माओवादी केन्द्र र नेसपाको एकता ‘माछो..माछो..भ्यागुतो’ !

माओवादी केन्द्र र नेसपाको एकता ‘माछो..माछो..भ्यागुतो’ !


बाबुराम भट्टराईलाई अब कसैले पनि कम्युनिष्ट नेताको रूपमा स्वीकार गर्ने अवस्था छैन । नेपाली काङ्ग्रेसबाट ०३७ तिर अकस्मात कम्युनिष्ट राजनीतिमा प्रवेश गर्नुभएका उहाँ फेरि ३५ वर्षपछि वचारिक र सांगठनिकरूपले काङ्ग्रेसनिकट नै पुग्नुभएको छ । उहाँको प्रवेश माओवादी केन्द्रमा भन्दा सिधै नेपाली काङ्ग्रेसमै हुनु बढी स्वभाविक हुन्छ ।
✍ डा. केशव देवकोटा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बोली र ब्यवहारमा ठेगान हुन छाडेकाले धेरैलाई असहज भएको देखिएको छ । दाहाललाई जनयुद्धको नाम पनि लिनुपर्ने र, जनयुद्धले अगाडि सारेका ४० सूत्रीय मागका विरुद्ध काम पनि गर्नुपर्ने दोहोरो बाध्यात्मक अवस्था आइपरेको देखिएको छ, जसले गर्दा दाहालको नेतृत्व कायम रहेसम्म माओवादी केन्द्रसँग कुनैपनि पार्टीको एकता हुन नसक्ने अवस्था छ ।

फागुन १ गते २९औं ‘जनयुद्ध दिवस’ र प्रथम विधान अधिवेशनको संयुक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनयुद्धमा सहभागी सम्पूर्ण नेता तथा कार्यकर्तालाई ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपिल गर्नुभएको थियो । खासमा त्यो बाहिरका ब्यक्तिहरूलाई सुनाउने ‘प्रचारात्मक अपिल’ मात्र हो भन्ने धेरैलाई थाहा छ । किनकि उहाँमा ‘जे भन्यो त्यो नगर्ने र जे ग¥यो त्यो नभन्ने’ बानी पनि छ ।

०६३ पछि अध्यक्ष दाहालकै कारण माओवादी पार्टीमा पटक-पटक विभाजन आएको थियो । कुनै बेला उहाँले आफ्नो उपनाम नै ‘स्टालिन’ राख्नुभएको थियो र, पार्टीभित्र पनि आफूसँग सहमत नहुनेलाई जसरी पनि समाप्त पार्ने नीति लिनुभएको थियो । ०६२ मंसिर ७ गते भारतको नयाँ दिल्लीमा नेपालका सात संसद्वादी पार्टीहरूसँग १२बुँदे सहमति गर्दै जनयुद्धको बिसर्जन गरिएपछि उहाँ नेपाली काङ्ग्रेसप्रति ब्यग्र बन्दै जानुभएको छ । नेपालका सन्दर्भमा नेपाली काङ्ग्रेस र अन्तर्राष्ट्रियरूपमा भारत र अमेरिकाबिना आफू टिक्नै नसक्ने सोच र भनाइ बेलाबखत बाहिर पनि आउने गरेको छ । त्यसैले उहाँ मुखले भन्दा पुराना माओवादीहरूका बीचमा एकताको कुरा गर्नुहुन्छ तर ब्यवहारमा पुराना माओवादीलाई कसरी छिन्नभिन्न बनाउने भन्नेमै हरदिन, हरक्षण तल्लिन रहनुहुन्छ ।

उहाँले माओवादी जनयुद्धमा सहभागी सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई ‘अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपिल गर्दछु, जति ढिलो ग¥यो, त्यति ठूलो क्षति र यो राजनीति परिवर्तनप्रति घाटा हुनसक्छ, त्यसकारण आउनुहोस् बसौँ, समीक्षा गरौँ, कहाँ-कहाँ कमी भए ? ठूलो मनले, एउटा कम्युनिष्ट मनले आत्मालोचना गरौँ र एक भएर प्रतिक्रियावादी तथा प्रतिक्रान्तिकारीका विरुद्ध प्रतिवाद गरौँ’ भनेको पनि डेढ साता बितिसकेको छ । तर, उहाँले पूरानो जनयुद्धकालीन माओवादीको अध्यक्ष र हाल देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भएको नाताले पनि यतिबेलासम्म पहल गरिसक्नुपर्नेमा केही पनि हुन सकेको छैन । कतिपयले त उहाँलाई विधान अधिवेशनमै प्रधानमन्त्री छोडेर पार्टी एकतामा सक्रिय हुन आग्रह गरेको पनि सुनिएको थियो, तर अनेक ढाँटछल गरेर प्राप्त गरेको प्रधानमन्त्री पद उहाँ छाड्न इच्छुक देखिनुभएको छैन ।

गाउँ-गाउँमै नेकपा (माओवादी) गठन गरेर चन्दा उठाउनेहरू धेरै छन् । तर हाल पूर्व माओवादीका मुख्य दुईवटा घटक (माओवादी केन्द्र र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल) रहेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी केन्द्रमा झण्डै प्रवेश गरिसकेको अवस्था रहेकाले उसको गणना गरिरहनुको कुनै अर्थ देखिएको छैन, जसलाई माओवादी केन्द्रसहतिका पार्टीले हाल समाजवादी केन्द्रको अध्यक्ष बनाएका छन् । सो मोर्चा भारतसमर्थित चार वटा समूहको मोर्चा हो । जसले वैज्ञानिक समाजवादविरोधी गतिविधि गरिरहेको छ ।

डा. बाबुराम भट्टराई पूर्व माओवादी नेता भएपनि उहाँले हाल कम्युनिष्ट पार्टी र विचार दुवै छाडिसक्नुभएको छ भने उहाँको पार्टीमा पूर्व माओवादी नेता तथा कार्यकर्ताहरूको संख्या अत्यन्त न्युन (औंलामा गन्न सकिने) रहेको छ । अझ धेरै त गैह्रकम्युनिष्टहरू नै रहेका छन् । डा. भट्टराईले विभिन्न सञ्चारमाध्यममा अन्तवार्ता दिँदै आगामी १५ वर्षभित्रमा नेपालमा एउटा पनि कम्युनिष्ट पार्टी नरहने प्रक्षेपण गरिसक्नुभएका कारण उहाँलाई अब कसैले पनि कम्युनिष्ट नेताको रूपमा स्वीकार गर्ने अवस्था छैन । नेपाली काङ्ग्रेसबाट ०३७ तिर अकस्मात कम्युनिष्ट राजनीतिमा प्रवेश गर्नुभएका उहाँ फेरि ३५ वर्षपछि वचारिक र सांगठनिकरूपले काङ्ग्रेसनिकट नै पुग्नुभएको छ । उहाँको प्रवेश माओवादी केन्द्रमा भन्दा सिधै नेपाली काङ्ग्रेसमै हुनु बढी स्वभाविक हुन्छ । राजनीतिक इमान्दारिताका हिसाबले डा. भट्टराई पुष्पकमल दाहालभन्दा अब्बल देखिनुभएको छ । किनकि उहाँले कम्युनिष्ट राजनीति छाडेपछि पार्टी पनि छाडिदिनुभयो । तर, दाहालले कम्युनिष्ट राजनीति छाडेर पनि कम्युनिष्ट पार्टी छाडिरहनुभएको छैन । यता ‘प्रचण्ड’ उपनाम उता ‘बीपी विचारधारा’ अनुसारको काम उहाँका आदर्श भएका छन् ।

अध्यक्ष दाहालको बोलाइ र कामगराइको कुनै ठेगान हुन छाडेकाले समाजवादी मोर्चा नै पनि विघटनमा जानसक्ने संकेतहरू देखिएका छन् । दाहालले कम्युनिष्ट पार्टी छाड्नु राम्रो हुन्छ । उहाँले कम्युनिष्ट पार्टी छाडेकै दिन डा. भट्टराईसँग पनि पुनर्मिलन हुन्छ र उहाँहरूको सत्ता राजनीति पनि राम्रोसँगले अगाडि बढ्छ ।

हालको अवस्थामा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ०६२ मा दिल्लीमा भएको १२बुँदे सहमति, ०६३ मा भएको शान्ति संझौता, संविधानसभाको निर्वाचन, ०७२ को संविधान र त्यसअनुसार नेपालमा लागूगराइएको विद्यमान राजनीतिक व्यवस्थालाई ‘अमान्य’ घोषित गरेको छ । अझ सो पार्टीले ०७२ को संविधानलाई त देशमा हाल देखिएका ‘सबै समस्याहरूको ‘जड’ भनेको छ । माओवादी केन्द्रलाई दक्षिणपन्थी अवसरवादी पार्टी र सो पार्टीका अध्यक्ष दाहाललाई प्रतिक्रियावादी र घोर अवसरवादी ठहर गरेको छ । सो पार्टीले जनगणतन्त्रलाई आफ्नो राजनीतिको बटमलाइन बनाएको छ । र, आगामी चैत २४ गतेसम्मका लागि आन्दोलन नै सञ्चालन गरेको छ ।

अर्कातिर डा. बाबुराम भट्टराईले माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि ‘नेकपा’ शब्द हटाउनुपर्ने मुख्य शर्त राख्नुभएको धेरै समय भएको छ । डा. भट्टराई खेमाले माओवादी केन्द्रसँग पार्टी एकताका लागि नौबुँदे आधारपत्र अगाडि सार्दैआएको छ । नेसपाले पार्टी एकता वैचारिक समानता र संगठनात्मक सिद्धान्तको आधारमा हुने जिकिर पनि गरेको छ । गत ०७९ को चैत ३ गते नेसपाले एकताका लागि समाजवादी ध्रुवीकरणको औचित्य र आधारसम्बन्धी पत्र पठाएको थियो । जसमा सांगठनिक सिद्धान्त, पार्टीको नाम र चिन्ह परिवर्तन, निर्वाचन प्रणालीकासाथै बैचारिक र सैद्धान्तिक पक्षमा स्पष्टता खोजेको थियो । गत असोज ३० गते सो पत्रको जवाफ फर्काउँदै माओवादी केन्द्रले पार्टीको नाम परिवर्तनको विषयमा विशेष महाधिवेशनमा छलफल गर्न सकिने भनेको थियो । सो पार्टीको यही फागुन ३ गते सम्पन्न विधान अधिवेशनले सबै तहको समितिमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गऱ्यो तर पदाधिकारी चयन पुरानै विधि यथावत राख्यो । पार्टीको नाम र चुनावचिन्ह फेर्ने ५० प्रतिशत प्रतिनिधिले दिएको सुझावलाई अध्यक्ष दाहाललले अंकुश लगाउँदै तत्काल नाम परिवर्तन नहुने र आवश्यकता परेमा नेकपा (समाजवादी) सम्म गर्न सकिने घोषणा गर्नुभएको थियो । यसअघि दुई पार्टीबीच पार्टी एकताका लागि बनाइएको वार्ता टोलीमा माओवादी केन्द्रबाट उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत तथा नेसपाकातर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव रहनुभएको थियो । दुवैतर्फको वार्ता टोलीले एकताका आधारहरू तय गरेको भनिएपनि निष्कर्ष निकाल्न सकेको थिएन ।

डा. भट्टराईलाई बाइपास गरी गत असारमा माओवादी केन्द्रसहितको चारदलीय समाजवादी मोर्चा घोषणा र पार्टी एकताका लागि गत असोजमा भएको पत्राचारले डा. भट्टराई माओवादी केन्द्रसँग बिच्किएको अवस्था छ । गत मंसिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र डा. भट्टराईका बीचमा एकता समायोजन समिति बनाउने सहमति भएको थियो । सोही सहमतिअनुसार गत मंसिरको पहिलो साता बसेको नेसपाको केन्द्रीय समितिको बैठकले डा. भट्टराईकै नेतृत्वमा एकता समायोजन समिति पनि गठन गऱ्यो । उक्त समायोजन समिति गठन भएको तीन महिना बितिसक्दा पनि माओवादी केन्द्रबाट एकताका लागि कुनै ठोस पहल हुन सकेको छैन । बरु बीचैमा डा. भट्टराईलाई एक्ल्याएर अन्यलाई माओवादी केन्द्रमा प्रबेश गराउने प्रयास भएको थियो ।

गत माघ १९ गते केन्द्रीय कार्यालय सुविधानगरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकताका लागि डा. भट्टराई तयार नभएको आरोप लगाउँदै नेसपाका नेता महिन्द्र यादव पक्षले विद्रोह गर्नेसम्मको धम्की दिएको थियो । त्यसको भोलिपल्ट जडीबुटीमा बसेको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसहित वामपन्थी ध्रुवीकरणका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसयता फेरि माओवादी केन्द्रको फागुन १–३ को विधान अधिवेशनले नेसपासँगका पार्टी एकताका सम्पूर्ण आधारहरू भत्काएको देखिएको छ । त्यसपछि डा. भट्टराई समूहले सार्वजनिक गरेका प्रतिक्रियाहरू कडा र सम्वेदनशील रहेका छन् । खासमा माओवादी केन्द्रमा पनि संसदवादी र क्रान्तिकारीका बीचमा दुई लाइनको संघर्ष तीव्र बन्दै गएको छ । अबको अवस्थामा माओवादी केन्द्र कुनैपनि दिन विभाजन हुन सक्ने अवस्था छ । अध्यक्ष दाहालको बोलाइ र कामगराइको कुनै ठेगान हुन छाडेकाले समाजवादी मोर्चा नै पनि विघटनमा जानसक्ने संकेतहरू देखिएका छन् । दाहालले कम्युनिष्ट पार्टी छाड्नु राम्रो हुन्छ । उहाँले कम्युनिष्ट पार्टी छाडेकै दिन डा. भट्टराईसँग पनि पुनर्मिलन हुन्छ र उहाँहरूको सत्ता राजनीति पनि राम्रोसँगले अगाडि बढ्छ ।