लुइँटेलको नेतृत्वमा इञ्जाको नयाँ कार्यसमिति चयन

लुइँटेलको नेतृत्वमा इञ्जाको नयाँ कार्यसमिति चयन


नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले गुणराज लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इञ्जाको अन्तर्राष्ट्रिय टोकियो सम्मेलन लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु शीतल, उपाध्यक्षत्रयमा टङ्क पन्त, किशोर सापकोटा र ददि सापकोटा चयन भएका छन् । साथै महासचिवमा दीपक रिजाल र सचिवमा आनन्द कोइराला निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यमा रीता सापकोटा, कमल ढकाल, ध्रुव पौडेल, विष्णु शर्मा, डावा ढकाल, विनेश खनाल, विजय थापा, अङ्कुश नेपाल र खेम भट्टचन कार्यसमितिको सदस्यमा चयन भएका छन् ।

वरिष्ठ पत्रकार भूषण घिमिरेको संयोजकत्वमा पत्रकारद्वय कृष्णा पौडेल र सिर्जना ढकाल रहेको निर्वाचन कमिटीले निर्वाचित समूहको घोषणा गरेको हो । यसअघि आयोजित इञ्जा डेका अवसरमा आयोजित अन्तररक्रियामा टोकियोस्थित नेपाली दूतावासका नियोग उपप्रमुख एवम् काउन्सुलर अम्बिकाप्रसाद जोशीले विश्वभरि छारिएर बसेका सबै नेपालीहरु आपसमा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नका इन्जाले ब्रेन सर्कुलेशनका कार्यक्रमहरु प्रवर्द्धन गर्न सुझाव दिए । उनले वस्तुनिष्ठ र सामाजिक उत्तरदायित्वका हिसावले सकारात्मक समाचार प्रवाह गर्न विदेशमा रहेका पत्रकारहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

इञ्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले व्यक्तिविशेषले कुनै लाभ प्राप्तिका लागि सामाजिक सञ्जालका माध्यमबाट प्रसारण गरेका सबै सामग्रीलाई पत्रकारिताका रुपमा बुझिदिँदा समाजमा द्विविधा उत्पन्न भएको बताउँदै सत्य तथ्यमा आधारित विषयवस्तु जनमानसमा सही तरिकाले पुऱ्याउन पत्रकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सन् २०१८ मा मार्च १ तारिख स्थापना भएको इञ्जाको मुख्यालय अमेरिकामा छ भने एशिया, यूरोप र अफ्रिकामा शाखा छन् ।