के कम्युनिष्टहरू बहुलाउलान् !?

के कम्युनिष्टहरू बहुलाउलान् !?


क्रान्तिका नाममा मन्दिर भत्काउने, संस्कृतका किताब जलाउने, टूप्पी-जनै काट्ने, गाई काट्नेहरू आज ती सबै भ्रान्ति रहेछन् भन्दै गेरुवाबस्त्रको अवतारमा देखिनु पनि बहुलाएकै सङ्केत हो । यसरी जति धेरै भ्रान्ति थपिँदै जान्छन् परिवर्तनलाई उति नै उर्बरता मिल्छ । यो उर्बरताले निकट भविष्यमा नयाँ शक्तिको उदय हुनेछ ।
✍ कृष्णराज शर्मा

राणाको खोपीमा सीमित राजाले गुप्त ढङ्गले जनतासँग हातेमालो गरेर एकशय चारवर्षे राणाशाहीको अन्त्य गरे । राजा, राणा र काङ्ग्रेसको त्रिपक्षीय दिल्ली-सम्झौताले राजा बाहिर प्रकट हुन पाए । काङ्ग्रेसले यसै विषयलाई लिएर हामीले दिल्ली भागेका राजालाई राजगद्दीमा पुनर्स्थापना गराएको भन्दै पछिसम्म गर्व गऱ्यौँ । गर्व गर्दागर्दै पछि आएर त्यही काङ्ग्रेस बिग्रियो । सोही बिग्रेको काङ्ग्रेसले ०६३ सालमा राजा फ्याँकेर गणतन्त्र स्थापना गरेकोमा फेरि अर्को गर्व गऱ्यो । राजालाई शिरमा राखेर गर्व गर्ने खेर गएको काङ्ग्रेसले अहिले कम्युनिष्टलाई शिरमा राखेर गर्व गर्न थालेको दुई दशक भइसक्यो । त्यही काङ्ग्रेसले अझै कतै बाँकी छु भन्छ भने पनि ऊ एउटा ‘लुसो जमात’ मात्र रह्यो, काङ्ग्रेस रहेन ! अझ भनौँ नेकपा (काङ्ग्रेस) भयो भनेर बुझ्दा के नै फरक पर्छ र !

अब यो नयाँ ‘नेकपा’सँगै एकमुष्ठ सबैखाले कम्युनिष्टको गर्व गर्ने पालो फेरि आएको छ । राजाकै कदमले बिपीलगायतका नेताले कठोर जेल-जीवन र लामो प्रवास-जीवन बिताउन परेतापनि आफ्नो व्यक्तिगत तुच्छ जीवनभन्दा राष्ट्रको जीवन सर्वोत्कृष्ट ठानेर उनी राजासँग मिल्न आएका थिए । देश ठुलै भुमरीमा पर्न लागेको देखेर म मर्नुभन्दा देश बाँच्नुपर्छ भन्ने बिपीको ध्येय रह्यो । नेपालमाथि मडारिएको कालो बादलको खतरनाक दृश्य देखेर उनले आफूमाथि फाँसीसम्म हुनसक्ने गम्भीर प्रकारका आरोपहरूलाई परवाह नगरी स्वदेश फर्केका थिए । तितो सत्यको पहिचान भइसकेपछि बिपीले नेपाली माटोको सुगन्धको बोध गर्दै भनेका थिए- ‘राजाको गर्धन तल, मेरो माथि छ । राजा रहेनन् भने यो देश रहँदैन ।’

बिपीलाई जस्तै राष्ट्रिय बोध भइसकेपछि अहिले कम्युनिष्टहरू गर्व गर्नलायक निर्णय लिन उचित वातावरणको खोजीमा छन् । हज्जारौँ नेपाली जनतालाई बली चढाएर प्राप्त राजनैतिक व्यवस्थाले पनि राजाको अनुपस्थितिमा देशमा सुव्यवस्था कायम गर्न नसकेको, सरकार नै भ्रष्टहरूको भगवान् बनेको, नेपाली-नेपालीबीच फाटो उत्पन्न गराएको, विदेशीले नेपाली आँगनमै आएर दिनरात परेड खेल्न थालेको लगायत देशको नाजुक अवस्था घामजस्तै छर्लङ्ग भइसकेको कम्युनिष्टहरूमा बोध हुनथालेको छ । यी यावत कुराको अव्यक्त नै सही, सबै कम्युनिष्टहरूलाई नेपाली माटोको सुगन्ध बोध हुनथालेको अनुभूति गर्न सकिन्छ । उनीहरूलाई यो सत्य बताउन हज्जारौँ जनताको रगतले लतपतिएको विगतले गर्दा त्यति सजिलो छैन । आफ्ना कार्यकर्ताहरूलाई चित्त बुझाउन सहज छैन । तर अहिले उचित समयको पर्खाइमा उनीहरू छन् । बेला-बेलामा राजामाथि थोपरिएका भद्दा टिप्पणीहरू त्यसैका द्योतक हुन् ।

पञ्चहरूले पञ्चायत व्यवस्थाका विरुद्ध आन्दोलन उठ्नुअगावै समयको आँकलन गर्दै बहुदलको स्थापना गरेर दल खोलेका भए पञ्चहरूको सङ्गठन बहुदलपश्चात सर्वाधिक लोकप्रिय बनेर रहने थियो । राजाको निकट रहेर तरमारेका महापञ्चहरू तितरवितर नभएका भए परिवर्तित व्यवस्थामा समेत अरु कसैले तत्कालै चिहाउन असम्भव थियो । त्यसो नभएर कसैको बुई चढेका आन्दोलनकारीको आन्दोलनले स्थापित भएपछिको अवस्थामा स्वतः नयाँ दलहरूमा जनता आकर्षित हुनपुगे । पञ्चहरूको दल पछि पऱ्यो । व्यवस्था परिवर्तनको अघिल्लो दिनसम्म ग्रासरुट स्तरमा सबलरूपमा सङ्गठित पञ्चहरू अलमलिएर समय खेर फालेको फलस्वरुप पञ्चहरूको पार्टी यतिका वर्ष बित्दा पनि जे छ, सामुन्नेबाट तपाईं-हामीले देखिरहेका छौँ ।

पञ्चहरूको यस्तो बेहाल थाहा पाएका कम्युनिष्टहरूले अहिले देश परिवर्तनको संघारमा उभिएको भेउ पाइसकेका छन् । साँप पनि मरोस् लट्ठी पनि नभाँचियोस् भन्ने ज्ञान उनीहरूमा पलाएको छ । परिवर्तनले साकार रूप लियो भने अपराधै अपराधले जेलिएको नेतृत्वपङ्क्ति जाक्किन सक्छ । उनीहरूलाई यो पनि प्रष्ट थाहा छ कि यदि त्यसो भएमा श्रीलंकाको घटना यहाँ नदोहोरिएला भन्न सकिन्न । त्यसैले समयअगावै यसो हुन नदिन र, भित्रभित्रै बदलिएको जनउभारलाई समात्न परिवर्तनकारी शक्तिसँग हातेमालो गर्न कम्युनिष्टहरू चुक्ने छैनन् अनि पुरानो काङ्ग्रेसले जस्तै गर्व गर्नलायक निर्णय लिन सक्छन् ।

परिवर्तनकारी शक्ति अहिले राजासँग सरेको छ । दिनानुदिन राजाको आकर्षण ह्वात्तै उर्लिएको छ । विदेशीले नेपालको आन्तरिक परिवर्तनकारी आन्दोलनलाई अनदेखा गरिदिनेबित्तिकै कम्युनिष्टहरू पातालमा भासिन पुग्नेछन् । त्यसैले ‘मर्नुभन्दा बहुलाउन निको’ भनेजस्तै राजासँग हात मिलाउने खोजे भने वा कम्युनिष्टहरूको बुद्धिमत्ता निर्णय बाहिरियो भने अनौठो हुनेछैन । अर्थात्, बिपीले राजासँग मेलमिलाप गरेजस्तै विद्यमान परिवेशमा भित्रभित्रै पुत्पुताउन थालेको विद्रोहको मुस्लोमा भुङ्ग्रिनबाट कम्युनिष्टहरू बच्नेछन् । यो नै समयको उत्तम र उपयुक्त बाटो हुनेछ ।

कुनै समय राजासँग कार्यगत एकता गरेका कम्युनिष्टहरू सहमतिमा आएर परिवर्तनसँग होस्टेमा हैंसे गर्न सके भने परिवर्तनपछिको नेपालले दश वर्षमै देशको कायापलट र, जनताको मुहारमा मुस्कान छर्ने पुरापुर आशा गर्न सकिन्छ । यसो हुन कम्युनिष्ट बहुलाउनै पर्छ ।

त्यतिमात्र होइन, काङ्ग्रेस-कम्युनिष्टभित्रका कैयौँ असन्तुष्टहरू समय अनुकुल हुनासाथ कुकुरले हड्डी छाडेझैँ छिनको छिनैमा नेताहरूलाई लात मारेर दौडने ताकमा छन् । बहुदल आउँदा पञ्चहरू चैतेहुरीमा बगेजस्तै उनीहरू बग्नेछन् । त्यसैले त्यसो हुनुअगावै राजालाई साथ दिन हतार गर्ने छन् । एमालेकी गंगा चौधरी त राजा उपस्थित समारोहमा खुलेरै भैरहवामा देखिइन् । ‘नेकपा-काङ्ग्रेस’का सयौं जनाले त्यो बाटो रोजिसके ।

माथि उल्लेख गरेजस्तै मर्नुभन्दा बहुलाउन निको भन्दै कम्युनिष्टहरू बहुलाउन बेर छैन । आदर्श र सिद्धान्त त अरुका छोराछोरी मार्न पो हो, आफै मर्नका लागि त होइन नि, हो र !? देशभित्रको र बाहिरी वातावरण देखेर आफै मरिने पो हो कि भन्दै सबै अत्तालिन थालेको बुझ्न सकिन्छ । अर्थात् सबै कम्युनिष्टहरू बहुलाउन थालेका सङ्केत यतिखेर छताछुल्ल हुँदैछन् ।

जुन राजाले अभयदान दिएर विघटित संसद्लाई पुनर्जीवन दिए उनै राजालाई ‘कुशको राजा’ भन्न थालेका छन् । राजाले देश र जनतालाई सानो सन्देश छोड्दा पनि ‘बोल्छौ ?… छानविन गर्दिम् ?’ भन्न थालेका छन् । बहुलाएको छन्द यिनै टिप्पणीहरूले प्रष्ट देखाएका छन् । यस्ता टिप्पणी उनीहरूका ‘मर्न’ बाँकी रहेका कार्यकर्तालाई थुम्थुमाएको मात्र हो । हारेको जुनी भएपनि खुट्टा माथि नै छ भन्ने भ्रम छरेको हो । उनीहरूको राजनैतिक सिद्धान्तमा राजा कतै पनि अटाउँदैनन् । तर, अटाउनुपर्ने बाध्यता आइलागेपछि कसको के लाग्छ ? बस्, यसरी नै बहुलाउनुको विकल्प छैन ।

धर्मलाई अफिम मान्नेहरूलाई अहिले मन्दिर देख्नै नहुने भएको छ ! मन्दिर-मन्दिर पुगेर शरीरमा गेरुबस्त्र धारण गर्ने र निधारमा पहेँलो चन्दन घस्ने होडबाजी छ । अफिमले जस्तै लट्ठ्याउने धर्म उनका लागि अहिले आफ्ना विगतका अपराध पखाल्ने र जीवन धन्य बनाउने माध्यम बनेको सबैले देखेकै छन् । क्रान्तिका नाममा मन्दिर भत्काउने, संस्कृतका किताब जलाउने, टूप्पी-जनै काट्ने, गाई काट्नेहरू आज ती सबै भ्रान्ति रहेछन् भन्दै गेरुवाबस्त्रको अवतारमा देखिनु पनि बहुलाएकै सङ्केत हो ।

यसरी जति धेरै भ्रान्ति थपिँदै जान्छन् परिवर्तनलाई उति नै उर्बरता मिल्छ । यो उर्बरताले निकट भविष्यमा नयाँ शक्तिको उदय हुनेछ । कम्युनिष्ट बहुलाउनुको उपज राजशक्तिसहितको नयाँ शक्तिले अन्ततः नेपाल र नेपालीमा अभुतपूर्व परिवर्तन ल्याउनेमा ढुक्क हुन सकिन्छ । कुनै समय राजासँग कार्यगत एकता गरेका कम्युनिष्टहरू सहमतिमा आएर परिवर्तनसँग होस्टेमा हैंसे गर्न सके भने परिवर्तनपछिको नेपालले दश वर्षमै देशको कायापलट र, जनताको मुहारमा मुस्कान छर्ने पुरापुर आशा गर्न सकिन्छ । यसो हुन कम्युनिष्ट बहुलाउनै पर्छ । के कम्युनिष्टहरू बहुलाउलान् त ?! सबैको जय होस् !