अब रुवाउने पालो ‘एआई’को !

अब रुवाउने पालो ‘एआई’को !


पछिल्लो समयमा ‘एआई’ले गरिबदेखि धनीसम्म, शिक्षितदेखि अशिक्षितसम्म, अविकसितदेखि विकसित मुलुकलाई समान ढङ्गले प्रभाव पारिरहेको छ । विश्वभरका राजनीतिजीवीदेखि राजनीतिज्ञहरूलाई समान दुःख दिन सक्ने ‘एआई’निर्मित भिडियो फुटेजहरू, अराजनीतिक आवाजसहितको आलोचना र गलत जानकारी फैलाउन प्रयोग भइरहेको छ ।
✍ दीपेन्द्र पाण्डे

भनिन्छ, प्रत्येक शब्द एक योद्धा हो, प्रत्येक वाक्य एक रणनीति हो । विश्व पुँजीवादले यो राम्रोसँग बुझेको छ । विश्व राजनीतिमा ‘शब्द र वाक्य’को शक्ति घटाउन र आफ्नो शक्तिको एकाधिकार कायम राख्न प्रविधिको विकास गरिएको वर्तमान विश्वले भर्खरै बुझ्दै छ । शब्दहरूले भू-राजनीतिमा विशेष स्थान ओगट्दा विशिष्ट बयानबाजी, प्रचार र कूटनीतिक भाषासमेत कब्जामा परेका छन् । जसले गर्दा ‘न्याय र सत्य’को स्थानमा ‘स्वार्थ’ हाबी हुँदैछ । प्रविधिको रणनीतिक दुरुपयोग गर्दा भएको मानवीय क्षतिलाई छोप्न पश्चिमी मिडियाले ‘आत्मरक्षा’को लेप लगाएको छ । पश्चिमी दबदबालाई कायम राख्न अत्याधुनिक प्रविधिको उत्पादन र वितरणमा एकाधिकार कायम गरिएको भर्खरै बाँकी विश्वले महसूस गर्दैछ ।

गत १२-१४ फ्रेबुअरीमा World Governments Summit (WGS), संयुक्त अरब इमिरेट्स (युएई)को ‘दुबई’मा आयोजित वार्षिक कार्यक्रममा भविष्यवाद र प्राविधिक नवाचार या नवप्रवर्तनको विषयमा जमेर छलफल भएको छ । उक्त कार्यक्रममा प्राविधिक विकासको पारस्परिक ज्ञान आदानप्रदानले विश्वको ध्यान खिचेको छ । उदीयमान समस्याहरूको समाधान गर्न मानवजातीले सदैव मिलेर काम गर्न तयार भएको सन्देश दिएको छ । प्रविधिलाई अगाडि बढाउन, सम्पूर्ण मानवजातिको पहुँचमा पुऱ्याउन सम्मेलनले धनी राष्ट्रलाई दबाब दिएको बाँकी विश्वले देख्न र सुन्न पाएको छ । विस्तारित अर्थमा, लेखन र पुरातात्विक अन्वेषण जस्ता क्षेत्रमा पछिल्लो आविष्कारबाट निर्मित प्रविधिको अधिकतम प्रयोग गरिने छ । मानवताको इतिहासको माध्यमबाट विगतका उपलब्धिहरूलाई कायम राख्दै, विगतबाट सिक्न र भविष्यको प्रविधिको लागि जग निर्माण गर्ने सन्देश सम्मेलनले दिएको छ ।

भनिन्छ, वैश्य युगमा कुनै पनि ‘व्यक्ति र मुलुक’ प्रविधिसँग अलग रहन सक्दैन । जीवनलाई सजिलो बनाउन आम मानिस टेक्नोलोजीको पछि दौडिन विवश छन्, जसले गर्दा सर्वसाधारण मानिसको दैनिकी खल्बलिएको छ । मानवता अस्तव्यस्त बन्दैछ । प्रविधिको बाध्यात्मक प्रयोगले सर्व साधारण नागरिकको जीवनमा नयाँ-नयाँ समस्या थपिएका छन् । ‘एआई’को दुरुपयोग चुलिँदै छ । ‘एआई’उत्पन्न विकृत जानकारीको प्रसार अनियन्त्रित ढङ्गले बढिरहेको छ । आलोचनात्मक टिप्पणी र व्यक्तिको प्राइभेसीको मजाक उडाउन ‘एआई’को प्रयोग हुँदैछ, जसको दीर्घकालीन प्रभाव र असर मुलुकले सोच्न सकेको छैन । सत्यलाई लुकाउन, विकृत गर्न, विचलित गर्न, झूटो साबित गर्न र समाजलाई विभाजित गर्न सक्ने ‘एआई’ प्रविधिको सामना गर्ने तागत सिंहदरबारले विकास गरिसकेको छैन ।

पछिल्लो पुस्ता प्रविधिलाई आत्मसात गर्न हौसिएका छन् । उनीहरू सोसल मिडियामा धेरै भन्दा धेरै समय ब्यतीत गरिरहेका छन् । ‘एआई’ एक प्रभावकारी उपकरण हो र यसको रणनीतिक दुरुपयोग भइरहेको हुन सक्छ भन्नेतर्फ युवायुवतीले सोच्ने गरेको भेटिँदैन । फलस्वरुप सोसल मिडियामा फैलाइएका ‘एआई’ सङ्कलन र जानकारीको बारेमा जाँच गर्न, संश्लेषण गर्न युवायुवतीले दिमाग खर्च गर्न रुचाउँदैनन् । एआई-भ्रमहरू बढ्दै छन् । दुर्घटना नभएसम्म नझस्किने हाम्रो बानीको फाइदा उठाउनेहरू नाङ्गो खेल खेलिरहेका छन् ।

पछिल्लो समयमा ‘एआई’ले गरिबदेखि धनीसम्म, शिक्षितदेखि अशिक्षितसम्म, अविकसितदेखि विकसित मुलुकलाई समान ढङ्गले प्रभाव पारिरहेको छ । विश्वभरका राजनीतिजीवीदेखि राजनीतिज्ञहरूलाई समान दुःख दिन सक्ने ‘एआई’ निर्मित भिडियो फुटेजहरू, अराजनीतिक आवाजसहितको आलोचना, deepfakes र गलत जानकारी फैलाउन प्रयोग भइरहेको छ । तर्क र तथ्यको खोजी गर्न या प्रस्तुत जानकारीको सान्दर्भिकता परीक्षण गर्नु जरुरी छ । सूचना उत्पादन गर्ने उपकरणले रचनात्मकता र बौद्धिक विशेषज्ञतालाई प्रतिस्थापन गरिरहेको हुन सक्छ भन्नेतर्फ थोरै दिमाग खर्च गर्न अनिवार्य भइसकेको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर Hany Farid ले भनेका छन्- ‘एआईले सत्यको अवधारणालाई नै अस्थिर बनाउँदै छ ।’ गलत सूचना ट्र्याकिङ सङ्गठनको विश्लेषक Libby Lange यसमा थप गर्दै भन्छिन्- ‘यदि सबै कुरा नक्कली हुन सक्छ र यदि सबैले दाबी गरिरहेका छन् कि सबै कुरा नक्कली छ वा कुनै तरिकामा हेरफेर गरिएको छ भने, त्यहाँ वास्तविक सत्यको कुनै अर्थ छैन ।’ यसबाट बुझ्न सकिन्छ, ‘एआई’ कति खतरनाक बनिसकेको छ ! ‘एआई’द्वारा सिर्जित हानिकारक आरोपहरू रोक्न खोज्ने राजनीतिज्ञहरू ‘बलीको बोको’ बन्ने खतरा चुलिएको छ । यद्यपि एआई कम्पनीहरूले सामान्यतया भनेका छन् कि उनीहरूका उपकरण राजनीतिक अभियानहरूमा प्रयोग गर्नु हुँदैन । ‘यो एआई हो र, यसको प्रयोग र नियन्त्रण कसरी गर्ने’ भन्ने निर्णय गर्ने बेलासम्ममा देशको लागि खतरा बन्न सक्छ भन्ने मुलुकले सोच्न चाहेको देखिँदैन ।

यतिबेला मुलुकमा ‘एआई डीप फेक’हरू सामान्य बनिरहेका छन् । व्यक्तिको आवाज र उपस्थितिलाई नक्कल गर्न सजिलो बनेको प्रविधिको चपेटामा युवायुवती झुमेका छन् । सामाजिक प्लेटफर्महरूमा डीप फेकहरू हरेक दिन आइरहेका छन् । भाइरल भएका र बनाइएका एआईसिर्जित सामग्रीले नागरिकलाई मानसिकरोगी बनाइरहेको छ । राजनीति र विश्व अर्थतन्त्रमा एआईको प्रभावको बारेमा स्विट्जरल्याण्डको डाभोसमा भएको सम्मेलनमा स्विस राष्ट्रपति Viola Amherd ले ‘एआई’उत्पन्न प्रचार र झूटलाई विश्व स्थिरताको लागि ‘वास्तविक खतरा’ भनेकी थिइन् । यद्यपि हार्वर्ड युनिभर्सिटीको Berkman Klein Center सम्बद्ध विज्ञ Doaa Abu-Elyounes भन्छिन्, ‘पाँच वर्षअघिको तुलनामा अहिले आमजनता ‘एआई डिपफेक’का बारेमा धेरै सचेत छन् ।’

फराकिलो अर्थमा, प्राविधिक विकास र सामाजिक सहयोगसँग जोडिएको विचारधाराको खोजीमा लाग्नुको विकल्प शक्तिराष्ट्रसँग छैन । साझा भविष्य निर्माण गर्न विगतको विश्लेषण र कमजोरीको निर्मम समीक्षा जरुरी छ । एकध्रुवीय विश्व वैचारिक रूपले सङ्कटमा परिसकेको छ । युद्धलाई विफल पार्न एक वैचारिक प्रविधिको जरुरी छ । परिस्थितिले मानवताको भूमिका र नयाँ परिभाषा खोजिरहेको छ । दुर्भाग्यवश शक्तिराष्ट्रहरू मानवीयताको सट्टा प्रविधिमा अधिक भर पर्दैछन्, जसले मानव अस्तित्वमाथि नयाँ सङ्कट मडारिइरहेको छ ।

‘एआई’को दुरुपयोग प्राविधिक चुनौती मात्र होइन, ‘राजनीतिक, सामाजिक र नैतिक मुद्दा’ हो भन्ने स्थापित भएको छैन । गुगल, मेटा, टिकटक र अन्य कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा उत्पन्न सामाग्रीलाई नियन्त्रण गर्नुको सट्टा सोसल मिडिया युजरको हातमा छोडिरहेका छन्, जसले लोकतान्त्रिक चुनावको नतिजा नै फरक पार्न सक्छ ।

कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र र युएईको रिमोट वर्क एप्लिकेसनको बारेमा विश्वको ध्यान आकर्षित भएको छ । दीगोपन र दीर्घकालीन समृद्धि कुरेर बसेका विकासोन्मुख मुलुक थप जोखिममा पर्दैछन् । ‘आणविक युद्ध, जलवायु परिवर्तन र एआई’ले हामीलाई थप रक्षात्मक बनाउँदैछ । प्राविधिक प्रगतिको निम्ति गहिरो सहयोग आवश्यक छ । हाम्रा समस्याहरू समाधान गर्न हाम्रो सीमित क्षमता बाधक छन् । मानवजातिले सामना गरेका ठुला चुनौतीहरूका बाबजुद हाम्रो इतिहास गौरवशाली छ । वर्तमान पुस्ता ‘नियतिवाद’मा विश्वास गरेर बस्ने पक्षमा छैन । फलस्वरूप, समस्याहरूलाई परिभाषित गर्न, उदीयमान समस्याहरू समाधान गर्न प्रविधिसँग ह्यान्डसेक गर्नुको विकल्प रहेन ।

युवा असन्तुष्टिमा चर्को बेरोजगारी, सम्पत्ति असमानता र ‘आर्थिक बहिष्करण’ले आगोमा घ्यु थपिरहेको छ । यसै समयमा थपिएको अनियन्त्रित भ्रष्टाचार, खल्लो सुशासन र लोकतान्त्रिक सरकारहरूको असक्षमताले राजनीतिक अस्थिरता निम्त्याउँदैछ । युवा जनमत छिट्टै उत्तेजित हुँदैछन् । नीति विकास, संस्था निर्माण र सेवा प्रवाहको विषयमा अध्ययन गर्न रुचाउँदैनन् । निराश युवा मतदाताले दिमागले मतदान गर्ने छैनन् । भावना र ‘एआई’को प्रभावमा गर्ने मतदानले उल्टो परिणाम आउन सक्नेछ भन्नेमा युवाहरूले सोचेको देखिँदैन । मुलुकको राजनीतिक अर्थतन्त्र र संरचनात्मक चुनौतीहरू अलग छ, जसलाई लोकतान्त्रिक चुनावले सम्बोधन गर्न लामो समय लाग्न सक्छ । दुर्भाग्यवश युवासँग धैर्यता र समय छैन ।

डिजिटल विभाजनलाई कसरी हटाउने भन्ने मुलुकले बुझ्न जरुरी छ । द्रुत प्राविधिक परिवर्तनलाई शिक्षामा समावेश गर्न ढिला भइसकेको छ । द्रुत प्राविधिक प्रगतिको आधार मानव चतुरता, समस्या समाधान र जनसहयोगलाई बनाउनुपर्नेछ । विकासोन्मुख मुलुकमा प्रविधिको पहुँच सर्वसाधारणसम्म पुऱ्याउन सरकारले विशेष कार्यक्रम चलाउन जरुरी छ । साथै समाजमा ‘एआई’ले उत्पन्न गर्न सक्ने डरको भावनालाई ऐतिहासिक ज्ञानले नियन्त्रण गर्नु उचित हुनेछ ।

मुलुकमा हरेक वस्तुको नियन्त्रण अभिजात वर्गको हातमा रहँदै आएको छ । राजनीतिक परिवर्तन पश्चात् घुमाउरो ढङ्गले खोसिएको अधिकार जस्तै प्रविधिको फाइदा समेत अभिजात वर्गले लिनेमा शङ्का रहेन । सम्पूर्ण ज्ञानको शोषण गरेर निर्माण गरिएको सानो अभिजात वर्गले ‘एआई’माथि एकाधिकार कायम गर्ने सम्भावना उकालो चढिरहेको छ । लोकतान्त्रिक भविष्यको नाममा ‘एआई’को अपहरण गरिने खतरा उत्तिकै छ । ‘एआई’को विश्वव्यापी प्रभाव र मानवतामा यसको रूपान्तरण क्षमता मुलुकले बुझ्न सकिरहेको छैन । टेक्नोलोजीले हाम्रो संसारलाई परिवर्तन गर्न र समाजलाई कसरी प्रभाव पार्न सक्छ भन्ने बुझ्न एआईको बारेमा बुझ्नुपर्नेछ । भविष्यका प्रविधिहरू मानवताको समस्याहरू समाधान गर्न सक्षम हुनेछन् भन्ने ‘एआई’ निर्माताले प्रमाणित गर्नुपर्नेछ । हाम्रो भविष्य कस्तो हुनेछ भन्ने गम्भीर सवालको जवाफ नमिलिरहेको समयमा जन्मिएको कृत्रिम बौद्धिकतालाई अनदेखा गरेर बस्न सक्दैनौँ । उज्यालो भविष्यको खोजीमा निस्केको मानवजाति पुर्खाको ज्ञान र वर्तमान प्रविधिको अधिकतम प्रयोगमार्फत थप परिष्कृत र विकसित हुनुपर्नेछ ।

‘एआई’को दुरुपयोग प्राविधिक चुनौती मात्र होइन, ‘राजनीतिक, सामाजिक र नैतिक मुद्दा’ हो भन्ने स्थापित भएको छैन । गुगल, मेटा, टिकटक र अन्य कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा उत्पन्न सामाग्रीलाई नियन्त्रण गर्नुको सट्टा सोसल मिडिया युजरको हातमा छोडिरहेका छन्, जसले लोकतान्त्रिक चुनावको नतिजा नै फरक पार्न सक्छ । चुनावमा उठ्ने उम्मेदवार, निर्वाचन अधिकारी, अन्य प्रमुख व्यक्तिको आवाज, कार्य परिवर्तन, नक्कली भिडियो, छवि, र अडियो ‘डीप फेक’को बारेमा सत्य बुझ्ने र त्यसअनुसार धारणा बनाउने जनता मुलुकमा पाइँदैन । हल्लाको पछि दौडिने, नकारात्मकता बिक्ने हाम्रो मुलुकमा कहिले, कहाँ र कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई भ्रमित गर्न सफल हुने ‘एआई’उत्पन्न सामाग्रीले मुलुकलाई रुवाउने निश्चित छ ।

विकास उन्मुख मुलुकले एआई-उत्पन्न विकृतिको ‘प्रभाव परीक्षण’ गर्न सक्ने देखिँदैन । ‘एआई’ले प्रभावकारी रूपमा disinformation को सृजनालाई लोकतान्त्रिक बनाएको छ । Chatbotमा पहुँच भएका जो-कोहीले अब कुनै विशेष विषयमा तत्काल दर्जनौँ विश्वस्त नक्कली समाचारहरू उत्पन्न गर्न सक्छन् । जसले गर्दा निर्वाचनको समयमा नक्कली भिडियो सिर्जना गर्ने खतरा बढेर गएको छ । वास्तवमा, सयौँ ‘एआई’उत्पन्न समाचार साइटहरू पपअप भइरहेका छन् । झूटा कथाहरू र भिडियोहरू प्रचार गरिरहेका छन् । युवा मतदाताले नियन्त्रण समूहमा भन्दा राजनीतिजीवीप्रति नकारात्मक दृष्टिकोण राखेको समयमा निर्वाचनमा प्रविधि हाबी हुने छ । आगामी दिनमा ‘एआई’उत्पन्न गलत जानकारीले मानिसलाई धोका दिने निश्चित छ । एआईले लोकतान्त्रिक चुनावलाई कमजोर पार्ने सङ्केत मिलिसकेको छ । deepfakes, voice cloning, पहिचान हेरफेर, र ‘एआई’उत्पादित नक्कली समाचारलाई तत्काल नियन्त्रण या प्रतिबन्ध नगरिए मुलुकले ठुलो मूल्य चुकाउनु पर्नेछ ।

www.pandeydipendra.com.np