पोखरामा ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’

पोखरामा ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’


गण्डकी प्रदेशको राजधानी पोखरामा आज (९ फागुन)देखि ‘सूर्य नेपाल वेस्टर्न ओप गल्फ’ प्रतियोगिता सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौथो संस्करण पोखरा-१४ स्थित हिमालयन गल्फ क्लबमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक प्रोफेसनल गल्फ सङ्घले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा ३५ ‘प्रोफेसनल’ र १५ ‘एमेच्योर’ गरी ५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक प्रोफेसनल गल्फ सङ्घका महासचिव दीपक आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख ४० हजार पुरस्कार पाउनेछन् ।

उपविजेताले रु ९६ हजार, तृतीय हुनेले रु ७२ हजार तथा चौथो र पाँचौ स्थान प्राप्त गर्नेले क्रमश: रु ५९ हजार र रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ भित्र पर्न सफल अन्य गल्फरले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको साविक विजेता शुक्रबहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेकाले यसपटक सहभागी नहुने महासचिव आचार्यले बताउनुभयो । गत महिना धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर राई भारतीय गल्फ टुरमा सहभागी हुन भारत गएका छन् ।

प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने र ५४ होलको हुने बताइएको छ । महासचिव आचार्यका अनुसार ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ शीर्ष व्यावसायिक खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्ने मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने सङ्घले जनाएको छ ।

सूर्य नेपाल गल्फ टुुुर २०२३/२४ अन्तर्गत कूल आठ आठ प्रतियोगिता सञ्चालन हुनेछन् । काठमाडौँ बाहिर हुने दुई प्रतियोगितामध्ये एउटा पोखरामा हुन लागेको हो । सबै प्रतियोगितामा गरी रु ६५ लाख नगद पुरस्कार रहेको छ । गण्डकी प्रदेश गल्फ सङ्घका अध्यक्ष इन्द्रधारा विष्टले गल्फ खेल धनीले मात्र खेल्ने खेल नभई इच्छाशक्ति हुने हुँदा सबैले खेल्न सक्ने बताउनुभयो । उहाँले प्रतियोगिताले पोखराको प्रवद्र्धनसहित खेल पर्यटन विकासमा सहयोग पुग्ने उल्लेख गरे ।