नमस्कार फर्काउन कन्जुस्याइँ किन ?

नमस्कार फर्काउन कन्जुस्याइँ किन ?


कोभिड महामारीको समयमा कति देशले उनीहरूले गर्ने गरेको हात मिलाउने, गालामा चुम्बन गर्ने, अंकमाल गर्ने सबै छोडनुपरेको थियो । कतिले त हाम्रो सभ्यता र नमस्तेको सिखो पनि गरे अनि प्रशंशा पनि, कति वैज्ञानिक छ हिन्दुहरूको अभिवादन गर्ने तरिका भनेर ।
✍ राजेन्द्र खनाल ‘क्षितिज’

कसैले श्रद्धापूर्वक गरिएको ‘नमस्ते’ वा ‘नमस्कार’ फर्काउन कतिपय मानिस किन कन्जुस्याइँ गर्छन् ? जब कसैले आदरपूर्वक ‘नमस्ते’ भन्दै हात जोडेर शिष्टता व्यक्त गर्दछ भने, त्यो अभिवादन गरिएको मान्छेको पनि त कर्तव्य हो प्रत्युत्तरमा हात जोडेर नमस्ते फर्काउनु । तर धेरै कम मानिसले मात्र नमस्कार भन्दै हात जोडेर त्यो गरिएको सत्कार स्वीकारेको देखेको छु । कसै–कसैले त एउटा हात मात्र उठाउँछन्, नमस्कार भनेर बोली नै फुट्दैन । जसले तपाईंंको स-सम्मान गरेको नमस्कार फर्काउँदैन भने तपाईंंले फेरि त्यो व्यक्तिलाई किन नमस्कार गर्ने ?

नमस्कार वा नमस्ते यी दुवै एउटा संस्कृत वाक्यांश हो । यो पनि हाम्रो पूर्वीय संस्कृति नै हो । नेपाल र भारतमा नमस्ते वा नमस्कार नै भनिन्छ । थाइल्याण्ड, श्रीलंका, म्यानमार लगायत केही दक्षिण-पूर्वी एशियाका देशमा दुवैै हात जोडेर गर्ने चलन पहिलादेखि नै हो ।

यो दुई शब्दको अर्थ संस्कृतमा ‘नमस्’ वा ‘नमः’ भन्नु नै स्तुति, सम्मान, झुक्नु, श्रद्धेय अभिवादन, आराधना, प्रार्थना आदि हुन्छ भने, ‘ते’को अर्थ हुन्छ ‘तपाईंंको लागि’ । यी दुवै शब्दलाई एकैसाथ भन्नुपर्दा, तपाईंंको स्तुति, तपाईंंलाई नमस्कार गर्छु, तपाईंंलाई सम्मान गर्छु, तपाईंंलाई नमन गर्छु आदि भन्ने हुन्छ । नमस्कारको ‘कार’ चाहिँ ‘गर्छु’ भनेको हो । संस्कृतमा ‘सूर्याय नमह अथवा नमः’, त्यस्तै ‘या देवी सर्वभुतेष शक्ति-रुपेण संस्थिता, नमस्तस्यैः नमस्तस्यैः नमस्तस्यैः नमो नमः’ ।

विदेशीहरूले हेलो, हाई भन्छन्, हामीले हेलो, हाईलाई ‘हरि ॐ’, ‘जय शम्भो’, राधे-राधे भनेपनि हुन्छ । भारतमा अचेल कति मानिसहरू ‘जय श्रीकृष्ण’ पनि भन्छन्, समग्रमा नमस्ते वा नमस्कार सही तरिकाले भन्नुस् र गर्नुस् ।

जब तपाईं कसैलाई मुस्कुराउँदै नमस्कार भन्नुहुन्छ भने, तपाईंमा भएको अहङ्कार, घृणा, मनपरेको, मन नपरेको सबै समतल भएर जान्छ, नष्ट भएर जान्छ । विनय गुण र नम्रता विकसित हुन्छ र मनको सुद्धिकरण हुन्छ । नमस्कार गरिएको व्यक्तिप्रति केवल आदर र सम्मान मात्र हुन्छ । त्यसैले नमस्कार योग संस्कृतिको एउटा मुख्य हिस्सा हो र, यो सँगै विज्ञान पनि जोडिएको छ । कोभिड महामारीको समयमा कति देशले उनीहरूले गर्ने गरेको हात मिलाउने, गालामा चुम्बन गर्ने, अंकमाल गर्ने सबै छोडनुपरेको थियो । कतिले त हाम्रो सभ्यता र नमस्तेको सिखो पनि गरे अनि प्रशंशा पनि, कति वैज्ञानिक छ हिन्दुहरूको अभिवादन गर्ने तरिका भनेर । यसरी नमस्कार गर्दा अरुमा भएको कुनै पनि रोग सर्ने सम्भावना हुँदैन ।

नमस्ते र नमस्कारमा के फरक छ त ? नमस्ते स्तुतिसरह भएपनि अहिले आएर नमस्तेलाई अनौपचारिक र एउटा सरल अभिवादन मान्न थालिएको छ । खास गरेर साथीभाइ र पारिवारिक सम्बन्धमा बढी प्रयोग भइरहेको छ । त्यस्तै, नमस्कार औपचारिक र सम्मानजनक अभिवादनको रूपमा लिइएको छ, जुन प्रायः औपचारिक सामारोहमा र मान्यजनहरूमा गरिन्छ । मलाई चाहिँ कस्तो लाग्छ भने ‘नमस्ते’ एकवचन हो र ‘नमस्कार’ बहुवचन । एकजनालाई गर्दा नमस्ते र समुहलाई गर्दा नमस्कार ! त्यस्तै, शुरुको भेटमा आत्मियताका साथ नमस्कार र, बिदा हुने बेलामा छिटो-छिटो जानुपर्ने हुन्छ, त्यसैले नमस्ते भन्दा हुन्छ होला ! यो पंक्तिकारको निजी विचार हो । आफूभन्दा साना केटाकेटीले नमस्ते भन्दा, तपाईंंले नमस्ते भन्दै आयुस्मान भवः, दीर्घजीवी भवः तेजस्वी भवः आदि भन्दा राम्रो हुन्छ ।

वास्तवमा भन्ने हो भने हामी सही तरिकाले नमस्ते वा नमस्कार गर्नु नै जान्दैनौँ । नमस्कार गर्दा दुवै हातका हत्केला (हथेली) दबाएर जोडिन्छन्, औंलाहरू आकाशतिर फर्किन्छन् र दुवै बुढीऔंला छाती वा हृदयमा टाँसेर, अलिकति झुकेर गरिन्छ । यसलाई योगशास्त्रमा ‘अञ्जली मुद्रा’ भनिन्छ । यो नै औपचारिक र सम्मानजनक नमस्कार हो । नमस्ते भनेको म तपाईंलाई नमन गर्दछु । वेदमा पनि नमस्ते लेखिएको छ, श्रीमद् भागवत गीता र अरु विभिन्न शास्त्र र पुराणहरूमा पनि नमस्तस्यै, नमः नमन, नमस्करोमी, नमस्, आदि लेखिएको छ ।

अति विशिष्ट ठाउँ वा परमात्मा, देवता, माता-पिता, गुरु, आचार्य आदिमा शरीरको आठै अङ्ग (अष्टाङ्ग) – दुईहात, दुईपाउ, दुईआँखा, पेट र निधार भुइँ वा पृथ्वीमा छोएर वन्दनीय प्रणाम गरिन्छ । यो बेग्लै किसिमको अति विशिष्ट दण्डवत् हो ।

अझ जब तपाईं नमस्कारको साथसाथै नमस्कार गरिएको व्यक्तिको नाम, थर वा पदको पछाडि ‘ज्यु’ जोडेर गर्नुहुन्छ भने त्यसले प्रेम, आदर, सत्कार, सम्मान आदि भाव व्यक्त गर्दछ । जस्तै, नमस्कार बबिताज्यु, नमस्कार चेतनाथज्यु, नमस्कार देवकोटाज्यु, नमस्कार सचिवज्यु । भारतमा आजकल कतिले ‘नमस्तेजी’ पनि भन्दछन् ।

तपाईंलाई कसैले नमस्ते वा नमस्कार भनेर आदरपूर्वक गर्दछ भने तपाईं पनि प्रत्युत्तरमा नमस्कार वा नमस्ते भनेर दुवै हत्केला जोडेर गर्नुस् । यसरी नमस्कार गर्दा तपाईं पक्कै सानो हुनुहुन्न । यसले तपाईंको प्रतिष्ठा अझ बढाउँदछ । कसैले पनि तपाईंप्रति गरेको आदरसहितको नमस्कारलाई तपाईं पनि नमस्ते भनेर भन्नलाई कन्जुस्याइँ नगर्नुस्, बिन्ती !

वास्तविक नमस्कार होस् त राजा वीरेन्द्रले गर्ने जस्तो । वहाँले गर्ने नमस्कारमा कति विनम्रता र शिष्टता देखिन्छ । मुसुक्क मुस्कुराएर, दुवै हात जोडेर, अलिकति शिर झुकाएर, हेर्नुस् त कति शालीनताको नमस्कार छ ! यो हो नमस्कार गर्ने उत्कृष्ट तरिका ।

कतिपय ठाउँमा देखेको छु एउटा हात उठाएर मात्र गर्ने । यो त विदेशीले हाय, हेलो भनेसरह नै हो नि । कतिले गर्दन बङ्ग्याएर नमस्ते भनी कराउँछन् । गर्दन बङ्ग्यउन्जेल त दुई हात जोड्न नै सहज हुन्छ नि ! गर्दन बाङ्गिने डर पनि हुँदैन, होइन र ? तसर्थ नमस्कार गर्दा संधै दुई हात जोडेर नै गर्नुस् । अझ दुवै आँखा दुई सेकेण्ड बन्द गरेर नै गर्नुस् । जसले गर्दा आँखा र मन दुवैमा ताजगी मिल्छ । राम्रो भावना लिएर गरिएको नमस्कारबाट मनमा निर्मलता बढ्दछ । यसबाट सकारात्मक भाव उत्पन्न हुन्छ । नमस्कार गरिएको व्यक्तिले तपाईंप्रति राम्रो भाव राख्दछ । दुवैतर्फ नम्रता, सुशीलता बढ्छ र आत्मियपन भएको महसूस हुन्छ ।

नमस्ते प्रायः सानाले ठूलालाई पहिला गर्ने भनिए पनि, कार्यालयतिर, साथीभाइबीचमा जसले पहिला देख्यो उसले गर्दा हुन्छ । ठूलाले सानालाई पहिला नमस्कार गर्दा सानो पक्कै होइँदैन, बरु आफ्नो प्रतिष्ठा झन् बढ्दछ । साथै नमस्कार गर्दा हातमा केही सामान नलिइकन गर्नु नै राम्रो मानिन्छ ।

सावधान रहनुस्, कहिले पनि बन्चरे नमस्कार, तरबारे नमस्कार नगर्नुस् । कतिपय नेता भनिनेहरू बन्चरे र तरबारे नमस्कार गर्छन् । जस्तै, शेरबहादर देउवाको बन्चरे नमस्कार हुन्छ । त्यो त मन्दिरमा पर्सिएको बोकालाई मार हान्न लागेको जस्तो भएन र ? कति नेताले एउटा हात टाउकोमाथि लगेर गर्छन्, तरबार हान्न लागे जस्तो ! अनि कतिले मुखले मात्र नमस्कार भन्छन् । अनि कतिले नमस्ते गरेको देखेर पनि नदेखेजस्तै गरेर कुनै प्रतिक्रिया नै गर्दैनन् । टिभीहरूमा पनि समाचारवाचक/वाचिकाले दुवै हात नजोडी समाचार भन्नुअघि र पछि मुखले मात्र नमस्कार भन्छन्, त्यो पटक्कै सुहाएको हुँदैन । जब भगवानले दुई हात दिएका छन् भने हात जोडेर नमस्कार भन्नचाहिँ किन हिचकिचाउनुभएको ?

अरु केही देशको कुरा गर्दा, थाइल्याण्डमा ‘वई’ वा ‘सवादी’ भन्छन्, तर हामीले नमस्ते गरेजस्तै हत्केला जोडेर नै अञ्जली मुद्रामा नै गर्छन् । बर्मेलीहरू ‘भिङ्गलबा’ भन्छन् तर हत्केला जोडेर नमस्ते झैँ गर्छन् । श्रीलंकामा पनि थोरै शिर झुकाएर आफ्नो दुवै हत्केला जोडेर चिउँडोमा दुवै बुढीऔंला र छातीमा बाँकी औंलाहरू राखेर तमिलमा ‘वन्नाक्कम’ र सिंहलीमा ‘अयुबोवन’ भन्छन् । जसको अर्थ हुन्छ- तपाईंको लामो आयुको आशीर्वाद सदैव मिलोस् ।

केही देशको हिन्दु धर्म हेर्ने हो भने श्रीलंकामा ७२ प्रतिशत बौद्ध र १३ प्रतिशत हिन्दु छन् । बंगलादेशमा ८ प्रतिशत हिन्दु, पाकिस्तानमा २.१४ प्रतिशत हिन्दु छन् । भारतमा ७९ प्रतिशत र नेपालमा ८१ प्रतिशत हिन्दु छन् । हिन्दुहरू भएको ठाउँमा नमस्ते नै भनिन्छ । अहिले त विश्वको कुना-कुनामा नेपाली डायस्पोराको ठूलो जनसंख्या हुर्किरहेको छ । यिनीहरूबीच पनि ‘नमस्ते’ नै भन्ने चलन छ, र त्यस देशका नागरिकले पनि नेपालीहरूसँग नजिक हुने कतिले नेपालीहरूलाई भेट्दा नमस्ते नै भन्छन् । त्यस्तै बुद्धिष्टहरू पनि ‘नमो बुद्धाय’ भनेर दुवै हत्केला जोडेर नमस्कार नै गर्छन् । यसरी अञ्जली मुद्रामा नमस्कार गर्दा सकारात्मक उर्जा शरीरमा पैदा हुन्छ ।

तसर्थ, तपाईंलाई कसैले नमस्ते वा नमस्कार भनेर आदरपूर्वक गर्दछ भने तपाईं पनि प्रत्युत्तरमा नमस्कार वा नमस्ते भनेर दुवै हत्केला जोडेर गर्नुस् । यसरी नमस्कार गर्दा तपाईं पक्कै सानो हुनुहुन्न । यसले तपाईंको प्रतिष्ठा अझ बढाउँदछ । कसैले पनि तपाईंप्रति गरेको आदरसहितको नमस्कारलाई तपाईं पनि नमस्ते भनेर भन्नलाई कन्जुस्याइँ नगर्नुस्, बिन्ती । नमस्ते !

  • विजयपुर, धरान (हाल : बेलायत)