नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोमा हुने

नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोमा हुने


आर्कटिक जेलमा गत हप्ता मृत्यु भएका रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको अन्त्येष्टि आगामी शुक्रबार मस्कोको एक चर्चमा गरिने भएको छ । नाभाल्नीको मृत्यु भएको एक साताभन्दा बढी समयपछि सम्बद्ध अधिकारीहरूले गत शनिबार उनको शव उनकी आमालाई सुम्पेका थिए ।

नभाल्नीका सहयोगी समूहले सामाजिक सञ्जालमा बुधबार पोष्ट गरेको सन्देशमा भनिएको छ, ‘नभाल्नीको अन्त्येष्टि १ मार्चका दिन मेरिनोको ‘मदर अफ गड क्वेन्च माई सोरोज’ नामक चर्चमा स्थानीय समय अनुसार दिउसो २ः०० बजे गरिनेछ । सबै जना समयमै त्यहाँ आइपुग्नुहोला ।’

नाभाल्नीको अन्त्येष्टि नजिकैको बोरिसोभ कब्रिस्तानमा गरिने जानकारी दिँदै उनको सहयोगी टोलीले सेवा आयोजना गर्न इच्छुक चर्च भेट्टाउन गाह्रो भएको जनाएको छ ।

‘हामीले मार्च १ का लागि चर्च र हल खोज्न थाल्यौं। जताततै तिनीहरूले हामीलाई केही पनि दिन इन्कार गरे । केही ठाउँमा हामीलाई यो निषेध गरिएको बताइयो’, निर्वासित सहयोगी इवान झादानोभले पोष्ट गरेको सन्देशमा भनिएको छ ।

‘हामीलाई उनीहरूको निर्देशनको कुनै मतलव हुने छैन । नाभाल्नीको अन्त्येष्टि आवश्यक छ । अन्तिम सम्मान गर्ने मौका पाउनका लागि पहिल्यै आउनु नै बेस हुन्छ’, सन्देशमा लेखिएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा मुखर आलोचक नाभाल्नीको गत फेब्रुअरी १६ मा उत्तरी साइबेरियाको सबैभन्दा कठिन कारागारमा निधन भएको थियो ।