इतिहास रच्दै फर्किइन् तेक्वान्दोकी सजिना, विराटनगरमा सम्मान

इतिहास रच्दै फर्किइन् तेक्वान्दोकी सजिना, विराटनगरमा सम्मान


अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् । मलेसियामा यही फागुन १७ देखि २० गतेसम्म भएको ‘हऱ्याङ वाररिअर आईटीएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका-४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेकी हुन् ।

उनले एकल स्पिाइरिङ ४३-५३ तौल समूहबाट स्वर्ण पदक र एकल प्याटन निलो पेटी समूहमा रजत पदक जित्न सफल भएकी छिन् । तामाङ पछिल्लो समय आईटीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छिन् । विगतमा पनि विभिन्न पदकहरू जितेकी छन् । तामाङले अन्तर्राष्ट्रिय स्तरमा पुगेर जितेको यो स्वर्ण पदक र रजत पदक अहिलेसम्मको ठूलो उपलब्धी भएको नेपाल अन्र्तराष्ट्रिय तेक्वान्दो महासंघको केन्द्रीय अध्यक्ष प्रविणकुमार कार्कीले बताए । विश्वस्तरमा पुगेर तेक्वान्दो खेलाडी सजिनाले नेपालको नाम विश्वसामु उच्च राख्न सफल भएकी खेलाडीलाई संघीय सरकार र प्रदेश सरकारले सम्मान गरिनुपर्ने अध्यक्ष कार्कीले बताए ।

स्वर्ण पदक जित्दै तामाङ बुधबार घर फर्किएकी छिन् । उनलाई विराटनगर विमानस्थलमा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले सम्मान गरेको छ । संघको कोषाध्यक्ष ओमकुमार श्रेष्ठले खेलाडी तामाङलाई सम्मान गरेको हो । नेपालबाट प्रतिनिधित्व गर्दै सजिनासहित चार जना तेक्वान्दोका खेलाडी र एक जना अम्पायरसहित पाँच जनाको टिम मेलेसिया १६ फागुनमा प्रस्थान गरेका थिए ।

चार जना खेलाडीमध्ये विरेन्द्र कुवँरले दुई विधामा दुई कास्य पदक जित्न सफल भए । नेपालबाट तामाङ, कुवरसहित खेलाडीहरू देवेन्द्र सुनार, कैलाश अर्याल र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका कोषाअध्यक्ष रहेका विक्रम बाठा मगर अम्पायरको भूमिका निर्भाह गर्दै मलेसिया गएका थिए ।

उक्त प्रतियोगितामा विश्वभरीका ३१ भन्दा बढी राष्ट्रका २ हजार ४ सय बढी तेक्वान्दोका खेलाडीको सहभागि रहेको थियो ।