माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै भारत

माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै भारत


भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिनअघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ ।

चीननिकट मानिने मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष भारतीय सेनालाई फिर्ता पठाउने वाचा गरेर चुनाव जितेपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा तिक्तता आएको छ ।

पूर्व-पश्चिम अन्तर्राष्ट्रिय जलमार्गमा फैलिएको उक्त द्वीपसमूहमा चीनको बढ्दो उपस्थितिप्रति भारत सशङ्कित रहेको र नयाँ शिविरले उक्त क्षेत्रमा नयाँ दिल्लीको ‘जानकारी पहिचान गर्ने निगरानी’लाई विस्तार गर्ने भारतीय नौसेनाले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

मुइज्जुले भारतलाई माल्दिभ्समा रहेका ८९ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् । भारतीय योजनाअनुसार पहिलो जत्था मार्च १० भित्र भारत प्रस्थान गर्ने र सबै दुई महिनाभित्र स्वदेश फिर्ता हुनेछन् ।

भारतको लक्षद्वीप टापुमा मार्च ६ मा खुल्ने नयाँ सैन्य शिविरले विद्यमान सानो टुकडीलाई ‘स्वतन्त्र नौसैनिक एकाइ’मा परिणत गर्नेछ । भारतको लक्षद्वीप टापु माल्दिभ्सबाट लगभग १३० किलोमिटर उत्तरमा अवस्थित छ र मिनिकोय टापुमा नयाँ नौसैनिक शिविर रहेको छ ।

भारतीय नौसेनाको लक्षद्वीप टापु कवारत्तीमा पहिलेदेखि नै शिविर छ, तर नयाँ शिविर माल्दिभ्सबाट लगभग २५८ किलोमिटर (१६० माइल) नजिक हुनेछ ।

‘मिनिकोय लक्षद्वीपको सबैभन्दा दक्षिणी टापु हो, जसले सञ्चारको महत्वपूर्ण समुद्री रेखालाई समेटेको छ’, भारतीय नौसेनाले भनेको छ- ‘यस शिविरले समुद्री डकैती र लागुऔषधविरोधी अभियानलाई बढावा दिनेछ र यो रणनीतिक रूपमा महत्त्वपूर्ण टापुहरूमा सुरक्षा पूर्वाधार बढाउने नीतिको एक भाग हो ।’