हिंसा भड्किएपछि हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकालको घोषणा

हिंसा भड्किएपछि हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकालको घोषणा


हाइटीको सरकारले राजधानी शहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन सङ्कटकालीन अवस्था र रातको समयमा कर्फ्युको घोषणा गरेको छ ।

सरकारले एक विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्था र बुधबारसम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागू हुने जनाएको छ ।

स्थानीय पत्रकारले जेलमा राखिएका करिब चार हजार व्यक्तिमध्ये अधिकांशलाई भगाइएको पाइएको बताएका छन् ।

जेलबाट भगाइएकामध्ये सन् २०२१ मा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर भई सजाय काटिरहेका व्यक्तिहरू पनि रहेका छन् ।

अमेरिकी देशमध्ये निकै विपन्न हेइटीमा पछिल्ला वर्षमा हिंसा बढ्दै गएको छ ।

सुरक्षाका लागि घोषणा गरिएका भनिएका दुवै उपाय राजधानी पोर्ट-ओ-प्रिन्ससहित ओएस्ट क्षेत्रमा लागू हुनेछ र आवश्यकता अनुसार थप हुँदै जानेछ । हाललाई अर्को सूचना नआएसम्मका लागि यी सुरक्षा उपायहरू लागू भएको जनाइएको छ ।

पछिल्लो समय अपनाइएका हिंसा नियन्त्रणका उपायहरू हिंसाग्रस्त क्षेत्रमा ‘ पुनः सुव्यवस्था स्थापित गर्न र स्थितिलाई सामान्य बनाउन’ अवलम्बन गरिएको सरकारले जनाएको छ ।

आर्थिक मामिला मन्त्री प्याट्रिक मिचेल बोइसभर्टले देशको कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उक्त वक्तव्यमा हस्ताक्षर गर्नुभएको छ ।

प्रधानमन्त्री एरियल हेनरी गत सातासंयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त कानून र व्यवस्था मिसनको नेतृत्व गर्न पूर्वी अफ्रिकी देशबाट प्रहरी खटाउने सम्झौतामा हस्ताक्षर गर्न केन्यामा रहेका समय उक्त हिंसा भड्किएको हो ।