जङ्गबहादुरको खोजी कसरी गर्ने ?

जङ्गबहादुरको खोजी कसरी गर्ने ?


जसमा देश कसरी बनाउनुपर्छ भन्ने कुराको सामान्य ज्ञान भेटिँदैन र, जसमा दूरदर्शिता र इमान्दारीको सङ्केतसम्म देखिन्न, तिनैलाई देश बनाउने जिम्मा दिँदै देश नबनेकोमा चिन्ता गर्नेहरूलाई अचेल ‘नेपाली’ भनेर चिनिन्छ ।
✍ देवप्रकाश त्रिपाठी

जङ्गबहादुर राणा पहिले नै ‘जङ्गबहादुर’ बनेर सत्ताको केन्द्रमा पुगेका होइनन्, सत्तामा पुगेपछि भए/गरेका कामले उनलाई ‘जङ्गबहादुर’ बनाइदिएको हो । तर विद्यमान परिस्थितिबाट आजित भएका एकथरी मानिस बनिबनाउ जङ्गबहादुरको खोजी गर्दैछन् र, यसक्रममा विभिन्न उत्तेजक एवम् अराजक व्यवहार प्रदर्शन गर्ने मसलदार दादाहरूलाई सम्भावित जङ्गबहादुर ठान्ने भूलभुलैयामा पर्दैछन् ।

जो मानिस आफ्ना हावभावबाट वजनदार भएको प्रस्तुति फिल्मीशैलीमा दिँदैछन, ती कदापि जङ्गबहादुर बन्न सक्दैनन् । जङ्गबहादुर राणा ‘जङ्गबहादुर’ बनेका उनको मसलदार शरीर र उत्तेजक अभिव्यक्तिबाट होइन । बुद्धिमत्तापूर्ण एवम् आत्मविश्वासपूर्ण व्यवहार, निर्णय क्षमता, गतिशील व्यवहार, इमानदारी र देशभक्तिपूर्ण परिपक्व कुटनीतिक कौशलले जङ्गबहादुरलाई इतिहासस्मरणीय बनाएको हो ।

समाजमा बुद्धि मात्र भएका तीक्ष्ण मानिस यत्रतत्र भेटिन्छन्, तर तिनले आफ्नो बुद्धि आफ्नै पेटको बढोत्तरीका निम्ति मात्र प्रयोग गरिरहेका छन् । आत्मविश्वासले भरिपूर्ण मानिस पनि यहाँ नभएका होइनन्, प्रचण्ड स्वयमलाई पनि आत्मविश्वासी मानिसका रूपमा लिन सकिन्छ, तर प्रचण्डको आत्मविश्वास उनकै निजी महत्वाकाङ्क्षाको वरिपरि चक्कर काटिरहेछ, देशको स्वार्थसँग प्रचण्ड-आत्मविश्वासको कुनै साइनो भेटिँदैन ! कुटनीतिक क्षमताका मानिस पनि नेपालमा नभएका होइनन्, तर यिनको कुटनीतिक ज्ञान आफैलाई राजदूतको नियुक्ति हातपार्ने हदसम्म मात्र सीमित छ । देशभक्त मानिस पनि देशमा देखानपरेका होइनन्, तर तिनको देशभक्ति आफ्नै मनको कैदमा छ ! त्यसैगरी इमान्दार मानिस पनि देशको गल्ली-गल्लीमा फेला पर्छन्, तर यी आफूलाई यति इमान्दार ठान्छन् कि राजनीतिमा बेइमानी धेरै हुने भएको कारण दर्शाउँदै राजनीतिबाट सधैं तर्किरहन खोज्छन् । देशको समग्र जिम्मेवारी राजनीतिक नेतृत्वमा केन्द्रीत र सीमित रहन्छ भन्ने जान्दाजान्दै पनि यी ‘इमान्दार’हरू बेइमानहरूको हातमा देश जिम्मा लगाएर आफ्नो भूमिका तिनको आलोचनामा सीमित र केन्द्रीत गर्न चाहन्छन् । जसमा देश कसरी बनाउनुपर्छ भन्ने कुराको सामान्य ज्ञान भेटिँदैन र, जसमा दूरदर्शिता र इमान्दारीको सङ्केतसम्म देखिन्न, तिनैलाई देश बनाउने जिम्मा दिँदै देश नबनेकोमा चिन्ता गर्नेहरूलाई अचेल नेपाली भनेर चिनिन्छ ।

प्रकृति, वातावरण, संस्कृति, परम्परा, इतिहास र स्वधर्मको संरक्षण गर्दै सुशासन र समृद्धि भित्र्याउन सक्ने नेतृत्वको चाहना नेपालबासीले गरेका हुन् । यस्ता शासकको खोजी गर्दा नेपालीले दुई सय वर्षअघिकै जङ्गबहादुरको याद गर्छन् भने त्यसयताका शासकले (राजा महेन्द्रबाहेकले) कति योगदान पुऱ्याएका रहेछन् या छन् भन्ने स्वतः अनुभूत गर्न सकिन्छ ।

जङ्गबहादुर भन्ने बित्तिकै एउटा कठोर शासकका रूपमा मात्र बुझ्ने गरेको पाइन्छ । वास्तवमा जङ्गबहादुर कठोरताका कारणले मात्र चर्चित र स्मरणीय बनेका होइनन् । इतिहासमा निर्वाह गरेको इमान्दारीपूर्ण एवम् देशभक्तिपूर्ण भूमिकाले मात्र उनलाई नेपाली समाजमा स्थापित गराएको हो । जङ्गबहादुरको उदय हुनुअघि नेपालमा चरम राजनीतिक अस्थिरता र निराशाको स्थिति थियो । दरबारको कलहले आम नेपाली र नेपालको भविष्यलाई अन्धकारतर्फ धकेल्दै गरेको अवस्थामा जङ्गबहादुर आएर राजनीतिक स्थिरता दिएका हुन् । उनले आफ्नै कुटनीतिक क्षमता प्रयोग गरेर नापीनक्सा तयार गरी अन्तर्राष्ट्रिय सीमा निर्धारण गर्ने र, सीमास्तम्भ राख्ने कार्य गरेका हुन् । लखनउ विद्रोहमा सहयोग पुऱ्याएबापत जङ्गबहादुरले तत्कालीन भारतीय शासकसँग आफ्ना लागि दिल्ली र लण्डनमा भब्य महल, करोडौँ नगद, छोराछोरीलाई छात्रवृत्ति र ऐसआरामका साधन माग्न पनि सक्थे, तर जङ्गबहादुरको देशभक्तिपूर्ण भावनाले उनलाई निजी सुखका साधनसँग आफ्नो पौरख साट्न दिएन, उनले सुगौली सन्धिमा गुमेको नेपाली भूभाग फिर्ता मागे र, पाए पनि ।

जङ्गबहादुर सनातन संस्कृतिको रक्षाप्रति संधै सम्वेदनशील थिए । उनकै नीतिका कारण पृथ्वीनारायण शाहद्वारा देशनिकाला गरिएका इसाइहरूले १८२ वर्षसम्म नेपालमा प्रवेश पाएनन् । जङ्गबहादुर पूँजी पलायनप्रति अत्यन्त सचेत र कठोर थिए, उनले पूँजी पलायन गर्नेहरूलाई कठोर सजायको ब्यवस्था गरेका थिए । जङ्गबहादुरले नेपाललाई अन्तर्राष्ट्रिय मन्चसम्म पु¥याए, भारत र बेलायतसँगको सम्बन्धमा सीमित नेपालको कुटनीतिक सम्बन्ध बिस्तार गरी फ्रान्ससम्म पुऱ्याए, चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउने कार्य गरे । विद्यालय खोलेर ब्यवस्थित एवम् संस्थागत किसिमले शिक्षा दिलाउने कार्य जङ्गबहादुरकै कार्यकालमा सुरु भएको हो । युरोपबाट गिद्देप्रेस झिकाएर नेपालमा छापाखाना भित्र्याउने र, युरोपिएन शैलीका भवन निर्माणको प्रविधि ल्याउने पनि जङ्गबहादुर नै हुन् । नेपालमापहिलोपटक कानून निर्माण गरेर कानूनी शासनको प्रत्याभूति दिलाउने पनि जङ्गबहादुर नै हुन् ।

गोकर्णदेखि नागार्जुनसम्मको भूभागमा विदेशबाट समेत महत्वपूर्ण बिरुवा झिकाएर वृक्षारोपण गरी हरियाली बढाउने कार्य जङ्गबहादुरबाट भएको थियो । स्वदेशमै हातहतियार तथा गोलीगट्ठा उत्पादन गर्ने र, सेनालाई थप आधुनिकीकरण गराउनमा पनि उनकै योगदान अतुलनीय छ । मेची महाकाली जोड्न पूर्वपश्चिम राजमार्गको परिकल्पना गरी दुईतर्फ वृक्षारोपणसमेत गर्नेगरी सर्भेक्षणका निम्ति तीन लाख बजेट विनियोजन गराउने कार्य पनि जङ्गबहादुरबाट नै भएको थियो । प्राकृतिक विपत्तिमा खर्च गर्ने विशेष राज्यकोष खडा गर्ने र अनिकाल परेमा खाद्यान्नको ब्यवस्था गर्न अन्न सङ्ग्रह गर्ने धर्मभकारीको ब्यवस्था पनि यिनैले गरेका थिए । आफूले भारत र बेलायतको सेवक (कतिपयले त दलाल नै भन्छन्)को पहिचान बनाएर पनि देशको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमिकता उचो राख्ने कार्य जङ्गबहादुरबाट भएको हो ।

इतिहासमा निर्वाह गरेको इमान्दारीपूर्ण एवम् देशभक्तिपूर्ण भूमिकाले मात्र उनलाई नेपाली समाजमा स्थापित गराएको हो । जङ्गबहादुरको उदय हुनुअघि नेपालमा चरम राजनीतिक अस्थिरता र निराशाको स्थिति थियो । दरबारको कलहले आम नेपाली र नेपालको भविष्यलाई अन्धकारतर्फ धकेल्दै गरेको अवस्थामा जङ्गबहादुर आएर राजनीतिक स्थिरता दिएका हुन् ।

पटक-पटक अनेकौँ शीर्षकमा भएका राजनीतिक परिवर्तनहरूले देशलाई झन कङ्गाल, रुग्ण र सकसपूर्ण स्थितिमा पुऱ्याउन थालेपछि आहत बन्न पुगेका जनताले जङ्गबहादुरको स्मरण गर्नु र उनीजस्तै निर्णय क्षमता भएका, इमान्दार, देशभक्त र परिपक्व कुटनीतिक कौशलसहितका मानिस यो देशलाई आवश्यक परेको महसूस गर्नु स्वभाविक हो । तर जङ्गबहादुर युट्युबमा खोजेर भेटिँदैन, न बाटोमा नै भेटिने हुन् ! युट्युबमा खोजिने या बाटोमा भेटिने ‘जङ्गबहादुर’ले राजनीतिक मनोरन्जन दिलाउन सकेपनि तिनले परिणामदायी योगदान पुऱ्याउन किमार्थ सक्ने छैनन् ।

सञ्चारमाध्यममा प्रकट भएर भुकेकै भरमा त्यस्तालाई जङ्गबहादुर ठान्ने, नागार्जुन अभिनित दक्षिण भारतीय सिनेमाबाट प्रभावित भएर त्यसको नक्कल गर्न खोज्ने नौटङ्कीहरूमा जङ्गबहादुरको झझल्को देख्नेहरूले आफैलाई भूलभुलैयामा राखेका मात्र होइनन्, यिनले जङ्गबहादुरद्वारा इतिहासमा पुऱ्याइएको अविष्मरणीय योगदानको पनि अवमूल्यन गरिरहेका छन् । ठूलो स्वरमा बोलेर, अन्यलाई होच्याएर, केही हल्लुँडहरूलाई अघिपछि लगाएर, नकारात्मक भूमिकामा अब्बल भएर या निर्दयी व्यवहार देखाएर कोही जङ्गबहादुर बन्न सक्दैनन् र, त्यस्तालाई जङ्गबहादुर ठान्ने गल्ती गर्न पनि हुँदैन ।

प्रजातन्त्र र लोकतन्त्रका नाममा अनेकौँ नन्दीभृङ्गी, चौसट्ठी योगिनी र भुतप्रेतका शासन ब्यहोरिसकेपछि नेपालीले आफैलाई अनुशासनमा राखिदिने अगुवाको परिकल्पना गर्न थालेका हुन् ! अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई आफ्नै परिवारको हितमा प्रयोग नगरी राष्ट्रिय स्वार्थका निम्ति प्रयोग/उपयोग गरिदिने इमान्दार नेताको खोजी जनताले गरेका हुन् । बाह्य हस्तक्षेप र तिनका गतिविधिलाई नियन्त्रण गर्नसक्ने क्षमताका शासक नेपालीले खोजेका हुन् (स्मरणीय छ, जङ्गबहादुरले ब्रिटीष भारतीय राजदूतलाई समेत नेपाल सरकारको अनुमति लिएर मात्र हिँडडुल एवम् भेटघाट गर्न पाउने नियम बनाइदिएका थिए) । प्रकृति, वातावरण, संस्कृति, परम्परा, इतिहास र स्वधर्मको संरक्षण गर्दै सुशासन र समृद्धि भित्र्याउन सक्ने नेतृत्वको चाहना नेपालबासीले गरेका हुन् । यस्ता शासकको खोजी गर्दा नेपालीले दुई सय वर्षअघिकै जङ्गबहादुरको याद गर्छन् भने त्यसयताका शासकले (राजा महेन्द्रबाहेकले) कति योगदान पुऱ्याएका रहेछन् या छन् भन्ने स्वतः अनुभूत गर्न सकिन्छ ।

जनताले प्रजातन्त्र भान्सामा, सडकमा, प्रशासनमा, अस्पतालमा, न्यायालयमा र नेतृत्वको ब्यवहारमा खोजेका छन् । कागजको प्रजातन्त्र खुब खाइयो, खोक्रो आश्वासन पनि मज्जैले पाइयो, अब जङ्गबहादुरले झैँ परिणाममुखी योगदान दिने प्रजातन्त्र चाहियो । होइन भने देशबाट पलायन हुने नेपालीको बाटो छेक्न र, नेपाल भित्रिने गैरनेपालीको प्रवेशलाई रोक्न सकिने छैन । जय मातृभूमि !