लण्डनको एक अपार्टमेन्टमा भीषण आगलागी, ११ जना अस्पताल भर्ना

लण्डनको एक अपार्टमेन्टमा भीषण आगलागी, ११ जना अस्पताल भर्ना


लण्डनको साउथ केन्सिङटन नजिकैको एक आवासीय भवनमा शुक्रबार बिहानै भएको आगलागीमा परी ११ जनालाई अस्पताल भर्ना गरिएको छ भने करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

लण्डनको दक्षिणपश्चिममा रहेको नेचुरल हिस्ट्री म्युजियम नजिकै एम्परर्स गेटमा रहेको अपार्टमेन्टमा आगलागी भएपछि पाएको सूचना लगत्तै १५ वटा दमकल र करिब १०० जना अग्निनियन्त्रकलाई घटनास्थलमा खटाइएको थियो ।

लण्डन फायर ब्रिगेडका अनुसार पाँच तले भवनको भुइँतलाको आधा भाग उद्धारकर्मी आइपुग्दा आगलागीका कारण जलिसकेको थियो ।

उनले भने, ‘भुइँतलादेखि माथिल्लो तला र छानासम्म आगो फैलिएको छ । दमकल तथा अग्नि नियन्त्रण अधिकारीहरूले आगोलाई नियन्त्रणमा लिन कडा मेहनत गरिरहेका छन् ।

‘आगलागिलाई नजिकैका भवनहरूमा फैलनबाट रोक्न काम भइरहेको छ’, घटनास्थलमा रहेका स्टेशन कमान्डर स्टिभ कोलिन्सले भनेका छन् ।

पाँच जनालाई भऱ्याङ प्रयोग गरेर उद्धार गरिएको थियो भने करिब १३० बासिन्दालाई घर र वरपरका भवनबाट बाहिर निकालिएको थियो ।

धुवाँको मुस्लोका कारण स्वासप्रश्वासमा समस्या भएका करिब ११ जनाको उपचारका लागि अस्पताल लगिएको दमकल सेवाले जनाएको छ ।

यस्तै, बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहानै आएको टिभी रिपोर्ट अनुसार भवनको केही भागमा शुक्रबार बिहान समाचार तयार पार्दासम्म आगलागी पूर्ण नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण तत्काल खुल्न सकेको छैन ।