नियमित रक्तदान गर्न सके हुँदैन रगतअभाव

नियमित रक्तदान गर्न सके हुँदैन रगतअभाव


रगतको सोधभर्ना दिनुपर्ने, दान गरेको रगतको शुल्क तिर्नुपर्ने, समयमै रगत नपाउने, रगतको भण्डारणमा समस्या उत्पन्न हुने, दक्ष जनशक्ति र उपकरणको अभाव हुने आदि समस्यालाई न्यूनीकरण गर्नका लागि राष्ट्रिय रक्तसञ्चार नीतिलाई समयानुकूल परिमार्जन एवं व्यवस्थित गर्दै लानुपर्ने आजका थप चुनौतीहरू रहेका छन् ।
✍ केशव महर्जन

विश्व स्वास्थ्य सङ्गठनका अनुसार देशको कुल जनसंख्याको दुई प्रतिशतले मात्र रक्तदान गरेमा पनि रगतको अभाव नहुने उल्लेख छ । विगत १० वर्षअघि ९५ प्रतिशत स्वयंसेवी रक्तदाताहरु रहेकोमा हाल करिब ८५ प्रतिशत स्वयंसेवीहरूले मात्र रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटीको अभिलेखबाट प्रस्ट हुन्छ । यसको मुख्य कारण पुराना र भरपर्दो संघसंस्थाहरूले नियमित रक्तदान गर्न छाडेकाले हो भन्ने औंल्याइएको छ ।

नेपालमा रक्तदान र यसको पेरोफेरोमा केही चर्चा गर्न खोज्दैछु । परोपकार संस्थाका संस्थापक स्वर्गीय दयावीरसिंह कंसाकारले २००० सालमा पहिलो पटक रक्तदान गरी शुरु भएको नेपालको स्वयंसेवी रक्तदानको इतिहास ८० वर्ष पुरानो भएता पनि यस क्षेत्रमा अपेक्षित रुपमा सुधार तथा व्यवस्थित हुन सकिरहेको छैन । अहिलेको २१औं शताब्दिसम्म पुग्दासमेत विज्ञानले विकल्प तयार गर्न नसकिरहेको अवस्थामा विरामीहरुको लागि आवश्यक रगत व्यवस्थापनमा सहजता ल्याउने कार्यमा तपाइँ-हामी सबै एकजुट भएर लाग्नुपर्ने देखिन्छ । ‘रक्तदान जीवनदान’ भन्ने नारालाई साकार बनाउन विचलित वर्तमान र अन्योल भविष्यका बीच जीवन र मरणको दोसाँधमा अस्पतालको बेडमा छटपटाइरहेका बिरामीको जीवन बचाउन सदा क्रियाशील ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) २०४४ सालमा ब्लड डोनर्स क्लबको नाममा स्थापना भएको हो । तदर्थ समितिले २०४६ मा पूर्णता पाएको यस क्लबलाई २०४९ मा नाम परिवर्तन गरी ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को नाममा हालसम्म निरन्तर संचालनमा रहेको छ ।

ब्लोदान आफ्नो स्थापनाकालदेखि नै ‘रगतको अभावले कसैले पनि अकालमा मृत्युवरण गर्नु नपरोस्’ भन्ने नारालाई साकार पार्न ‘विना शोधभर्ना विरामीलाई रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔं’ आह्वानका साथ नेपाल रेडक्रस सोसाइटी लगायत अन्य ब्लड बैंक, विभिन्न सघ-संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढिरहेको छ ।

सन् १९०१ मा डा कार्ल ल्यान्डस्टिनरले ए.बी.ओ. रक्तसमूह पत्ता लगाएपछि सन् २००४ देखि उहाँको जन्मोत्सव जुन १४ लाई विश्व रक्तदाता दिवसका रूपमा मनाउँदै आइएको छ । ब्लोदान नेपालले सन् २००४ देखि नेपाल सरकार, विभिन्न रक्तदान गर्ने अन्य संघ-संस्थासँगको सहकार्यमा घोषित नाराका साथ विभिन्न कार्यक्रमसहित ‘विश्व रक्तदाता दिवस’ भव्य रूपमा मनाउँदै आइरहेको छ । व्लोदानले रक्तदान अभियानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउने उद्देश्यले स्वदेशी तथा विदेशी पाहुनाहरूका सहभागितामा २०७० जेष्ठ ३० र ३१ गते तदनुसार जुन १३ र १४, २०१३ का दिन प्रथम राष्ट्रिय रक्त सम्मेलन सम्पन्न गरेको थियो । भारत तथा माल्दिभ्सका प्रतिनिधिहरुको समेत सहभागी रहेको सो सम्मेलनबाट निम्नानुसारको कार्यहरु गर्नुपर्ने घोषणा पत्र प्रस्तुत गरिएको थियो ।

क) नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्य नियमन निकायहरुले नेपालको राष्ट्रिय रक्त कार्यक्रमको नेतृत्व गर्नुपर्ने र रक्तसंचार सम्बन्धी राष्ट्रिय रक्त नीति बनाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने ।
ख) सरकारले रक्तसंचार सम्बन्धी सरोकारवालाहरुको सहभागिता तथा समन्यवमा यसको भरपर्दाे कार्यविधिहरु बनाई अनुगमन, मुल्यांकन एवं अनुसन्धान गर्नुपर्ने ।
ग) नेपाल रेडक्रस सोसाइटीले रगत व्यवस्थापन गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न स्वयंसेवी रक्तदाता तथा कार्यक्रम आयोजकहरुलाई नियमितरुमा प्राविधिक तथा क्षमता विस्तार गर्ने कार्यमा सरोकारवालाहरुलाई नियमित सहयोग गर्नुपर्ने ।
घ) ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) स्वयंसेवी रक्तदाता, रक्तदान कार्यक्रम गर्ने संघसंस्थाहरुको महासंघको छाता संस्था भएकोले संस्थाहरुको परिचालन, स्वयंसेवी रक्तदाताको हेरचाह, सुविधा तथा जनचेतना तथा उत्प्रेरणामूलक कार्यहरु गर्नुपर्ने ।
ङ) स्वयंसेवी रक्तदाता तथा रक्तसंचार सम्बन्धी जनचेतनामूलक विषय विद्यालयको पाठ्यक्रममा समावेश गर्न पहल गर्न आवश्यक पहल गर्नु पर्ने ।
च) दाताहरु तथा सहयोगीहरुले आफुले गरेको सहयोगहरु आवश्यक तथा सम्बन्धित क्षेत्रमा प्रयोग भएको छ छैन भन्ने विषयमा नियमितरुपमा अनुगमन तथा निरिक्षण गर्नुपर्ने ।

यो सम्मेलनको प्रतिवेदन तत्कालीन मुख्य सचिव लिलामणी पौड्याललाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको थियो । जसको फलस्वरुप नेपालमा राष्ट्रिय रक्तनीति बन्नुको साथै नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत राष्ट्रिय रक्तसञ्चार व्यूरो स्थापना भएको छ । जसले नेपालको राष्ट्रिय रक्तसञ्चार सेवामा सरकारले आफ्नो उपस्थिति जनाएको छ ।

यसै सन्दर्भमा अन्तर्राष्ट्रिय क्षेत्रमा स्वयंसेवी रक्तदान अभियान बारे भइरहेको गतिविधिहरुको जानकारीहरु आदानप्रदान गर्नुका साथै त्यसको अनुभावबाट नेपालको रुक्तसंचार सेवामा सुधार ल्याउने उद्देश्यले २०७० जेष्ठ ३० र ३१ गते प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको यस संस्थाको आयोजनामा यही २०८० फागुन २६ र २७ गते दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन सम्पन्न गर्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा ललितपुर, भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा सम्पन्न हुन गइरहेको सो सम्मेलनमा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरुको महासंघ (आइएफबिडिओ) का अध्यक्ष अब्देलमलेक सायालगायत भारत र अन्य देशका गरी १८ जना विदेशी प्रतिनिधिको सहभागिता रहने छ भने विभिन्न स्थानीय क्लब, संघसंस्थाहरु तथा व्यक्तिहरु गरी लगभग तीन सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

रगतको सोधभर्ना दिनुपर्ने, दान गरेको रगतको शुल्क तिर्नुपर्ने, समयमै रगत नपाउने, रगतको भण्डारणमा समस्या उत्पन्न हुने, दक्ष जनशक्ति र उपकरणको अभाव हुने आदि समस्यालाई न्यूनीकरण गर्नका लागि राष्ट्रिय रक्तसञ्चार नीतिलाई समयानुकूल परिमार्जन एवं व्यवस्थित गर्दै लानुपर्ने आजका थप चुनौतीहरू रहेका छन् । २०२३ सालमा स्थापित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको गुणस्तर तथा क्षमता अभिवृद्धि र विस्तार गर्नुपर्ने सम्बन्धमा रचनात्मक सुझावहरू ब्लोदानले दिँदै आएको छ ।

स्वयंसेवी रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरूको छाता संस्था ब्लोदानलाई नेपाल सरकार, नेपाल रेडक्रस सोसाइटी, विश्व स्वास्थ्य सङ्गठन जस्ता संस्थाहरूले रगत र रक्तदानसम्बन्धी जनजागरण, उत्प्रेरणा र हौसला जस्ता कार्यक्रम सहृदयताका साथ सञ्चालन गर्न अख्तियारी दिनुपर्ने हाम्रो माग रहेको छ । यस अवसरमा २००० मा पहिलोपटक स्वयंसेवी रक्तदान गर्नुहुने नेपालको पहिलो रक्तदाता स्वर्गीय दयावीरसिंह कंसाकार, पहिलो महिला रक्तदाता स्वर्गीय तारादेवी तुलाधर, ब्लोदानका संस्थापक स्वर्गीय शरद कंसाकार तथा पूर्व अध्यक्ष स्वर्गीय महेन्द विलास जोशीलगायत यस क्षेत्रमा लाग्नुभएको विगत छ ।

३ सय ५० भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुका साथ स्वयंसेवी रक्तदान अभियानलाई अभिवृद्धि गर्ने उद्देश्यले वैधानिक नेतृत्वकर्ताको रुपमा क्रियाशील रहंदै कार्य गर्दै आइरहेको अवगत गराउँछु ।