि र गट्ठा गरि ।।

नारीले रणचण्डिको रुप लिइ उठ्ने छिन् भोलि यहाँ ।
झण्डा विजयको लिइकन फिरौं स्वतन्त्र नेपालमा ।।