श्रीलङ्काद्वारा रुसी र युक्रेनीलाई दीर्घलानीन भिसा खारेज

श्रीलङ्काद्वारा रुसी र युक्रेनीलाई दीर्घलानीन भिसा खारेज


मस्कोले युक्रेनमा आक्रमण गरेपछि श्रीलङ्काले आफ्नो टापुमा बस्ने नीतिको उपयोग गर्ने हजारौँ रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा बिस्तार अन्त्य गरेको जनाएको छ ।

‘सरकारले भिसाको थप म्याद दिइरहेको छैन’, प्रस्थानका लागि मार्च ७ को समय सीमा दिँदै अध्यागमन आयुक्त हर्ष इलुकपिटियाले भनेका छन्, ‘उडानको अवस्था अब सामान्य भएको छ र उनीहरूलाई फर्कन कुनै कठिनाइ छैन ।’

आधिकारिक आँकडाअनुसार पछिल्लो दुई वर्षमा दुई लाख ८८ हजारभन्दा धेरै रुसी र करिब २० हजार युक्रेनीले श्रीलङ्काको भ्रमण गरेका थिए । कति मानिस सामान्य ३० दिने पर्यटक भिसाभन्दा बढी समयसम्म बसे भन्ने स्पष्ट छैन ।

यद्यपि हजारौँ रुसी र कम सङ्ख्यामा युक्रनीहरू सेनामा सम्भावित भर्तीबाट बच्नका लागि श्रीलङ्कामा बसेको विश्वास गरिएको छ । श्रीलङ्का बसेका केहीले रेस्टुरेन्ट सुरु गरेका छन् भने केहीले रात्रिकालीन क्लबहरू स्थापना गरेका छन् ।

दक्षिणी तटीय शहर उनावटुनामा ‘श्वेत मानिस मात्र’ को पार्टी आयोजना गर्ने एक रुसी-सञ्चालित रात्रिकालीन क्लबविरुद्ध सामाजिक सञ्जालमा उग्र प्रतिक्रिया आएपछि सरकारको उक्त निर्णय आएको हो ।

मुलुकलाई सन् २०२२ को मध्यदेखि आफ्नो सबैभन्दा खराब आर्थिक सङ्कटबाट बाहिर निस्कन विदेशी मुद्राको सख्त आवश्यक भएपछि श्रीलङ्काले आगमनमा ३० दिने भिसा दिएर पर्यटनलाई प्रवर्द्धन गर्न खोज्यो ।

सन् २०२२ अप्रिलमा श्रीलङ्काले उसको ४६ अर्ब डलरको विदेशी ऋण भुक्तानी गर्न सकेन र महिनौँसम्म सडकमा विरोध प्रदर्शनका कारण तीन महिनापछि तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेले राजीनामा दिनुपऱ्यो ।

अन्तर्राष्ट्रिय मुद्राकोषको दुई अर्ब ९० करोड डलरको सहायताले अर्थतन्त्रलाई स्थिर बनाउन र खाना, इन्धन र औषधिजस्ता आवश्यक सामानको कमीलाई अन्त्य गर्न सहयोग गरेको थियो ।