न्युयोर्क शहरमा उर्गेन दाइको चर्चा

न्युयोर्क शहरमा उर्गेन दाइको चर्चा


✍ एम. भारद्वाज

धेरै अमेरिकन र युरोपियनलाई नेपालबारे थाहा नहुन पनि सक्छ । नेपालबारे थाहा नहुँदा उनीहरूले नेपाल भन्ने देश पनि छ र भन्ने प्रश्न गर्छन् । यो सुन्दा पक्कै पनि जो कोही नेपालीको मनमा रिस उठ्छ र त्यसरी रिस उठ्नु स्वभाविक पनि हो ।

उनीहरूलाई नेपाल भन्ने देश कुन महादेशमा पर्छ भन्ने पनि थाहा नहुनसक्छ । तर, गोर्खाली र शेर्पा भन्ने चाँही अधिकांसले सुनेका छन् । तिनीहरूलाई शेर्पा र गोरखाको नामचाहिँ कण्ठ नै छ । विश्वको सर्वाेच्च शिखर सगरमाथालगायतका अन्य हिमाल चढ्ने शेर्पा अनि अन्तर्राष्ट्रिय युद्धमा बहादुरी देखाउने गोर्खाली सेनाका बारेमा उनीहरूले प्रशस्तै सुनेका छन् ।

त्यसका पछाडि धेरै कारण छन्, त्यसमध्ये विश्वको सर्वाेच्च शिखर सगरमाथा र शेर्पा समुदायको सम्बन्ध एउटा मुख्य कारण हो । अमेरिकामा यस्तै छुट्टै पहिचान बनाएको छ शेर्पा किदुङले ।

यो संस्थालाई न्युयोर्क महानगरपालिकाले नेपाली समुदायबाट आफ्नो सहयात्री बनाएर विश्वास गर्ने गरेको छ । सन् १९९५ जुलाईमा सोनाम ग्याल्छेम शेर्पाको अध्यक्षतामा बनेको यो संस्थाको न्युयोर्कमा आफ्नै व्यवस्थित भवन छ । शहरभन्दा अलिक पर ४ सय ८० रोपनी जम्मा पनि खरिद गरिसकेको छ । हाल यो संस्थाको अध्यक्षता गरिरहेका छन् उर्गेन शेर्पाले ।

कोरोना भाइरसको समाचारहरू छिटफुट रुपमा आउँदा तेस्रो सातामा यसले महामारीको रुप लिन थाल्यो । अनि घरका ढोका बन्द भए । सडकका गाडी पार्किङमा थन्किए । कहिले नसुत्ने न्युयोर्क सहर जबरजस्ती निदाउन थाल्यो ।

यहीबेला ज्याक्सन हाइटमा रहेको शेर्पा किदुङको कार्यालयमा बसेर ज्यानको बाजी लगाउँदै नेपाली र अमेरिकीलाई सहयोग गर्न सडकमा उत्रिए उर्गेन । हिमालको काखमा जन्मिएर हिउँसँगै पौठेजोरी खेलेका उर्गेन शेर्पा कोरोना भाइरससँग लड्दै, भिड्दै आम नेपालीलाई खाद्यन्न, फलफुल, औषधि, माक्सलगायतका खाद्यन्न लिएर घरघर कोठा-कोठामा पुगे ।

कोरोनाले मरेका लास आफन्तले हेर्ने र छुन नपाउने अवस्थामा उनले घर परिवार र साथीभाई परिचालन गरी दाताहरूलाई गुहार मागिरहे । सडकमा कोही छैन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी मात्रै छन् । रेल सेवा बन्द छ । तर उर्गेन गाडी लिएर निस्वार्थ रुपमा खाना लिएर घरघर पुगिरहे ।

अक्सर अमेरिकामा महामारीका बेलासमेत राजनीति गर्छन् । त्यसमा नेपालीहरू त झन अब्बल दर्जामै गनिन्छन् । तर उर्गेनले सबैलाई एकापसमा रहेको बैमनस्यतालाई बिर्सेर एउटै थलोमा बसेर काम गर्न आम नेपालीलाई आव्हान गरे ।

न्युयोर्कमा संस्थागत रुपमा सुरुमा शेर्पा केदुङले खाद्यन्न, फलफुल, माक्स र तरकारी वितरण गर्ने काम थाल्यो । त्यसको नेतृत्व उर्गेनले नै गरे । त्यसपछि अरु संस्था र व्यक्ति उनको पछिपछि आउन थाले । उर्गेनले नै अरु संस्था र व्यक्तिलाई संकलित राहत वितरण गर्न र घरघरामा पुऱ्याउन व्यवस्थाको चाँजोपाजो मिलाए ।

स्थानीय नगरपालिका, राज्यका सांसद, कांग्रेस म्यानदेखि सिनेटरसम्म राम्रो सम्बन्ध स्थापित गरेका शेर्पालाई राहत वितरणदेखि आर्थिक सहयता जुटाउनसमेत निक्कै सजिलो भयो । अमेरिकी सरकारले शेर्पा किदुङलाई नेपाली समुदायको तर्फबाट आधिकारिक साझेदारी सहयोगी संस्था बनाएको छ । यसमा उर्गेनको ठूलो भुमिका छ । केहीअघि उनकै पहलमा न्युयोर्कको क्वीन्समा एभरेष्ट मार्ग नामाङकरण गरियो ।

त्यसो त अत्यन्त मिलनसार, बौद्धिक र बुद्ध धर्मका अनुयायी उर्गेन शेर्पा नेपालीहरूलाई कसरी यहाँको कसरी मुलधारको राजनीतिमा लगाउने भन्ने ध्याउन्नमा रहन्छन् । ‘कुनै नेपाली कामविहीन नहोस्, दुःख नपाओस् भन्ने मेरो चाहना हो’ उनले भने, ‘कुलतमा नफसुन् अनि अमेरिकी आर्थिक समृद्धिको सपना पूरा गर्न अमेरिकामा बसोबास गर्ने हरेक नेपाली सक्रिय बन्नुपर्छ भन्ने लाग्छ’- उनी भन्छन् ।

उनी अमेरिकामा उर्गेन दाई, उर्गेन मामा र शेर्पाजीका नामले परिचित छन् । उनी शेर्पा समुदायका लागि मात्र नभएर अमेरिकामा बसोबास गर्ने आम नेपालीलाई सहयोग गर्न हरबखत तयार हुन्छन् भन्ने उनको विगतका कामले पनि पुष्टि गरिसकेको छ । त्यति मात्रै होइन, उनले विगतमा शेर्पासहित विभिन्न नेपाली भाषा र संस्कृतिबारे अमेरिकामा चिनाउने काम गर्दै आएका छन् । त्यसका लागि हातेमालो पनि गरिरहेका छन् ।

शेर्पा केदुङ न्युयोर्क सिटीको आवास योजनाको आधिकारिक सेवाप्रदायकका रुपमा कार्यरत छ । ‘चाँडै अमेरिकामा शेर्पा संग्रालयको स्थापना गर्ने दीर्घकालीन योजनासहित काम सुरु गरेका छौं’ उनले भने, ‘यसले नेपाललाई विश्वसामु चिनाउन अझ मदत गर्नेछ भन्ने मैले विश्वास गरेको छु ।’